शिक्षकको हाजिरी गर्दै विद्यार्थी

ताप्लेजुङ । सामान्यतया शिक्षकले विद्यार्थीको हाजिर गर्छन् तर ताप्लेजुङको सिरीजंघा गाउँपालिका– ८ याम्फुदिनको कञ्चनजंघा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत सविन राई भने उनको कक्षा कोठामा पुग्दा धमाधम शिक्षकको हाजिरी गर्दै थिए ।

राईले लक बुकमा शिक्षक कक्षाकोठामा प्रवेश गरेको समय, कक्षामा गरेका क्रियाकलाप, शिक्षक कक्षावाट निस्किएको समय र शिक्षकलाई सुझाव लगायतका कुराहरू लेख्दै थिए । ‘हामी सरहरूको घण्टी नै पिच्छे यो लक बुकमा भर्छौँ ।’ राईले भने ‘सर आउनुभएको समयदेखि कक्षाकोठाबाट बाहिर गएको समयसहित कक्षामा गरिएका क्रियाकलापहरू यस्मा लेख्ने गरेका छौँ ।,’

यस्तो लकवुकमा शिक्षकहरूको विवरण भर्न थालेपछि शिक्षकहरू कक्षा कोठामा पुरा समय वस्ने गरेको कक्षा ८ मा अध्यानरत विद्यार्थी सोनाम फुटि भोटेको अनुभव छ । ‘पहिले पहिले त सरहरू कक्षामा आएर पाठ पढ भने जानुहुन्थ्यो ’ सोनाम भन्छिन् ‘ अहिले त सरहरू पुरै समय कक्षामा वस्नुहुन्छ । अनि दिनहुँ आउनुहुन्छ ।,’

शिक्षा सुधारका लागि विद्यार्थीको मात्र नभएर शिक्षकको पनि विद्यार्थीबाटै मूल्यांकन गर्न यस्तो गरिएको विद्यालयका प्रधानाध्यापक अम्वरवहादुर राईले वताए । ‘बच्चाहरूलाई कक्षागत रूपमा लकवुक वनाएर दिएका छौँ । प्रत्येक विहान आएर लकवुक लगिन्छ ’ प्रअ राईले भने ‘उनीहरूले शिक्षकको हाजिर गर्नुपर्दा रमाउरै गर्छन् । त्यसलाई कक्षा शिक्षक र म (प्रधानाध्यापक) भएर प्रमाणित गछौँ । अनि साँझ छुट्टी भएपछि त्यसको समिक्षा गछौँ ।’

यो सफल हुँदैन कि भनेर चिन्ता लाग्दा लाग्दै प्रयोगमा ल्याइएको भए पनि अहिले सफल देखिएको विद्यालयका प्रअ राईले वताए । यस्तो लकवुकको प्रयोगमा ल्याएपछि शिक्षकहरू समेत सजग भएका र विद्यार्थी समेत पढ्नका लागि उत्साहित वनेको प्रअ राई सुनाउँछन् ।

याम्फुदिनको कंञ्चनजंघा मावीमा मात्र होईन । जिल्लाका ३० वटा विद्यालयमा प्रत्येक दिन प्रत्येक कक्षाकोठामा पठनपाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थीले गर्ने गरेका छन् । फत्ताङ्लुङ गाउँपालिकाका २६ वटा र सिरीजंघा गाउँपालिकाका ४ ओटा विद्यालयमा गरि ३० विद्यालयमा यस्तो लकवुकलाई प्रयोगमा ल्याईएको छ ।

यसको प्रयोग भने हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा रिड नेपालले प्रयासमा भएको हो । यो संस्थाले जिल्लाका दुई गाउँपालिकामा शैक्षिक क्षेत्रको विकासका लागि गाम गरिरहेको छ । ‘यसको प्रयोगले विद्यार्थीहरूमा उत्साहका साथै शिक्षकहरूमा समेत विद्यार्थी प्रतिको उतरदायित्वको महसुस भएको पाईयो ।’

रिड नेपालका जिल्ला व्यवस्थापक राजेन्द्र पन्तले भने ‘ कक्षामा विद्यार्थीको मात्र कमजोरी नभएर शिक्षकबाट हुनसक्ने भएकाले यस्तो प्रयोगले शिक्षण शिकाई क्रियाकलापलाई सहयोग पुगेको छ ।,’ यसको प्रयोग सुरु भएपछि शिक्षहरूले समेत आफुँले कस्तो शिक्षण गर्छु भन्ने आत्मा मुल्याङ्कन गर्ने अवशर पाउने पन्तको वुझाई छ ।

प्रतिक्रिया