संगीत – चर्चामा ‘सालको पातको टपरी’

बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा २ करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महिना नपुग्दै २ करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर ०६८ सालमा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र संगीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो । ‘उत्साहित छौँ, राम्रो प्रतिक्रिया आएको छ,’ गायक विश्वकर्माले भने । गीत राम्रो बनेको लागे पनि यति धेरै चर्चा पाउला भनेर नसोचेको उनको भनाइ थियो । ‘शब्द, संगीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको छ,’ विश्वकर्माले भने ।

‘भिडियो’ मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र संगीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका छन् । ‘छोटो अवधिमै गीत करोड क्लबमा प्रवेश ग¥यो’ संगीतकार थापाले भने, ‘नेपाली लोकसंगीतका लागि यो सुखद् खबर हो, नेपाली दर्शक स्रोतको मायाले हामी उत्साहित बनेका छौँ ।’


हाल अमेरिकामा रहनुभएका गीतकार नवराज पन्तका अनुसार मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाब गीतको रचना गर्भ हो । ‘गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कथा छ,’ पन्तले भने, ‘सबैले शब्दलाई रुचाउनुभएको छ, खुसी छु ।’

संगीतकार थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पातको टपरी’ लेख्नुएको थियो । ‘कम्पनीमा काम गर्दै थिएँ, एक्कासि गीत फु¥यो’ पन्तले भने, ‘कागजको चिर्कटोमा शब्द उतारेँ ।’ झ्याउरे लयमा ठेट शब्द र मन छुने स्वरले गीतको लोकप्रियता बढेको हो । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

१ लाख ‘सबसक्राइबर’ (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले ‘अर्वाड’ समेत पाएको छ । ‘युट्युबबाट च्यानल भेरिफाइड भएको छ,’ संगीतकार थापाले भने, ‘युट्युबको व्यावसायिक प्रक्रियामा छिरेका छौँ ।’ गीत हेर्ने, मनपराउने, टिप्पणी, आदानप्रदान र सबसक्राइब गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ ।

सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सबसक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । श्रव्य क्यासेट, सिडी, सिआरबिटी हुँदै संगीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले संगीत बजारको स्वरूप बदलिएको हो ।

प्रतिक्रिया