कुलुङको पर्व चाक्चाकुरः एक चर्चा

कुलुङ जातिको महान् चाड चाक्चाकुर आइतबारदेखि सुरु भएको छ । यो पर्व प्रत्येक वर्षको १५ पुसदेखि सुरु हुन्छ । कुलुङ समुदायले पुस १५ देखि ३ दिनसम्म यो पर्वलाई भव्यरूपमा मनाउने गर्छन् ।

चाक्चाकुरमा सबै गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको गुदेल माविकी महिला शिक्षक तारा कुलुङको भनाइ छ । उनका अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिने गरिएको छ ।

कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङ अगुवाको भनाइ छ । कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ संघको स्थापनाका रूपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ ।

उनका अनुसार कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङदोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम अर्थात् अन्नको सह’ तथा पुस महिनालाई जनाउँछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो ।

औपचारिक रूपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने सुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान संघ, केन्द्रीय कार्यसमितिको पहलमा ०६२ सालबाट थालिएको कुलुङ संघले दाबी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, संखुवासभा, इलाम, धनकुटा लगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै, भारतको सिक्किम, पश्चिम बंगाल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ ।
कुलुङजातिको महान् चाडका रूपमा लिइने चाक्चाकुरको अवसरमा महाकुलुङ गाउँमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । वडा कार्यालय नै आयोजक बनेरसमेत कार्यक्रमको आयोजना गरिएको छ ।

वडा–३ छेस्कामको आयोजना फुटबल प्रतियोगिता लगायतको कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष डेकबहादुर कुलुङले जानकारी दिए । कार्यक्रमको शनिबार सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई (शुरवीरले) उद्घाटन गरेका थिए । महाकलुङको वडा–२ ले साविक वडास्तरीय खुला महिला पुरुष भलिबल प्रतियोगिता, गायन, नृत्य र टेबलटेनिस प्रतियोगिताको साथमा भाग्यशाली उपहारसमेत आयोजना गरिएको छ ।

कार्यक्षेत्रमा रहेका कुलुङ जाति पर्व मनाउन गाउँ आउने गर्छन् । कुलुङ जातिको महान् पर्व मिनारी दाचाम निङदोङ चाक्चाकुरलाई राज्यले पनि विशेष महत्वको चाडका रूपमा मान्यता दिनुपर्ने कुलुङ जातिको भनाइ छ ।

महाकुलुङमा कुलुङ जातिको बाहुल्यता रहेको छ । स्थानीय खरिधन कुलुङले अन्य जातिको जस्तै कुलुङको समेत महत्वपूर्ण पर्व चाक्चाकुर भएकाले राज्यबाट राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताए । ‘हिन्दूको दसैँ र तिहारजस्तै आफूहरूको चाक्चाकुर पर्व हो’, स्थानीय विनोद कुलुङले भने, ‘हाम्रो पर्वलाई पनि केन्द्र सरकारले नभए पनि प्रदेश सरकारले मान्यता दिन आवश्यक छ ।’ कुलुङ जातिको बसोबास प्रदेश–१ को सोलुखुम्बु, भोजपुर, संखुवासभा, इलाम र धनकुटा लगायतका क्षेत्र भएकाले प्रदेश सरकारले यस वर्षलाई मान्यता दिनुपर्ने उनीहरूको माग छ ।


चाक्चाकुरका अवसरमा गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कुुलुङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो ।

गाउँपालिकाको छैटौँ गाउँसभाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख सागर किराँतीले जानकारी दिए । गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिका भित्रका सामुदायिक विद्यालय, संघ÷संस्था तथा सकारी कार्यालय सबै बन्द छन् । १५ गते आइतबारदेखि बन्द भएको उक्त कार्यालय पुस १८ अर्थात् बुधबारदेखि मात्र खुल्नेछन् ।

चाक्चाकुर पर्व मनाउन कार्यक्षेत्रबाट गाउँ आएकाले बस्ती भरिभराउ भएको छ । विशेषगरी, अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँबाहिर भएका समेत छुट्टी मिलाएर घर आएका छन् । महाकुलुङका केडी कुलुङले भने, ‘अन्य पर्वभन्दा चाक्चाकुर महत्वपूर्ण पर्व हो, यो पर्वमा सबै गाउँका मानिसको जमघट हुन्छ ।’ चाक्चाकुरका कारण महाकुलुङको घर भरिभराउ भएको छ । यातायातमा समेत महाकुलुङ जानेको लर्को देख्न सकिने यातायात व्यवसायी बताउँछन् ।

प्रतिक्रिया