‘सन् २०१८’ पर्यटनको ऐतिहासिक वर्ष

नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिलेसम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । देशमा सहज परिस्थिति सिर्जना भई पर्यटक आगमनमा वृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ को ११ महिनामै १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक नेपाल आएका थिए ।

बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रूपमा चलाएको प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटकको संख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटकमा पनि उल्लेख्य रूपमा बढेका छन् । नेपालीमा पनि विभिन्न ठाउँमा घुम्न निस्किने र खर्च गर्ने बानी बढेको छ । सरकारले नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका लागि एक सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ ।

होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले होटलको ‘बेड’ संख्या ३७ हजार छ । सन् २०२० सम्म करिब ६ हजार बेड संख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौं उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ ।

नेपाली हवाई उड्डयन इतिहासमै पहिलोपटक सरकारले मन्ट्रियल महासन्धि लागू गरेको छ । सन् २०१८ डिसेम्बर १५ बाट यो व्यवस्था लागू गरिएको हो । महासन्धि लागू भएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बिमा रकम करिब ६ गुणाले वृद्धि भएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले खरिद गरेको वाइड बडी जहाज भित्रदा जति चर्चा छायो त्यतिकै उक्त जहाजको खरिद प्रक्रियाको अनियमितताबारेको विवादको चर्चा चुलिएको छ । पहिलो जहाज वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ गत असार १४ गते र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमान साउन १० गते काठमाडौंमा अवतरण गरेका थिए । हाल यी दुवै जहाज निगमका पुरानै गन्तव्यमा उडान भर्दै आएका छन् । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको १२÷१२ अर्बको ऋणबाट दुई जहाज खरिद गरिएको हो ।

जहाज किन्दा सार्वजनिक खरिद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरिद प्रक्रियामा आशंका उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ । महालेखापरीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरिद प्रक्रियामा त्रुटि औँल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ ।

निगमले थप नयाँ चार गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेको छ । आउँदो चैतभित्र जापान, चीन, साउदी अरेबिया र दक्षिण कोरियामा उडान गर्ने तयारी गरेको निगमले जनाएको छ । वाइडबडी विमानले फेबु्रअरी पहिलो साता जापानको ओसाका र मार्चभित्र चीनमा ग्वाङझाओमा उडान गर्ने योजना बनाएको छ । निगमले हाल विभिन्न स्थानका आठ गन्तव्यमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइडबडी ‘ए’ ३३० जहाज, दुइवटा न्यारो बडी ‘ए’ ३२० जहाज र एकवटा बोइङ जहाज रहेका छन् ।
पर्यटक प्रवेशको मूलद्वार मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलोपटक धावनमार्ग पुनः कालोपत्र ‘रनवे रिह्याब’ को प्रक्रिया अघि बढेको छ । केही महिना अघिसम्म १७ घण्टा मात्रै सञ्चालन हुँदै आएको विमानस्थल अहिले दैनिक २२ घण्टा सञ्चालन भइरहेको छ । यसका साथै विमानस्थलको स्वरूप बदलिएको छ ।

बुटिक विमानस्थलको रूपमा स्थापित गर्ने उद्देश्यले विमानस्थलमा मुलुकको कला, संस्कृति र पहिचान झल्कने वस्तुको सजावट गरिनुका साथै नयाँ कार्पेट बिछ्याएर सरसफाइले चिटिक्क पारिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल अघिको अव्यवस्थित पाकिङ स्थानान्तरण गरिएको छ । यसले पर्यटक नेपाल उत्रने बित्तिकै यहाँको दृश्यले उनीहरूलाई आकर्षण गराओस् भन्ने पनि हो ।

मुलुकमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो ‘इभेन्ट’ को रूपमा लिइएको दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ गत जेठ १८ र २० गते काठमाडौंमा सम्पन्न भयो । संस्कृति, पर्यटन मन्त्रालयको अगुवाइमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्टमा २६ देशबाट ५९ कम्पनी सहभागी भएका थिए ।
यस्तै, गत भदौ १४ र १५ गते काठमाडौंमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्स्टेक) सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्यो । अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान दिलाउन सम्मेलन उपयोगी बन्यो ।

मंसिर १५ र १६ गते काठमाडौंमा भएको एसिया प्रशान्त सम्मेलनमा विभिन्न मुलुकका पाहुना आए । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी नेत्री लगायतले नेपाल भ्रमण गरेका थिए । नेपाल र कम्बोडियाबीच सीधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटन क्षेत्रका लागि उपलब्धिमूलक मानिएको छ ।

यही पुस १२ गते पर्यटनका लागि महत्वपूर्ण मानिएको पुरातात्विक महत्वको राष्ट्रिय गौरव ‘धरहरा’ को प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्यको यो सम्पदा १२ वैशाख ०७२ सालको गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा चल्यो । जुन सन् २०१९ को जुलाइभित्र सञ्चालनमा आइसक्नेछ ।

बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया पनि अघि बढेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । वर्षभरि पर्यटनका परी घटनाका सकारात्मक र नकारात्मक दुवै पक्ष रहे । फेक रेस्क्युको समाचारले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्यो । पर्यटन मन्त्रालयले छानबिन समिति बनाएर आवश्यक कारबाही प्रक्रिया अघि बढायो ।

प्रतिक्रिया