फ्ल्युड आर्टिस्ट रूमिना

 

अस्ट्रेलिया निवासी नेपाली कलाकार रुमिना मैनालीको तेस्रो एकल ‘फ्ल्युड एब्स्ट्राक्ट’ कला प्रदर्शनी अरूपण आर्ट ग्यालरीमा १ पौष ०७५ सालदेखि सुरु हँुदै छ । उक्त प्रदर्शनीको उद्घाटन प्रसिद्ध कलाकार शशीविक्रम शाहबाट हुनेछ ।
अस्ट्रेलियाको सिड्नीस्थित विश्वप्रसिद्ध म्याकुरी युनिभर्सिटीबाट कलाकार मैनालीले डेभलपमेन्ट स्टडिज एन्ड कल्चर चेन्ज विषयमा स्नातकोत्तर गरेकी छन् । स्वअध्ययन गरेर कलामा फ्ल्युड आर्टलाई यसपटक उनले आफ्नो कलाको विषयलाई अमूर्त ढंगबाट पस्किने माध्यम बनाएकी छन् ।

रुमिनाको यसअघि सन् २००६ मा नेपाल ललितकला संस्था (नाफा) मा ‘इप्रेसन एफ्ट पिकासो’ नामक एकल कला प्रदर्शनी आयोजना भएको थियो । त्यसपछि सन् २०१३ मा उनको ‘क्रिएसन’ नामक दोस्रो एकल चित्रकला प्रदर्शनी अरूपण आर्ट ग्यालरीमा आयोजना भएको थियो ।

सधैँ नवीन सिर्जनामा रम्ने कलाकार रूविना मैनालीको तेस्रो एकल कला प्रदर्शनीमा उनले अस्ट्रेलियामा बनाएका ३२ थान चित्र राखिएका छन् । उनी भन्छिन्, ‘क्यानभास एउटा यस्तो ठाउँ हो, जसमा हामी सधैँ नयाँ कुरा सिर्जना गर्न सक्छौँ । यस प्रदर्शनीमा मैले फ्ल्युड रङलाई अमूर्त शैलीबाट खेलाएको छु ।

रङ र प्रविधिको सहायताबाट मेरा चित्रहरूमा टेक्चर, बबल्सहरू उर्वर भएर देख्नुहुनेछ । म सधैँ नयाँ–नयाँ प्रयोग गर्न मन पराउँछु । जब क्यानभासमा रङहरू बग्न थाल्दछन् तब कल्पनाहरूका सीमा नाघेर विना कुनै कठिनाई यत्रतत्र आकार खोज्दै दौडिएको हेर्न मन लाग्दछ । रङ एक सशक्त माध्यम हो । यसलाई स्वतः प्रभावकारी हुन दिनुपर्छ भन्ने मेरो मान्यता छ ।’ कलाकार रूमिनाले एक्रेलिक रङलाई अन्य विभिन्न केमिकलको प्रयोग गरी चित्र बनाउने गरेको पाइन्छ । उनलाई एउटा चित्र तयार गर्न कम्तीमा चार दिन लाग्छ ।

कलाकार मैनालीका चित्र अवलोकन गरेपछि आर्ट क्युरेटर ओम सिटौला भन्छन्, ‘यी अमूर्त चित्रमा कहीँ म समुद्र देख्तछु, कहीँ पहाडका गराहरू देख्छु र कहीँ एरियल भ्यूबाट सुन्दर दृश्य देखिरहेको छु । सम्भवत अमूर्तता पनि मूर्तता देखाउन सक्नु कलाकार र कला पारखीबीचको तादाम्य हो कि, भन्ने मलाई लाग्छ ।’

कलाकार रूमिनाले कहीँ नीलो, कहीँ हरियो, कहीँ गुलाबी र कहीँ बैजनी रङको संयोजनमा थरिथरीका अमूर्त चित्र सिर्जना गरेर मौलिकतामा काम गरेकी छन् । यसै सन्दर्भमा कला समीक्षक डा. यमप्रसाद शर्मा भन्छन्, ‘तरलता, बहाव, लयात्मकता र गतिशिलता रूमिनाका चित्रका विशेषता हुन् ।’ नेपालमा फ्ल्युड आर्ट प्रदर्शन गर्ने सम्भवत उनी एकल महिला कलाकार हुन् । उनको सो प्रदर्शनी पुस १६ गतेदेखि चल्नेछ ।

प्रतिक्रिया