वरदान बन्दै म्याग्दीका तातोपानी कुण्ड

प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरूका लागि म्याग्दी जिल्लामा रहेको विभिन्न प्राकृतिक तातोपानीका कुण्डहरू वरदान सावित बन्दै गएका छन् । लामोसमय उपचार गरेर पनि निको नभएका बाथ, ग्यास्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरूबाट आक्रान्त व्यक्तिहरूका लागि यहाँका तातोपानी कुण्डहरू लाभदायी भएका हुन् । पछिल्लो समय जिल्लाका विभिन्न तातोपानी कुण्डमा मान्छेको भिड लाग्ने गरेको छ ।

जाडोयाममा बाथ, ग्यास्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा अहिले देशैभरिबाट बेनी नपा–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउनेहरूको भीड लाग्ने गरेको छ । कात्तिकको अन्तिम साता पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा परिवारसहित तातोपानी कुण्डमा डुबेर फर्किएपछि देशभित्र र बाहिर सिंगा तातोपानीको चर्चा अझै बढेको हो । तर, यसलाई अझै बढी प्रचार प्रसार गर्नुपर्ने स्थानीयको सुझाव छ ।

म्याग्दी जिल्लाका काली, म्याग्दी र रघुगंगाको किनाराका धेरै ठाउँमा तातोपानीका कुण्डहरू छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिंगामा रहेका प्राकृतिक तातोपानी कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रूपमा विकास हुँदै गएका छन् ।

सदरमुकाम बेनीबजारबाट नौ किलोमिटर पश्चिम बेनी नपा–४ मा म्याग्दी नदीको किनारमा अवस्थित सिंगा–तातोपानीे कुण्ड देशकै प्रसिद्ध तातोपानीको कुण्ड हो । कुल ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४ सय जनाले स्नान गर्न, डुबेर उपचार गर्न वा आनन्द लिन सक्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । यो तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्री सेल्सियस र मूलमा ५४–५७ डिग्री सेल्सियस रहेको छ । उक्त कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुई हप्तासम्म नुहाउने गरिन्छ ।

यहाँ डुबेर उपचार गराउन देशैभरबाट बिरामीहरू आउने गरेका छन् । पछिल्लो समय पक्षाघात भएका बिरामीहरूसमेत तातोपानी कुण्डमा उपचारका लागि आउने गरेका र पहिलाको भन्दा निको भएर फर्किने गरेका समितिका कर्मचारी मेखी खत्रीले बताए ।

बाथ रोगबाट पीडित आफ्नो बुबालाई उपचारका लागि तातोपानीमा लिएर आएका झापा दमकका सोमप्रसाद सिग्देलले एक हप्ता तातोपानीमा डुबेर उपचार गर्दा बुबालाई धेरै निको भएको र अरू एक हप्ता यहाँ डुबेर फर्किने बताए । यहाँ नेपालका मात्र होइन नेपालसँग सिमाना जोडिएको भारतका रूपैडिया, नानपारा, विहार, गोरखपुरलगायत भारतका विभिन्न ठाउँहरूबाट समेत विरामीहरू डुब्न आउने गरेका समितिले जनाएको छ ।

यो कुण्डमा स्नान गर्न सजिलो होस् भनेर वरिपरि पर्खालले घेरेर पोखरी बनाइएको छ । तातोपानी कुण्डमा ०४२ सालभन्दा पहिले आजभोलिको जस्तो सुविधा थिएन । होटल, लजको व्यवस्था नभएको हुनाले ओडारमा बस्नु पर्दथ्यो । स्थायी स्नान कुण्डको व्यवस्था नभएको हुनाले माघ, फागुन र चैत महिनामा मात्र कुण्डमा डुब्न आउने मानिसको भीड हुन्थ्यो ।

यातायातको अभावले टाढाटाढाबाट मानिसहरू आउन सक्दैनथे । ०४२ सालमा म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा तातोपानी व्यवस्थापन समिति गठन भएको थियो । यद्यपि, सो समितिले सोचेजस्तो खासै काम गर्न भने सकेन ।

तातोपानी कुण्डको महत्व बढाउन र यसको संरक्षण गर्न ०४५ सालमा प्रबुद्धकुमार शाक्यको अध्यक्षतामा ‘तातोपानी कुण्ड भौतिक सुधार तथा व्यवस्थापन समिति’ गठन भएपछि यो कुण्ड व्यवस्थित तरीकाले सञ्चालन हुँदै आएको स्थानीय विक्रम बुढाथोकीले जानकारी दिए ।

यो तातोपानी कुण्डको महत्व बढ्दै गएपछि यहाँ स्नान गर्न आउने मानिसहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।त्यसकारण कुण्डमा स्नान गर्न आउने मानिसहरूको चापलाई ख्याल गरी व्यवस्थापन समितिले यो कुण्डको मर्मत र क्षमता विस्तार गरेको छ ।

रघुगंगा तातोपानी कुण्डः रघुगंगा गाउँपालिका–५ को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगंगाको किनारमा एक तातोपानीको कुण्ड छ । यो कुण्डलाई व्यवस्थित बनाउन स्थानीय वासिन्दाले विभिन्न किसिमका पूर्वाधारको विकास गरिरहेका छन् । यो कुण्डमा स्नान गर्न कुइनेमंगले, चिमखोला, झिं, दग्नाम, दोवा, पाखापानी, पात्लेखेत, बेग, राखु पिप्ले र भगवतीका वासिन्दा आउने गर्दछन् । यहाँ माघ महिनादेखि असार महिनाको पहिलो हप्तासम्म स्नान गर्न सकिन्छ ।

भुरुङ–तातोपानी कुण्ड ः अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ तातोपानी भन्ने ठाउँमा कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ । यसलाई तप्तकुण्ड भनिन्छ । यसको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरूले आफूलाई पायक पर्ने मुहानमा नुहाउने चलन छ । यद्यपि तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ ।

मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानीको तप्तकुण्डको विशेष चर्चा गरिन्छ । मुक्तिनाथ जाने तीर्थ यात्री र मुस्ताङको भ्रमणमा आउने पर्यटकहरूले यो तातोपानीको भरपूर उपयोग गर्ने हुनाले यसको महिमा बढेको हो भन्ने कुरामा कुनै द्विविधा छैन ।

मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरू प्रशस्त मात्रामा आउने गर्दछन् । तिनीहरूले विश्राम गर्ने स्थलको रूपमा तातोपानी क्षेत्रलाई रोजेको हुनाले यहाँ बाह्रैमास पर्यटकहरूको भिड लाग्छ । तातोपानी बजारमा सधै नै पाश्चात्य मुलुकका मानिसहरू भेटिने हुनाले यो क्षेत्रलाई नेपालको युरोप भन्ने पनि चलन छ ।

मुदीको (फल्तीखेत) तातोपानी कुण्ड ः म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरि गाउँपालिका–३ मुदीको बगर भन्ने ठाउँमा म्याग्दीखोलाको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित नभएको हुँदा स्थानीय मानिसले मात्र स्नान गर्दछन् । धवलागिरि हिमाल आरोहणका लागि आउने पर्वतारोहीहरूले पनि यसको उपयोग गर्ने गर्दछन् ।

तातोपानीमा गन्धकको गन्ध र वीरेनुनको विशेष किसिमको स्वाद आउँछ । गन्धक आफैँमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिँदैन । त्यसकारण तातोपानी कुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना नहुने चिकित्सकहरूले बताएका छन् ।

तातोपानीको कुण्डमा डुब्नाले गाँठा–गुठी परेको, सुन्निएको, बाथ रोग, पेट दुख्ने, फुल्ने र डकार आउने जस्ता पेटसम्बन्धी रोग, छालामा आउने विभिन्न चर्मरोग तथा हाड जोर्नी, दुख्ने, सुनिने, नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको ठाउँमा चिसोका कारण दुख्ने रोग निको हुन्छ । तर, उच्च रक्तचाप र विविध कारण रिंगटा लाग्ने व्यक्तिले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नुपर्ने समिति पदाधिकारीहरूको सुझाव छ । म्याग्दीका तातोपानीका कुण्डमध्ये सिंगा–तातोपानी र भुरुङ–तातोपानीको विशेष महिमा रहेको स्थानीयको भनाइ छ ।

समितिको तथ्यांकअनुसार सिंगा–तातोपानीमा ०६२ पुसदेखि ०७४ साल कात्तिक २० गतेसम्ममा अर्थात् करिब १२ वर्षमा १ लाख १० हजार जनाले स्नान गरी उपचार गराएका र कयौँले आनन्द लिएकोे देखिन्छ । यसमध्ये ३० हजारभन्दा बढी व्यक्तिहरू पूर्णरूपमा निको र अन्य आंशिक रूपमा निको भएर फर्केका कुण्ड समितिको दाबी छ ।

प्रतिक्रिया