काभ्रेमा बढ्दै महिला डकर्मी

पछिल्लो केही वर्ष यता निर्माण क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको तलका दृष्यले पनि पुष्टि गर्छ । भूकम्पपछि त निर्माण मजदुरको रूपमा मात्रै काम गर्ने महिलाको नेतृत्व बढ्न थालेको छ । उनीहरू निर्माण मजदुर होइन, दक्ष डकर्मीको रूपमा स्थापित हुँदै गएका छन् । ज्योति श्रेष्ठको रिपोर्ट

काभ्रेकाे धुलिखेलमा चिसो बतास चलिरहेको थियो । सरस्वती बजारबाट दायाँतर्फ थोरै उकालो हिँड्दै गर्दा हुर्खा बजार देखियो । बजारको छेवैमा नयाँ घर बनिरहेको थियो । सामान्यतया घर निर्माण भनेपछि मिस्त्री, मजदुरमा पुरुष कल्पनामा आउँछन् । तर, हुर्खा बजारमा भन तेस्रो तल्ला निर्माणमा ४-५ जना महिला एकचित्त भएर काम गर्दै थिए । कोही गारो लगाउँदै, कोही प्लास्टर गर्दै त कोही टाइपिङ (घर प्लास्टर गर्नुपुर्व गरिने कामगर्दै ।

वर्ष यता निर्माण क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको यो दृष्यले पनि पुष्टि गर्छ । भूकम्पपछि त निर्माण मजदुरको रूपमा मात्रै होइन निर्माणमा महिलाको नेतृत्व बढ्न थालेको छ । उनीहरू निर्माण मजदुर होइन, दक्ष डकर्मीको रूपमा स्थापित हुँदै छन् ।

हुर्खामा निर्माण हुँदै गरेको घरमा धुलिखेलकी ३१ वर्षीया सर्मिला कार्की भेटिइन् । उनले पछ्यौराले अनुहार र टाउको छोपेकी थिइन् । आँखा मात्र खुला थिए । हातमा पहेँलो रंगको पञ्जा । अनि घुँडासम्मै आइपुग्ने ड्याम्म बुटमा थिइन् उनी ।

हातमा ज्यावल, साइडमा घण्टी (गाह्रोको लेबल नाप्न प्रयोग गरिन्छ) र मसला पनि थिए । उनी गारो लगाउँदै थिइन् । कुरा गर्न थालेपछि सर्मिलाले मुख ढाकेको पछ्यौरी खोलिन् । उनले १२ वर्षकै उमेरदेखि ज्यामी काम सुरु गरेको बताइन् । किताब, कापी र कलम समाउने उमेरमा उनी बाध्यताले ज्यामी बनिन् ।

उनले भनिन्, ‘पढ्ने रहर थियो, खर्च थिएन । पढ्ने वेला मजदुरी गर्नुप¥र्यो ।’ ज्यामी काम गर्दा सुरुमा गिट्टी बालुवा, सिमेन्ट, ईट्टा बोक्थेँ । अनि दिनको ६० रूपैयाँ ज्याला पाउथेँ ।’ उनले ६० रूपैयाँ ज्याला पाउँदा डकर्मीले २ सय ५० रूपैयाँ पाउँथे । परिश्रम गरेभन्दा मूल्य कम पाइए पनि उनलाई आफ्नो मेहनतको आम्दानी भनेर खुसी लाग्थ्यो । ‘पछि ज्यामीको पनि ज्याला बढ्यो । तर, ज्यामी काम गरिन’ शर्मिलाले भनिन् ।

‘आफूमा गर्छु र सक्छु भन्ने हिम्मत भएपछि जस्तो काम पनि गर्न सकिदो रहेछ’ उनले भनिन् । शर्मिलाका अनुसारसँगै काम गर्ने पुरुष डकर्मीले पनि उनलाई सिक्न हौसला दिन्थे । डकर्मीको काम आउन थालेपछि उनले धुलिखेल नगरपालिकाले दिएको गारो लगाउने, प्लास्टर गर्ने, डन्डी काट्ने, बाँध्ने तालिम पनि सिकिन् ।

१० वर्ष अगाडि नै उनमा डकर्मीको सीप थियो । तर त्यो काम महिलालाई दिने मान्छे भेट्नचाहिँ निकै मुस्किल पथ्र्यो । ‘पहिला–पहिला घर बनाउने ठाउँ कहाँ छ भन्दै खोज्नुपथ्र्यो ।’ उनले भनिन्, ‘तर, अहिले ठिक उल्टो भएको छ ।’ अहिले घर बनाउने काम प¥र्यो कि मान्छेहरू खोज्दै उनकै घर पुग्छन् । अहिले उनको खोजी हुनुको कारण काममा परिपक्वता र ग्राहकहरूको विश्वास रहेको उनको बुझाइ छ ।
उनले आफ्नो सीप प्रयोग गरेर बनेपा र धुलिखेलमा ९० घर, ४ विद्यालय बनाएको बताइन् । जिम्मेवारीसँगै उनको पारिश्रमिक पनि बढेको छ । उनी दैनिक १२५० रूपैयाँ ज्याला वापत पाउँछीन् ।

उनीसँगै काम गर्ने पुरुष डकर्मीले पाउने रकम पनि त्यही हो । ‘हामी जहाँ काम गर्छौं, त्यहाँ महिला पुरुषबीच समान व्यवहार र समान ज्याला छ । हाम्रो महिला पुरुषबीचको सहकार्य र सम्बन्ध पनि उस्तै राम्रो छ,’ उनले भनिन् । शर्मिलाले ५ जनाको परिवारको खर्च धान्दै आएकी छन् । आफूले पढ्न नपाए पनि २ बहिनीलाई भने उच्च शिक्षा हासिल गराउने उनको चाहना छ ।

उनीसहित ३ महिला र एक पुरुष डकर्मीको सहकार्यमा घर निर्माण भइरहेको छ । शर्मिलाले गारो लगाइरहँदा उनको छेउँमै कल्पना भण्डारी टाइपिङको तयारी गर्दै थिईन् । उनको हातमा डण्डी र फल्याक थियो, उनी अलि हतारमा देखिन्थिन् । ज्यामीहरू बिदामा भएकाले ज्यामी र डकर्मीको काम एक्लै सम्हाल्दै थिइन् ।

काभ्रको भुम्लु गाउँपालिका घर भएकी ३० वर्षकी कल्पना भण्डारी दुई वर्षदेखि डकर्मीको काम गर्दै आएकी छन् । ‘रहरले नभएर परिस्थितीले डकर्मी बनेको हुँ’ उनले भनिन् ।

उनले भनिन्, ‘१० वर्ष अघिसम्म कोसीपारीको सेतीदेवी प्राथमिक विद्यालयमा पढाउथेँ । २ वर्षसम्म निजी स्रोतमा पढाए पनि दरबन्दी पाइन । शिक्षण मनपर्ने पेसा भए पनि थोरै पारिश्रमिकमा लामो समय कटाउन सकिएन । त्यसपछि दुबई गएँ । दुबई जाँदा छोरो ५ वर्ष र छोरी २ वर्षकी थिईन् । दुबईमा सेल्सको काम गर्थें । ८ वर्षको बसाई पछि सधैँको लागि नेपाल फकर्नेे निधो गरें । छोराछोरीको भविष्यको लागि पनि नेपाल फर्किए ।’

नेपाल फर्किएपछि रोजगारीका लगि धेरै ठाउँमा भौँतारिएको उनले बताइन् । तर आफूले सोचेजस्तो रोजगारी पाइनन् । उनले भनिन्, ‘प्राइभेट स्कूलमा पढाउँदा थोरै तलब हुने, सरकारीमा आफ्नो पावर छैन, फाइनान्समा पनि कम तलबमा धेरै काम गर्नुपर्ने, व्यवसाय गर्न आफूसँग ठूलो रकम थिएन । धुलिखेलमा एक जना दिदीले ज्यामी गर्ने अवसर दिनुभयो । छोराछोरीको भविष्यकै लागि मैले त्यो अवसर स्वीकारे ।’

१२ कक्षा पास गरेको उनले सोचेजस्तो जागिर पाइनन् । त्यसैले उनी काम कहिल्यै सानो ठूलो हुँदैन ।’ भनेर ज्यामी हुँदै डकर्मी बन्ने निर्णयमा पुगिन् । ज्यामी कामबाट उनी अहिले डकर्मी बनेकी छिन् । ज्यामी काम पनि सुरु सुरुमा निकै गाह्रो भएको उनले बताइन् । काम सुरु गर्दाका दिन सम्झदै उनले भनिन, ‘सुरुमा काम कसरी गर्ने होला भन्ने मात्र सोच्थेँ मोटाएर तौल ७५ किलो थिए उनले । भारी बोक्न लाग्दा थर्रर काप्थेँ । पछि काम गर्दै गएपछि सजिलो हुन थाल्यो । अहिले ज्यान घटेर ५० किलो भएको छ ।

उनले डकर्मीको काम सुरु गर्दाको दिन सम्झदै भनिन्, ‘सुरुको दिन निकै डर लागेको थियो । काम बिग्रिएर गाली गर्ने हो कि भनेर चिन्ता लाग्थ्यो । डण्डी बाँध्ने, घण्टी मिलाउने, गाह्रो ग्याप मिलाउने काम अरू साथीहरूले सिकाउनुभयो । सिक्दै गएपछि काम गर्ने बानी प¥र्यो ।’ कहिँ कतै तालिम नलिएकन उनले ३० वटा घर बनाइन् सकिन् ।

उनीहरूको डकर्मी काम गर्ने ३५ जनाको समूह छ । जसमा १५ जना महिला र २० जना पुरुष छन् । महिला पुरुष मिलेर समूह समूहमा काम गर्ने गर्छन् । समूहमा काम गर्न धेरै सजिलो र छिटो हुने उनले बताइन् । आफूले नजानेको कुरा सिकाइ माग्न उनलाई अप्ठ्यारो लाग्दैन । समूहमा काम गर्दा कुनै काम गर्न नसकेको वेलामा सघाइदिने, नजानेका कुरा सिकाउने हुँदा काम गर्न सजिलो भएको उनको अनुभव छ ।
उनले भनिन्, ‘हामी महिला र पुरुषसँगै समूहमा काम गर्छौँ । पुरुष साथीहरूले हाम्रो कामको सम्मान गर्नुहुन्छ र हामी पनि उहाँहरूलाई सम्मान गछौँ । काम गरेको आजको दिनसम्म महिला पुरुषबीच कुनै भेदभाव भएको छैन ।’

नेपालमा भूकम्पले घर लडाउँदा उनी विदेशमा थिइन् । भूकम्पको खबरले उनी नेपाल फर्किइन् । घरको बनाउन केही रकम छोडेर फेरि विदेश गइन् । त्यतिवेला उनको गाउँमा डकर्मीको तालिम चलेको थियो । उनका ससुराले डकर्मीको तालिम लिएर आफैले आफ्नो घर बनाए । अहिले उनका ससुरा पनि गाउँमा डकर्मीको काम गर्छन् । कल्पनाको काममा परिवारको पनि सहयोग छ । आम्दानी पनि राम्रो । छोटो दिनमा २० देखि २५ हजार र लामो दिनमा बिहानदेखि काम गर्दा मासिक ३५ हजार रूपैयाँ आम्दानी हुने उनले बताइन् ।

उनको आम्दानीले दैनिकीका साथै समाजमा हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । उनी भन्छिन, ‘महिला भएर पनि डकर्मीको काम गर्न सक्यो भनेर आजभोलि कामको प्रशंसा गर्छन् ।’

कल्पनाकै समूहमा डकर्मी विमला रानामगर बालुवा, सिमेन्ट र गिट्टीलाई साबेलले मिलाउँदै थिइन् । उनले मसला तयार गरि डकर्मीलाई पु¥याइदिइन् । उनी पनि दक्ष डकर्मी हुन् । तर, परेको वेला ज्यामी काम पनि गर्छिन् । ३५ वर्षकी उनले डकर्मी काम १० वर्ष अघि फूर्सदको वेला सिकेकी हुन् । १० वर्षअघि विमला श्रीमानसँगै रोजगारीका लागि काठमाडौं गएकी थिइन् ।

उनका श्रीमान गाडी चलाउँथे । विमला दिनभर कोठामा एक्लै हुन्थिन् । कोठमा दिनभर यत्तिकै बस्नुभन्दा केही काम गर्न पाए, घर खर्च पुग्थ्यो भन्ने उनले सोच्थिन् । टोलका केही महिला ज्यामी काममा जाने गरेको थाहाँ पाइन् । उनलाई पनि काम गर्न मन लाग्यो । तिनै महिलाको सहयोगमा समूहमा बसेर उनले ज्यामी काम गर्न थालिन् ।

उनका श्रीमानलाई भने उनले काम गरेको चित्त बुझेको थिएन । ‘तिमीले ज्यामी काम गर्न सक्दैनौ । म कमाइहाल्छु, तिमी किन दुःख गर्छौ ?’ भन्थे । विमलामा भने आत्मनिर्भर हुनुपर्छ भन्ने थियो । त्यसैले उनले ज्यामी काम गर्न जिद्दी गरिन् । ज्यामी काम गर्दै गइन् । सुरुमा त उनलाई पनि काम गर्न गाह्रै भएको थियो । काम गर्दै गएपछि बानी परेर सजिलो भएको उनी बताउँछिन् ।

विमलाले भनिन्, ‘काम गर्दा त रमाइलो लाग्थ्यो । तर, ज्यामी काम गर्ने महिलाहरूप्रति मानिसहरूको हेर्ने दृष्टिकोण राम्रो हुँदो रहेछ । ज्यामी गर्ने भनेर मेरो बारेमा धेरैले कुरा काटे । मैले कसैको कुरा सुनिन । आफ्नो कामसँग मात्र मतलब राख्थें ।’ अरूले साथ नदिए पनि नदिए पनि श्रीमानले भने उनलाई सधैँ साथ दिएको बताइन् ।

विमलाका श्रीमानले धुलिखेलको गाडी चलाउन थालेपछि उनीहरूको बसार्ई धुलिखेलमा सर्यो । विमला धुलिखेल बस्न थालेको ४ वर्ष भयो । धुलिखेल गए पनि उनले काम छोडिनन् । धुलिखेलमा ज्यामी काम गरेको १ महिनापछि महिला डकर्मीले उनलाई डकर्मी काम गर्न हौस्याए ।
सुरुमा त प्राविधिक काम जान्दिन कि जस्तो लागेको थियो । भन्छिन, ‘गारो कसरी लगाउने, ईंट्टा कसरी हाल्ने ? कति ईन्चको गाह्रो चाहिन्छ ? भन्ने कुरा पहिला सिके ।

केही कुरा हेर्दै गर्दै जानें, केही डकर्मी साथीहरूले सिकाए ।’ ज्यामी काम गर्दा सुरुमा उनका ज्याला १ सय ५० रूपैयाँ थियो । त्यो बढेर ३ सय ५० रूपैयाँ हुँदासम्म उनले ज्यामीको काम गरिन् । धुलिखेल आएर ज्यामी गर्दा ५ सय पाउँथिन् । अहिले ज्यामीहरूको पारिश्रमिक बढेको उनी बताउँछिन् । उनका अनुसार, महिला ज्यामीले दैनिक ६ सय पाउँछन् भने पुरुष ज्यामीले ७ सय पाउँछन् ।

तर, डकर्मीमा चाहिँ महिला पुरुषको पारिश्रमिक बराबर छ । उनले भनिन्, ‘यहाँ महिला र पुरुषको काम एउटै हुन्छ । पुरुषले जति पाउँछन, महिलाले पनि त्यति नै पाउँछन् ।’ अहिले श्रीमानको भन्दा बिमालाको कमाइ राम्रो छ । श्रीमानले मासिक १५ हजार रूपैयाँ कमाउँछन् । उनले मासिक ३० हजार । श्रीमानको आम्दानी घरायसी खर्चमा प्रयोग हुने र उनको आम्दानी बचत गर्ने गरेको उनले बताइन् ।

संखुवासभाका हेमन्त बुढाथोकी डकर्मी हुन् । उनी २ वर्षदेखि धुलिखेलमा बस्दै आएका छन् । निर्माण क्षेत्रमा उनको ४ वर्षको अनुभव छ । उनीले काम गर्ने ११ जना डकर्मीको समूहमा ७ जना पुरुष र ४ जना महिला छन् । ‘काममा हामी सधैँसँगै हुन्छौँ, महिला र पुरुष भनेर कुनै विभेद हुँदैन, उनले भने, ‘पुरानो रुढिवादी समाजमा मात्र महिला र पुरुषबिच विभेद देखिन्छ । पुरुषलाई जस्तो व्यवहार गरिन्छ, महिलालाई नि त्यस्तै गर्छौं ।’ उले महिलाहरूसँग काम गर्दा झनै कामप्रति संवेदनशील हुने र एक अर्काप्रति सम्मान पनि हुने बताए ।

काभ्रेमा भूकम्पले सबैभन्दा बढी क्षति गराएको क्षेत्र मण्डन देउपुर हो । भूकम्पले धेरैको घर लडायो । तीनै लडेका घर केही बनिसके । केही बन्ने क्रममा छन् । कुन्तावेशी मण्डन देउपुरको सहरी क्षेत्र हो । त्यहाँबाट १३ किलोमिटर टाढा छ चण्डेनी । १ घण्टाको उकालो चढेपछि चण्डेनी गाउँ पुगिन्छ । चण्डेनी चोकमै भक्तलाल श्रेष्ठको घर बनिरहेको छ । ढलानको तयारीमा रहेको घरमा आधाजसो महिला डकमीले काम गर्र्दे थिए । उनीहरू ढलानको लागि फर्मा ठोक्दै थिए । तिमध्ये एक थिइन् संगीता श्रेष्ठ । उनको हातमा औजारहरू थिए । संगीता डकर्मी भएको एक वर्ष मात्रै भयो । मण्डनदेउपुर–१० उनी आफैले यो पेसा रोजेकी हुन् ।

१० वर्ष ज्यामी भएपछि उनी डकर्मी बनेकी हुन् । १० वर्षसम्म बालुवा, गिट्टी, रोडा, ढुंगा, र्इंट्टा बोक्ने काम गरिन् । डकर्मी सार्थीहरूले गारो लगाएको र प्लास्टर गरेको देख्दा उनलाई पनि गर्ने इच्छा जाग्थ्यो । तर सीप थिएन । सीप नहुँदा आँट आउने कुरै भएन । कहिलेकाहिँ भने लुकीछिपी अलि अलि अभ्यास पनि गरेको उनले बताइन् । ०७२ सालको भूकम्पले धेरै घर ढलायो । अनि त्यही भूकम्पले नै संगीतालाई पनि डकर्मी बन्ने अवसर दियो ।

भूकम्पपछि कारितास नेपाल नाम गरेको संस्थाले चण्डेनीमा आवास पुर्न निमार्णको लागि गाउँका महिला र पुरुषलाई डकर्मीको तालिम दिएको थियो । संगीताले पनि डकर्मीको तालिम लिने मौका पाईन् । गाउँका लडेका घर उठाउने अवसर उनको पोल्टोमा पनि पर्यो । तालिम लिएपछि आफूले धेरै कुरा जानियो, उनले भनिन्, ‘सुर बन्धन, जग बन्धन, ढोका बन्धन भनेको केही थाहा थिएन । ९ इन्चको गारो लगाउनुपर्छ भन्ने पनि थाहा थिएन । तालिमपछि लम्बाइ चौडाइको हिसाब गरेर काम गर्नुपर्ने रहेछ भन्ने थाहा पाएँ । अनि डकर्मी बन्ने हिम्मत आयो ।’

संगीताको परिवारमा ६ जना छन् । २ छोरी, १ छोरा, श्रीमान, सासू अनि संगीता । पहिलेदेखि नै संगीता आफैले घर व्यवहार धान्दै आएकी थिइन् । अहिले डकर्मीको काम गर्न थालेपछि आम्दानी पनि राम्रो भएको छ । घर व्यवहार धान्न उनलाई सजिलो भएको उनले बताइन् ।
उनका श्रीमान् पनि रोजगार छन् । त्रिशुलीको ईंट्टाभट्टामा लेखापाल काम गर्छन् । महिनामा १, २ पटक मात्र घर आउँछन् । ज्यामी हुँदा श्रीमानको भन्दा कम कमाउने उनको अहिले श्रीमानको जत्तिकै कमाइ छ । मासिक ३० हजार रूपैयाँ कमाउँछिन् ।

अहिलेसम्म उनले ४० वटा घर तयार पारिसकिन् । डकर्मी काम गर्न हल्ले, सिमचौर, गैराथोक, जैसी थोक ठाउँमा पुग्ने गर्छिन् । केही समयपछि गाउँमा घरमा रंग लागाउने तालिम पनि आउने उनले खबर पाएकी छिन् । त्यसमा पनि सहभागी भएर आफूमा क्षमता बढाउने उनले बताइन् ।

भूकम्प अघिसम्म कविता श्रेष्ठ सामान्य गृहिणी थिइन् । भूकम्पले धेरै भौतिक पूर्वाधारको विनास गर्यो । कवितालाई भने गृहिणीबाट पूननिर्माणकर्ता बनायो । भूकम्पमा ढलेका घरहरू बन्न थाले । सुरुमा कविताले फूर्सदको समयलाई सदुपयोग गर्दै ज्यामी काम गर्न थालिन् । ज्यामी काम गरेको १ वर्ष नबित्दै ०७३ सालमा गाउँमा डकर्मी तालिमको अवसर आयो ।

एक सय जनाले तालिम लिएकोमध्ये कविता पनि एक थिइन् । तालिमले महिलाहरूलाई परिपक्व बनाउनुको साथै उनीहरूमा काम गर्ने उर्जा थपिदियो । तालिम लिएक सय जनामध्ये ९ जना महिला समूहमा मिलेर काम गर्ने कविता बताउँछिन् ।

कविताका श्रीमान पनि डकर्मी हुन् । श्रीमानले पनि उनलाई नजानेको ठाउँमा सिकाइदिए । अहिले दुवै जना काममासँगै निस्किन्छन् र सँगै घर फर्किन्छन् । तालिम पछि कवितामा ‘म पनि श्रीमानसरहको काम गर्न सक्छु’ भन्ने आत्मविश्वास बढेको छ । उनी, ‘पहिले श्रीमानसँगै हिँड्दा डकर्मीको काम गर्न मन लाग्थ्यो । अलि अलि सिकाउनुहुथ्यो । तर धेरै कुरा त तालिम लिएरै जानियो । अहिले पनि श्रीमानले केही बिग्रिए सिकाइदिनुहुन्छ ।’

कविताले दैनिकी डकर्मीबाट १ हजार आम्दानी गर्छिन् भने उनको श्रीमान् बालकृष्ण श्रेष्ठले पनि उत्ति नै । डकर्मीको काम नगर्दा अलिकति पैसा चाहिए पनि अरुसँग हात थाप्नुपथ्र्यो, तर अहिले आम्दानी राम्रो छ । कसैसँग खर्च माग्नु पर्दैन ।

उनीहरुले नयाँ घर बनाउँदा सबैभन्दा धेरै समस्या शौचालयको हुने गरेको बताए । केटाहरू त सजिलै शौच गरिदिन्छन् । तर, महिलाहरूलाई भने धेरै समस्या हुने गरेको शर्मिला कार्कीले बताइन् । उनले भनिन, ‘नयाँ घर बनाउने ठाउँमा शौचालय हुँदैन । त्यसैले दिसा पिसाब आउँदा शौचालय खोज्नै भौतारिनुपर्छ ।’

काभ्रेमा अहिले आवास पुनर्निर्माणको चटारो छ । कतै भर्खरै सुरु भएको छ भने कतै अन्तिम चरणमा पुगिसकेको छ । पुनर्निर्माणमा महिलाहरूको सहभागिता पनि बाक्लिँदै गएको छ । पुनर्निर्माणमा सहयोग गरिरहेका विभिन्न संघ संस्थाले डकर्मी, पाईप फिटिङ, रङरोगन जस्ता तालिमको अवसर महिलाहरूलाई पनि दिँदै आएको छ । (सञ्चारिका फिचर सेवा)

प्रतिक्रिया