काठमाडौै । नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कका कारण हुने गरेको तथ्य सार्वजनिक भएको छ । शुक्रबार विश्व एड्स दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा यो तथ्य सार्वजनिक गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले अझै पनि अधिकांश बिरामीको संक्रमण हुने प्रमुख कारण नै असुरक्षित यौनसम्पर्क रहेको बताए । ‘हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ ।’ उनले भने, ‘तर सबैको पहुँचमा यो सन्देश पुग्न सकेको छैन । त्यसैले पनि ७६ प्रतिशत संक्रमणकै कारण भएको छ ।’ पोखरेलले एचआइभी संक्रमितहरूले बीचमै औषधि छोड्ने कारणले पनि समस्या जटिल हुने गरेको सुनाए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले एचआइभी संक्रमितको क्षेत्रमा सबै मिलेर काम गर्न जरुरी रहेको बताए । उनले यो समस्या बहुपक्षीय प्रयासबाट कम गर्न सकिने भन्दै सबैको सहकार्यको आवश्यकतामा जोड दिए ।
२०१० देखि सन् २०१७ सम्ममा नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको र ६३ प्रतिशतले बच्चाहरूमा आउने संक्रमणमा कमी आएको देखिएको छ । यसैगरी, सात वर्षयता एचआइभीबाट मृत्यु २३ प्रतिशतले घटेको समेत जनाइएको छ । नेपालमा हाल ३१ हजार हाराहारीमा एचआइभी संक्रमित रहेको अनुमान गरिएको छ ।
एचआइभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग र उपचार सेवाका लागि विश्वव्यापी रूपमै ध्यानाकर्षण गर्दै जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शनिबार दिवस मनाइँदै छ ।
यस वर्षको नारा ‘एचआइभीको जाँच गराऔं, आफ्नाे अवस्था थाहा पाऔं’ रहेको छ । यस नाराले सबैलाई आफ्नाे एचाआइभी संक्रमणको अवस्था थाहा पाउन र एचआइभी संक्रमण देखिएमा समयमै गुणस्तर उपचार र सेवा लिनको लागि जोड दिएको छ । यसले सन् २०२० सम्मको लागि ९०ः९०ः९० (अर्थात् ९० प्रतिशत एचआइभी संक्रमितहरूले आफ्नाे संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतले औषधि उपचारमा पहुँच हुने र ती औषधी खानेहरूमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुने) लक्ष्यलाई प्राप्त गर्न टेवा मिल्ने जनाएको छ ।
विश्वमा एचआइभी पत्ता लागेको ३७ वर्ष पुगीसकेको छ भने विश्व एड्स दिवस मनाउन लागिएको ३० वर्ष भइसकेको छ । त्यस्तै, सन् २०१७ को अन्त्यसम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरूमा एचआइभी संक्रमण भएको अनुमान गरिएको थियो ।
प्रतिक्रिया