ठूलो मात्रामा लागुऔषध बरामद

पोखरा । पोखरा–११ तुलसी मार्गबाट ठूलो मात्रामा लागुऔषधसहित दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्विप अपरेसनमा रहेको कास्की प्रहरीले बुधबार दुई वटा कारसहित ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो ।
सडक छेउमा पार्किङ गरिराखेको अवस्थामा ग२च ८३६३ र ग२च ४३२७ नम्बरको दुई वटा कारबाट लागुऔषध भेटिएको हो । कारचालक रूपन्देही घर भई पोखरा–९ बस्ने उदयकुमार गुप्ता र तनहुँको ब्यास घर भई पोखरा–११ रानीपौवा बस्दै आएकी ३३ वर्षकी गीता भन्ने मनु गुरुङलाई पक्राउ गरिएको हो ।

कारबाट २ सय ९५ थान नुर्फिन, २ सय ९५ थान डाइजापाम र २ सय ९५ थान फेनारगन बरामद गरिएको छ । यस्तै २४ बोतल फेनसिडल पनि बरामद भएको छ । कारको अगाडि सेफमा रहेको २ लाख ४२ हजार रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको छ । यस्तै, उदयकुमार गुप्ताको साथबाट सुनजस्तो पहेँलो रङको ४ तोला ८४ लालको सिक्री पनि नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

गुप्ताकै अर्को गाडी ग १ च ४३२७ नम्बरको कारबाट पनि डिक्कीमा ९६ थान आइबुुर्फिन, १ सय ९ थान डाइजापाम र ८६ थान फेनरागन बरामद गरिएको छ । गुप्ता ०७० सालमा पनि लागुऔषध मुद्दामा पक्राउ परी जेल सजाय भोगेर निस्किएको व्यक्ति भएको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

प्रतिक्रिया