कामलाई टिकाउ र प्रभावकारी बनाउन निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाले उपभोक्ता समितिहरूलाई पूर्वाधार विकासका कामहरूमा समुदायको मन जित्ने गरी प्रभावकारी र टिकाउ काम गर्न निर्देशन दिएको छ ।  उपमहानगरका १९ वटा वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई छुट्टाछुट्टै भेला गरेर दिगो विकासमा ध्यान दिन निर्देशन दिएको हो । उपमहानगरले योजना छनोटदेखि त्यसको कार्यान्वयन र प्रतिवेदन तयार पार्ने सम्मका कामहरूलाई व्यापक छलफल गरेर मात्रै अगाडि बढाउनसमेत आग्रह गरेको छ ।

उपभोक्ता समितिहरूका लागि उपमहानगरपालिकाले नयाँ प्रावधानका बारेमा अभिमुखीकरण पनि गराउन सुरु गरेको छ । नगरप्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल, योजना तथा लेखा शाखाका अधिकृत तथा प्राविधिकहरूले विभिन्न विषयमा अभिमुखीकरण गराएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

नगर र वडास्तरीय योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको प्रवक्ता रेग्मीले बताए । यस्ता समितिहरूले पूर्वाधार विकासका कामहरूमा प्रत्यक्ष निगरानी गर्नेछन् ।

बुटवलका सबै वडाहरूमा गरी हाल ६ सय वटा उपभोक्ता समितिहरू गठन भइसकेका छन् । भने ती समितिहरूले पाँच सयभन्दा धेरै योजनाहरू छनोट गरेका छन् । गत भदौ पहिलो सातादेखि नै उपभोक्ता समिति गठन भएका छन् । यी समितिहरूले एक करोड रुपैयाँ सम्मका कामहरू गर्न सक्नेछन् । सार्वजनिक खरिद ऐनको प्रावधानमै रहेर उपमहानगरले योजनाहरूलाई उपभोक्ता समितिमार्फत गराउँदै आएको फरफारक समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

योजना निर्माणका प्राविधिक पक्ष, उपभोक्ता समितिको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी सार्वजनिक खरिद ऐन नियमावलीको व्यवस्थाका बारेमा जानकारी गराइनेछ ।  यस्तै बिल भर्पाई तयारी, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल भुक्तानीसम्मका व्यवस्थाका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।

उपभोक्ता समितिलाई योजना फरफारक तथा योजना हस्तान्तरण, समितिको बैठक र सार्वजनिक परीक्षणका बारेमा अभिमुखीकरण गराइएको योजना शाखाका वरिष्ठ अधिकृत डोलराज अर्यालले जानकारी दिए । बिहीबार वडा नं। १, २ र ३ का उपभोक्ता समितिहरूका लागि अभिमुखीकरण गराइएको थियो ।

वडाध्यक्ष महेन्द्रप्रसाद लिगलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरको दृष्टिकोणका बारेमा प्रमुख र उपप्रमुखले प्रष्ट पारेकी थिइन् । भने सार्वजनिक खरिद ऐनलगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका अधिकृत तथा प्राविधिकहरूले जानकारी गराएका थिए । त्यस्तै लेखाशाखाकी सरस्वती भुर्तेल, प्राविधिक रुक्मागत बस्याल तथा जनप्रतिनिधि सरस्वती कुँवर र अधिकृत एकनारायण खनाललगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया