एउटै कम्पनीलाई आधा दर्जन पुल !

तिनाउ नदीले विभाजन गरेको रूपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने पक्की पुल आठ वर्षअघि निर्माण सुरु गरियो । दुई वर्षमा काम सक्ने गरी एलिट कन्स्ट्रक्सन प्रालिसँग ०६७ असारमा सम्झौता भएको थियो तर, आज पनि निर्माणको काम सकिएको छैन ।

दुईवटा पिलर बनाएर तेस्रोको निम्ति जग खन्दा चट्टान भेटिएपछि निर्माण रोकिएको डिभिजन सडक कार्यालय बुटवलको दाबी छ । यो पुलको निर्माण लागत १० करोड ३८ लाख रूपैयाँ थियो । यस मध्ये कम्पनीले ५ करोड २८ लाख ७७ हजार भुक्तानी लगि सकेको छ । अहिलेसम्म जम्मा ४२ प्रतिशत काम भएको सडक डिभिजनको दाबी छ । ०६७ असारमा सम्झौता भएर ०६९ असारमा सक्नुपर्नेमा यो पुल निर्माणका लागि पुनः ०७२ असार २४ गतेको म्याद थप गरिएको भए थियो ।

सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर रामपुकार जयसवालले ४२ प्रतिशतकाम पूरा भएपछि पिलरको जगमै समस्या देखिएर काम रोकिएको बताए । पुलको का सुरु भएको थियो भन्नका लागि तिनाउ बगरमा तीन वटा पिलर ठिङ्ग उभिएका छन् ।

०३८ सालमा तिनाउ नदीमा आएको बाढीले बुटवलको नयाँबजार र पुरानो बजार जोड्ने पुल्चोकको पक्की पुल बगायो । पुल बगेपछि वारिपारि गर्न बनाइएको झोलुंगे पुलले मान्छेलाइ साथ दिए पनि सवारी साधनलाई साथ दिन सकेन । त्यहाँको निर्माणाधीन पुल पनि आधीमै रोकिएको छ । पुरानो बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको यो पुल डिजाइनमै समस्या देखिएको भन्दै रोकिएको हो ।

चार वर्षअघि निर्माण सकिनुपर्ने उक्त पुलको ५१ प्रतिशत काम सकिएपछि डिभिजन सडक कार्यालयले डिजाइनमा कमजोरी देखायो । कार्यालयका इन्जिनियर मेघबहादुर केसीले पुलको पश्चिमतर्फको पिलरको जग झोलुंगे पुलको जग र पर्खालसँग जोडिएकाले डिजाइन परिवर्तन गरिएको जानकारी दिए ।

दुवै पुलको जग जोडिएकाले झोलुंगे पुलको पश्चिमतर्फको पर्खाल भत्किने भएकाले हामीले डिजाइन परिवर्तन गरेर सडक विभाग पठाएका छौँ,’ उनले भने, ‘फेरिएको डिजाइन स्वीकृत भएपछि ६ महिनाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिन्छौँ ।’

बज्रगुरु रायमाझी जेभीले ६ करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको तेस्रोपटक थपिएको म्याद गत असार २५ गते सकिएको छ । रूपन्देहीका तिनाउ, दानव, कञ्चन, रोहिणी, कजरार, सियारी, भलुही, घाघरा, घोडाहालगायत खोलामा ३१ वटा पुल निर्माणाधीन छन् । अधिकांश पुल ठेकेदार कम्पनीको ढिलासुस्ती, डिजाइनमा कमजोरी र बजेट अभावले वर्षौंदेखि अलपत्र छन् ।

बजेटको अभावमा निर्माणमा पूरा नभएको डिभिजन सडक कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी जयसवालले ढिलो गरी बजेट विनियोजन हुने र पर्याप्त बजेट नआउँदा निर्माण कम्पनीले ढिलाइ गरेको बताए । उनले गत आर्थिक वर्ष ०७४÷७५ मा निर्माण भएका कामको १५ करोड भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । पटक–पटक म्याद थपेर भए पनि गत आर्थिक वर्ष ११ वटा पुल निर्माण पूरा हुनुपर्नेमा एउटा पनि भएको छैन ।

रुद्रपुर बनकसिया घाट जोड्ने कञ्चनीय पुलको तेस्रो पटक थपिएको म्याद ०७३ कात्तिकमा पूरा भएको छ । ०७१ असारमा पूरा गर्ने गरी बोखिम शान्ति जेभीले ०६९ मा उक्त पुलको निर्माण ठेक्का लिएको थियो । कम्पनीले ३ करोड ७५ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये २ करोड १३ लाख रूपैया भुक्तानी लगिसके पनि काम भने ५६ प्रतिशत मात्रै भएको छ ।

सम्झौता उल्लंघन गर्ने कम्पनीलाई दुई सय दिनमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जाना तिराउने नियम छ । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै उल्टै क्षतिपूर्तिसमेत लिने गरेका छन् ।

नयाँगाउँ दुर्गानगर जोड्ने पुल ०७१ असार २१ गते नै सकिनेगरी ०६९ असार २२ गते लुम्बिनी विल्डर्ससँग सम्झौता भएपनि हालसम्म ६९ प्रतिशत काम भएको छ । आयोजनाले ठेकेदार कम्पनीसँग तेस्रो पटक ०७५ मंसिर २२ मा सक्नेगरी सम्झौता गरेको छ । ६ करोड ६४ लाखको सम्झौतामा भएपनि कम्पनीले ५ करोड ६० लाख रूपैया भुक्तानी लगिसकेको छ ।

त्यसैगरी, सिसवा कोलुवा खड्वा बनगाई जोड्ने पुल ०७१ असार ३१ गते ९ करोड ६० लाखमा सम्झौता भए पनि हालसम्म ३२ प्रतिशत काम भएको छ । मृत सञ्जिवनी, देव एन्ड सायर जेभीले ठेक्का पाएको उक्त पुल निर्माण तेस्रो पटकको ०७५ असोज ७ गते नै सकिएको छ । तर, निर्माणले भने गति लिएको छैन ।

मृत सञ्जिवनी, देव एन्ड सायर जेभिले नै ठेक्का पाएको सिसई कोलुवा जोड्ने पुल ०७१ असार ३१ गते ९ करोड ६५ लिए पनि ३२ प्रतिशत मात्र काम भएको छ । तेस्रो पटक थप गरिएको म्याद असोज ७ गते सकिएको छ ।

०७२ साल साउनमा आएको बाढीले बुटवलको हात्तिसुढ देविनगर जोड्ने झोलुङगे पुल बगाएपछि निर्माण थालिएको पुल निर्माणको काम ७० प्रतिशत पूरा भएको छ । लुम्बिनी÷अरनिको÷एसियाटिक जेभीले १० करोड ४६ लाख लागतमा निर्माण सुरु गरेको कम्पनीले सम्झौताअनुसार ०७४ फागुन ६ गते सक्नुपर्ने भए पनि तेस्रो पटकको म्याद यहि फागुन ६ गतेसम्मका लागि थपिएको छ । कम्पनीले ९ करोड रूपैयाँ भुत्तानी लिइसकेको छ ।

जिल्लाकै रामापुर भुमरीमा ०७३ साल असारमा ४ करोड ९१ लाखमा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनी बाबुल निर्माण सेवाले निर्माणकार्य सम्पन्न गरेको छैन । सम्झौता अनुसार उक्त कम्पनीले ०७४ चैत १३ गते सक्नुपर्नेमा ८१ प्रतशत मात्रै काम भएको छ उसले ४ करोड ७२ लाख रूपैयाँ लगिसकेको छ ।

त्यस्तै, सियारी कम्हारियामा निर्माणधीन पुलको कामजम्मा २७ प्रतिशत सम्पन्न भएको छ । ०७३ साउन ३० गते ६ करोड ८४ लाख रूपैयाँमा सम्झौता भएको थियो । सो पुल मैनाचुली सिद्धि साई अञ्जना जेभीले ०७५ साउनमा सक्ने गरी सम्झौता गरेको थियो । डिजिभन कार्यालय उक्त कम्पनीसँग म्याद थप गरेको छैन ।

०७२-७३ को ठेक्का नंं ९२ अनुसार भलुही मदरहानी सैनिक सडकमा निर्माण थालेको पुलको काम ६८ प्रतिशत सकिएको छ । ६ करोडको लागतमा निर्माण हुँदै गरेको उक्त पुल एसियाटिक अरनिको एन्ड भिम जेभीले लिएको हो । ०७३ असारमा सम्झौता भएको उक्त पुल निर्माणको अवधि यहि साउनमा हो । काम त्यतिकै रोकिएको छ ।

एउटै कम्पनीलाई आधा दर्जन पुलको जिम्मा

अधिकांश कम्पनीले दुइदेखि पाँचवटासम्म पुल निर्माणको जिम्मा पाएका छन् । एउटै कम्पनीलाई एकभन्दा धेरै पुलको जिम्मा दिँदा पनि निर्माण प्रभावित बनेको छ । सीमित जनशक्ति र उपकरणले एकै सिजनमा धेरै ठाउँमा काम गर्दा सबै पुलको निर्माणमा ढिलाइ भएको हो ।
रूपन्देहीमा निर्माणाधीन पुलमध्ये दुईवटा निर्माण कम्पनीले १० वटाको ठेक्का पाएका छन् । मृत सञ्जिवनी निर्माण सेवा हेटौंडा र अर्घाखाँची बाबुल निर्माण सेवा सिद्धार्थनगरले ५-५ वटा पुलको ठेक्का पाएका छन् ।

बाबुलले पाँचवटा पुलमा अर्घाखाँचीसँग मिलेर ठेक्का लिए पनि दुईवटा पुलमा एक्लैले ठेक्का लिएको छ । मृत सञ्जिवनीले दुईवटा पुलमा देव एन्ड सायरसँग मिलेर ठेक्का लिएको छ । एसियाटिक, लुम्बिनी र स्वच्छन्दले अरू कम्पनीसँग मिलेर दुईभन्दा बढी पुलको ठेक्का लिएका छन् ।

निर्माणका क्रममा रहेका पुलहरू

पुर्वधार र निर्माणमा फड्को मारेको रूपन्देहीमा पुल निर्माणको काम सुस्त भए पनि ठेक्का लगाउने क्रम भने रोकिएको छैन् । सम्झौता म्याद नाघेर कतिपय पुलहरू निर्माणकै क्रममा छन् ।

दानव नदिमामा दयानगर छपिया सडकमा निर्माणाधिन पुल सम्पन्न गर्नुपर्ने समय ४ महिना बाँकी छ । निलगिरि नेसनलले ८ करोड ५० लाख रूपैयाँमा ठेक्का लिएको उक्त पुलको काम १५ प्रतिशत मात्र भएको छ । ०७३ साल असारमा सम्झौता भएर ०७५ फागुनसम्मको म्याद भए पनि समयमा मै सम्पन्न हुने देखिएको छैन । ठेकेदारले १५ प्रतिशत काम हुँदा ३ करोड ९६ लाख रूपैयाँ भुक्तानी लगिसकेको छ ।

कजरार खोलाको केराबारी भेटवार पुल पनि निर्माणको क्रममा छ । ०७३ असारमा सम्झौता भएको र असोजमा सम्पन्न गर्नुपर्ने हो । ६ करोड ६३ लाखमा मैनाचुली सिद्धि साई अञ्जना जेभीले लिएको यो पुलको ४६ प्रतिशत मात्रै काम भएको छ भने ४ करोड रूपैयाँ भुक्तानी लगिसकेको छ ।

चम्कीपुर सेमलार जोड्ने पुलको ०७३ असारमा सम्झौता भएको हो । मृत सञ्जिवनी निर्माण सेवाले ११ करोड ८३ लाखमा सम्झौता गरेको पुलको निर्माण ०७६ वैशाखमा सक्नु पर्नेमा २२ प्रतिशत मात्रै काम भएको छ ।

कञ्चन खोला सालझण्डीमा निर्माणधीन पुलको निर्माण ४८ प्रतिशत मात्रै भएको छ । बाबुल निर्माण सेवाले ०७३ असारमा सम्झौता गरी पुल निर्माण थालेको थियो । सम्झौता अनुसार पुसमा म्याद सकिए पनि काम भने तीव्र पूरा भएको छैन । ८ करोड २९ को लागतमा निर्माण सम्झौता भएको र ४ करोड रूपैयाँ भुक्तानी लगिसकेको छ ।

कञ्जन नदिस्थित गजेडी रुद्रपुर जोड्ने पुलको काम धमाधम भइरहेको छ । रायमाझि कन्ट्रक्सन प्रा.लि सामाखुसी, काठमाडौंले ६ करोड २१ लाखमा निर्माण सम्झौता भएको र माघमा सक्ने गरी तेस्रोपटक म्याद थप गरेर काम भइरहेको छ । ०७२ साउनमा सम्झौता भएर ०७३ माघमा सक्नुपर्ने भए पनि ७१ प्रतिशत मात्रै काम भएको छ ।

देवदह र तिलोत्तमा भाटा मत्रहर जोड्ने पुलको काम ४८ प्रतिशत मात्र सम्पन्न भएको छ । नार्गाजुन कन्ट्रक्सन कम्पनीले ०७३ असारमा १० करोड रूपैयाँमा सम्झौता गरेको थियो । फागुनमा सक्ने समय अवधि भए पनि काम भने आधा मात्र भएको छ । कम्पनीले ६ करोड ७४ लाख रूपैयाँ लगिसकेको छ ।

यता एक वर्षअघि सम्झौता गरेर काम सुरु गरेका पुलहरूको निर्माण प्रगति पनि सन्तोषजनक छैन । ०७४ मा सम्झौता भएका अधिकांश पुल ०७६-०७७ सम्म सकिसक्नु पर्नेमा औसतमा जम्मा ३० प्रतिशत मात्र काम भएको छ । देवदह–१० मा निर्माण थालेको पुल निर्माण ४४ प्रतिशत भएको छ । अर्घाखाची निर्माण सेवाले ०७४ जेठमा सम्झौता गरेर ०७६ जेठसम्मको समय पाएको थियो । ५ करोड ३० लाखको लागतमा यो पुलको निर्माण भइरहेको छ ।

त्यस्तै, चिलिया मैनहियामा निर्माणधीन पुलको काम ४ प्रतिशत मात्रै भएको छ । ०७४ असारमा मृत सञ्जीवनी निर्माण सेवाले ११ करोड ७० लाख रूपैयाँमा सम्झौता गरेको थियो । ०७६ फागुनमा काम सम्पन्न गर्न पर्ने भए पनि ४ प्रतिशत मात्रै काम भएको छ । उसले १ करोड ६० लाख रूपैयाँ लगिसकेको छ ।

०७६ माघमा सम्पन्न गर्ने गरी कर्साघाट सैनामैना सेमलार जोड्ने पुल निर्माणका काम जारी छ । अर्घाखाँची बुलुुबुल जेभी सिद्धार्थनगरले ०७४ असारमा सम्झौता गरी १३ करोड २८ लाखको लागतमा निर्माण सुरु गरेको यो पुलको काम १० प्रतिशत मात्रै भएको छ । कम्पनीले १ करोड ७५ लाख रूपैया लिइसकेको छ ।

तिनाउ नदिको एसआरएम लखनचोकमा निर्माणधीन पुलको काम १० प्रतिशत भएको छ । निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाले यो पुल निर्माणको ठेक्का ०७४ असारमा लिएको हो । २२ करोड ५८ लाखमा ठेक्का भएको यो पुल ०७७ पुसमा सक्नु पर्ने छ । तर काम भने १० प्रतिशत मात्रै भएको र उसले ६ करोड १७ लाख रूपैयाँ भुक्तानी लगिसकेको छ ।

दानव नदिस्थित तामनगर सेमलार जोड्ने पुल भर्खर सुरु भएको छ । ०७४ असारमा सम्झौता भएको उक्त पुलको काम अर्घाखाँची बुलबुल जेभीले पाएको छ । १६ करोड २४ लाखको लागतमा निर्माणधीन पुल ०७७ साउनमा सक्नुपर्ने छ । हाल पुलको २ प्रतिशत मात्र काम पूरा भएको छ भने १ करोड ४३ लाख रूपैयाँ लगिसकेको छ ।

रोहणी नदिस्थित निरर्चिहवा १ र २ जोड्ने पुलको काम १७ प्रतिशत मात्रै भएको छ । अर्घाखाँची बुलबुल जेभीले १७ करोड २० लाख रूपैयाँमा सम्झौता गरेको पुल ०७७ असारमा सम्पन्न हुनपर्छ । सो कम्पनीले ७ करोड रूपैयाँ भुक्तानी लगिसकेको छ ।

त्यस्तै, गौरीखोलास्थित सिसापुर भवानीपुर पुल निर्माणको काम जारी छ । प्राकृतिक जनसेवा जेभीले ०७४ असारमा सम्झौता भएका हो र उक्त पुलको काम ४९ प्रतिशत पूरा भएको छ । ५ करोड ९५ लाखको लागतमा निर्माण भइरहेको यो पुल ०७६ असारमा सक्नुपर्ने छ । ४९ प्रतिशत काम गरेको निर्माण कम्पनीले ३ करोड २५ लाख रूपैयाँ लगिसकेको छ ।

०७६ असोजमा सकिने सम्झौतासहित सिद्धार्थनगर नगरपालिका–११ सिसहवामा पुल निर्माण हुँदैछ । एसिटिक इन्जिनियरले ८ करोड ३६ लाखमा सम्झौता गरेको सो पुलको सम्झौता ०७४ असारमा भएको हो । कम्पनीले २७ प्रतिशत काम पूरा गर्दा ३ करोड ५५ लाख रूपैयाँ भुक्तानी लगिसकेको छ ।

देवदह मायादेवी पार्कमा निर्माणाधीन पुलको काम ४६ प्रतिशत सकिएको छ । लुम्बिनी प्राकृतिक जेभीले ०७४ असारमा सम्झौता गरेको थियो । ९ करोड २४ लाखको लागतमा बन्दै गरेको पुल ०७६ पुसमा सक्नुपर्ने छ । कम्पनीले ६ करोड रूपैयाँ लगिसकेको छ ।

त्यस्तै बुटवलको वडा नं. १३ र १५ जोड्ने पुलको काम २७ प्रतिशत पूरा भएको छ । शाहचन्द्रा लुम्बिनी जेभीले १२ करोड ८१ लखमा गरेको सम्झौताअनुसार ०७७ जेठमा सकिसक्नुपर्ने छ । ०७४ असारमा सम्झौता भएको उक्त पुल निर्माण कम्पनीले ३ करोड ३१ लाख रूपैयाँ लगिसकेको छ ।

सैनामैना देवपुरमा निर्माण हुँदै गरेको पुलको काम ५४ प्रतिशत भएको छ । अर्घाखाँची बुलबुल जेभीले ०७४ असारमा सम्झौता गरेको थियो । ७ करोड ९५ लाखमा बन्दै गरेको पुल ०७६ असोजमा सक्नुपर्ने छ । निर्माण ४ करोड ९६ लाख रूपैयाँ लगिसकेको छ ।

त्यसैगरी, ०७७ वैशाखमा सक्नेगरी बुटवल मैनाबगर र बुटवल ११ जोड्ने पुल निर्माणको काम भइरहेको छ । बज्रगुरु निर्माण कम्पनीले १२ करोड ६८ लाखमा सम्झौता गरेको यो पुल भर्खर मात्र सुरु भएको हो । ०७४ असारमा सम्झौता भएको यो पुलको काम १ प्रतिशत मात्र भएको छ । निर्माण कम्पनीले १ करोड १२ लाख रूपैयाँ लगिसकेको छ ।

हाटिवनगाई मर्चवारमा निर्माणाधिन पुलको काम ३३ प्रतिशत भएको छ । दिया निर्माण सेवाले ०७४ असारमा सम्झौता गरेको हो । ६ करोडमा निर्माण भइरहेको पुल ०७६ साउनमा सक्नुपर्ने छ । सो पुलको काम ३३ प्रतिशत हुँदा कम्पनीले ३ करोड रूपैयाँ लगिसकेको छ ।
त्यस्तै, तिलकपुर रामनगर जोडने पुलको काम ८ प्रतिशत मात्रै भएको छ । नार्गाजुन कन्ट्रक्सन कम्पनीले ९ करोड १३ लाखमा यहि माघमा सक्ने गरी सम्झौता गरेको थियो । तर, काम भने कछुवाको गतिमा भइरहेको छ ।

सैनामैना ११ पाल्पा सडकमा निर्माणाधीन पुलको काम ४८ प्रतिशत भएको छ । स्वच्छन्द महेश प्रदीप जेभीले ५ करोड ७९ लाख निर्माण सुरु गरेको यो पुल ०७६ चैतमा सक्नुपर्ने छ । सोको ०७४ असारमा सम्झौता गरेको हो । उसले पनि २ करोड ४० लाख रूपैयाँ लगिसकेको छ ।

प्रतिक्रिया