कांग्रेस अल्मिएकै हो त !

मुलुकमा कायम रहेको राजनीतिक चक्रब्यूहको सञ्जालबाट नेपाल तथा नेपाली जनतालाई मुक्ति दिलाउने उद्देश्ले वाम समूहसँग लोकतान्त्रिक समूहको राजनीतिक यात्रा सुरु भएको मान्न सकिन्छ । किनकी एक्लो प्रयासबाट मात्र कुनै पनि कार्य पूर्णरूपमा सफल रहन सक्दैन भन्ने भनाइलाई आत्मसाथ गर्दै प्रस्तुत सहकार्यलाई व्यवहारमा उतार्ने जमर्को गरिएको हो ।

प्रारम्भमा दुबै समूहको ऐक्यबद्धताले सहजता प्राप्ति गर्नुको साथै मुलुकको राजनीतिमा एकपछि अर्को गर्दै परिवर्तनका तस्बिरहरू स्वतःस्फूर्त रूपमा मुखरित हुँदै आएको परिणामस्वरूप सम्वद्ध वाम–लोकतान्त्रिक समूहलाई नेपालका आमजनसमुदाय देखिन लिएर उत्पीडित वर्ग एवं राजनीतिमा अभिरुची राख्ने अन्य समूहले पनि सहयोग गरेकै कारण परिवर्तनको शंखघोष सम्भव देखिएको हो ।

वाम समूहले वर्तमान नेपालको राजनीतिमा दुईतिहाई नतिजा प्राप्त गरी आफ्नो उच्च हैसियत राख्नुको साथै समस्त दक्षिण एसियालगायत विश्व जनमञ्चमा आफ्नो प्रभावशाली प्रभूत्व देखाउन सफल रहनुको प्रमुख कारक तत्वको रूपमा लोकतान्त्रिक समूहसँगको कार्यगत एकतालाई मान्न सकिन्छ । पछिल्लो चरणमा कांग्रेसको राजनीतिक यात्रालाई नियालेर अध्ययन गर्ने हो भने कार्यगत एकीकरणलाई नै महाभूलको संज्ञा दिँदा त्यति फरक नपर्ला ।

मुलुकको राजनीतिक वृत्तमा लोकतन्त्रको अर्को नाम भन्ने बित्तिकै नेपाली कांग्रेस भन्ने बुझिन्छ । लोकतन्त्रको पर्यायवाची शब्द भइकन पनि वाम समूहसँग पार्टीगत सहमतीय कार्यमा अग्रसर रहने यस तथ्यले के प्रष्ट गर्छ भने या त नेपाली कांग्रेसमा लोकतन्त्रको स्पष्ट दिग्दर्शनको अभाव रहेको छ, अथवा राजासँगको निकटताको असहजता नै कम्युनिस्टसँगको सामिप्यताको नतिजा हो भन्न सकिन्छ ।

यसका अलावा नेपाली कांग्रेसका जननायक बिपी कोइरालाको राजनीतिक ज्ञानबाट प्राप्त भएको तीतो यथार्थको उपज वाम समूहको सामिप्यताभन्दा धेरै हदसम्म राजासँगको निकटताले नै मुलुकको बृहत्तरहित गर्छ भन्ने दूरदर्शी भावलाई कांग्रेसभित्रका न्यून समुहले विवेकसम्मत ढंगले आत्मसाथ गर्न नसक्नु नै कम्युनिस्टको वाहुल्यता परिणाम हो । साथै लोकतान्त्रिक नेपाली जनसमुदायको समयको मागलाई सही ढंगबाट उचित सम्बोधन गर्न नसक्नुको अतीरिक्त आफ्नो पार्टीगत एकतालाई मूल्याकंन गर्ने कार्यमा भएको त्रुटी नै कांग्रेस पराजयको वर्तमान अवस्थासमेत हो ।

उल्लिखित तथ्यलाई राम्ररी अध्ययन गर्ने हो भने वामसमूहको वर्तमान वर्चश्वमा नेपाली कांग्रेस मूल रूपमा सहयात्री भएको मान्न सकिन्छ । यसबाट के प्रमाणित हुन्छ भने नेपाली कांग्रेसभित्र रहेको राजनीतिक निष्ठाको न्यूनतालाई कम्युनिस्ट समूहले समयसापेक्ष उपभोग गर्न सकेको सफल परिणाम वामसमूहको वर्तमान जनमतको अभिमत हो ।

यस हिसाबले हेर्दा नेपालका वामसमुहलाई एउटा प्रष्ट राजनीतिक ज्ञान के थियो भने यदि मुलुकमा यथार्थमै वामसमूहको एकाधिकार कायम राख्ने प्रयत्न गर्ने हो भने यसको मुख्य वाधक शक्ति भनेकै राजतन्त्रात्मक शासन पद्धती हो, जसलाई नेपाली जनताबाट पृथक नराखेसम्म जस्तोसुकै आन्दोलन गरेता पनि सफल नरहने निष्कर्ष निकाल्दै लोकतन्त्रमा आस्था राख्ने एवं राजापछि नेपाली जनसमाजमा अमूल्य छाप छोड्न सफल रहेको नेपाली काग्रेसलाई हात लिनु समयसापेक्ष हुनेछ । यसै तथ्यगत विशेषतालाई मनन गर्दै नेपालका वामसमूह राजनीतिको क्षेत्रमा होमिएका हुन् जसको सफल परिणाम आज मुलुकको राजनीतिमा देख्न सकिन्छ ।

यस तथ्यलाई बिपी कोइरालाले अहं रूपमा लिएकै कारण उनको जीवनकालमा खासै वाम समूहसँग सम्बन्ध विस्तार रहेको देख्न सकिन्न । तर, उनीपछिका अन्य अनुयायीहरूले विस्तृत रूपमा बिपी दर्शनलाई विश्लेषण नगरी हचुवाको भरमा अगाडि बढ्दाको परिणाम नै नेपाली कांग्रेसको वर्तमान नियती हो ।

मूलतः वाम सहकार्यको सहजीकरणका लागि ०४६ वा सो पूर्व नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह जसको सवल नेतृत्वमा नै प्रथम जनआन्दोलन ०४६ ले पूर्णता हासिल गरी संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्था नेपालमा सम्भव रह्यो । जसको श्रेय केही‡हदसम्म सहमतीय व्यवहारलाई नै जान्छ । उक्त समयमा रहेको सहकार्यको उच्चत्तम सफलताको प्रभावले अन्ततः वाम समूह भित्रभित्रै निक्कै उत्साहित एवं थप आन्दोलित रहन मुख्यतः दुई कुराले प्रभाव पारेको देख्न सकिन्छ ।

नेपाललगायत विश्व समुदायले अख्तियार गर्ने जनमत संग्रहको विधीलाई स्वीकार गर्दै सोबाट प्राप्त हुन आउने परिणाम नै वास्तविक रूपमा जनअभिमतसमेत हुने प्रक्रियागत व्यवहारलाई कतिपय संवेदनशील विषयमा समेत सम्प्रभू नेपाली जनतालाई उक्त अधिकारबाट पृथक गराउन केही हदसम्म लोकतान्त्रिक समूह मुकदर्शक भएर बसेको पाइयो

पहिलो तथ्यगत आधारको रूपमा यदि नेपाली जनमतले रुचाएको लोकतान्त्रिक समूह मानिने नेपाली कांग्रेसलाई आफ्नो साथमा लिन गराउन सकिए सत्ताको नजिक पुग्न सहज हुनेछ । दोस्रो अवस्था भनेको नेपाली भूमिबाट राजतन्त्रलाई पूर्ण रूपमा विस्थापित गर्नु छ भने पनि कांग्रेसकै सहरा लिनुबाहेक अन्यथा नरहने निष्कर्षसहित आफ्नो रणनीतिक कार्य योजनालाई सूक्ष्म रूपमा अगाडि बढाएको पाइन्छ ।

किनकी मुलुकभित्र एवं बाह्य विश्वले समेत नेपाली राजनीतिको हकमा अगुवा लोकतान्त्रिक शक्तिको रूपमा नेपाली कांग्रेसवाहेक अन्य समूहलाई सहजै विश्वास नगर्ने वातावरण देखिएकोले वामसमूह लोकतान्त्रिक समूहको सामिप्यमा रहन रुचाएको हो भन्दा त्यति अत्युक्ति नहोला । अर्को शब्दमा भन्दा वामसमूहले सत्ताको भ¥याङको रूपमा लोकतान्त्रिक समूहलाई प्रयोग गरेको तथ्य वर्तमान समयमा आएर स्वतः प्रमाणित भएको छ ।

प्रस्तुत रणनीति निरन्तर रूपमा चलिरहँदा थप मलजल गर्न नेकपा माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्ध सहायक सिद्ध भई आएको पाइन्छ । अन्ततः ०६२-६३ को संंयुक्त जनआन्दोलनको सफलता एवं विभिन्न चरण भएको सविधानसभाको निर्वाचन, आमनिर्वाचन आदि इत्यादिको आरोहअवरोहलाई चिर्दै सत्तामा पुग्न नेपालका कम्युनिस्ट समूह पूर्णरूपमा सफल भएको वर्तमान अवस्था हो । पूर्ण बहुमत सहितको वर्तमान अवस्था यसभन्दा अगाडि नेपालको राजनीतिक इतिहासमा कहिल्यै पनि नदेखिएको हुँदा यसलाई वामसमूहको उत्तम समय वा स्वर्णयुग मान्न सकिन्छ ।

तत्पश्चात लोकतान्त्रिक समूहसँगको हालसम्म कायम रहँदै आएको सहसम्बन्धलाई पृथक राख्दै आफ्नो सगोत्री समूहसँग एकताबद्ध रहने प्रयास स्वरूप नेकपा एमाले एवं नेकपा माओवादीबीच गोलवद्ध हुँदै वर्तमान एकता सम्भव भएको हो ।

यदि नेपाली कांग्रेसले आफ्नो लोकतान्त्रिक छविलाई नधमिल्याएको भए न त मुलुकको राष्ट्रिय राजनीतिमा कम्युनिस्ट समूहको वर्चश्व कायम हुने थियो । न त कांगे्रस समूहले लज्जास्पद पराजयको सामना भोग्नुपर्ने नै थियो । यस विषम परिवेशलाई तहगत आधारमा मूल्याकंन गर्दै जाँदा के निष्कर्षमा पुग्न सकिन्छ भने तत्कालीन समयमा वामसमूहसँगको कार्यगत एकताको महाभूलको परिणाम नेपाली कांग्रेसको वर्तमान पराजयको परिणितिसमेत हो ।

किनकी राजासँगको सम्बन्ध चिसिएर राजालाई कमजोर देखाउन मात्र वामसमूहसँग कार्यगत एकता सम्भव भएको हो । अन्यथा कुनै पनि हालतमा नेपाली कांग्रेसले राजासँगको सम्बन्धलाई सहजै कमजोर बनाउने खेलमा कदापि पनि लाग्न सक्दैनथ्यो भनि ठोकुवा गर्न सकिन्छ

। प्रस्तुत विषयमा कतिपय कांग्रेसी नेतागणको विमति रहँदै आएको इतिहास साक्षी छ । एवं प्रकारले मुलुकमा चलेको १० वर्षे हिंसात्मक राजनीतिक द्वन्द्वको प्रभावमा परी नेपाली जनताले आफ्नो विवेकसम्मत नीति अख्तियार गर्ने विश्वको सर्वमान्य लोकतान्त्रिक पद्धतीको आधारस्तम्भ मानिँदै आएको जनमत संग्रहको उपभोग कतिपय अवस्थामा गर्नसमेत पाएनन् ।

नेपाललगायत विश्व समुदायले अख्तियार गर्ने जनमत संग्रहको विधीलाई स्वीकार गर्दै सोबाट प्राप्त हुन आउने परिणाम नै वास्तविक रूपमा जनअभिमतसमेत हुने प्रक्रियागत व्यवहारलाई कतिपय संवेदनशील विषयमा समेत सम्प्रभू नेपाली जनतालाई उक्त अधिकारबाट पृथक गराउन केही हदसम्म लोकतान्त्रिक समूह मुकदर्शक भएर बसेको पाइयो । जसले गर्दा लोकतान्त्रिक समूह पछाडि पर्न वाध्य भए ।

इतिहासको विभिन्न कालखण्डमा जानी–नजानी गरिएका राजनीतिक महाभूल नै लोकतान्त्रिक समूहको पराजय एवं वामसमूहको उल्लेख्य सफलताको प्रमुख कारक तत्व मान्न सकिन्छ । यी सम्पूर्ण गतिविधिलाई केलाएर अध्ययन गर्दा नेपाली कांग्रेसले आफ्नो लोकतन्त्रको भूमिकालाई सहज रूपले जनमानसमा प्रतिस्थापन गर्न नसक्नु तथा आफ्नै समूहभित्र पनि सत्ता प्राप्तिको लागि खेलिने फोहरी राजनीतिक खेलले आज तमाम लोकतान्त्रिक समूहमा अन्योलको परिस्थिति उत्पन्न भई चिन्तित रहनुपरेको छ ।

तसर्थ, दुईतिहाइको दम्भ वर्तमान वाम समूहले देखाए त्यसको परिणाम नेपाली कांग्रेसको वर्तमान अवस्थासरह हुने निश्चित छ । किनकी यस्तै प्रकारको दम्भ विगतमा काग्रेसी समूहमा रहेकै कारण नेपालको वर्तमान राजनीतिमा उक्तसमूह प्रतिपक्षमा रहन बाध्य हुनुपरेको छ ।

प्रतिक्रिया