सन् २०११ मा सगरमाथा चढ्न आएका विदेशी पर्वतारोहीबाट नेपाल सरकारले रोयल्टी वापत् मात्रै १६ करोड ४४ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । अन्य मजदुर-मानिसहरूले कमाएको ज्याला रकमको अलग्गै हिसाब छँदै छ । यसरी हेर्दा सगरमाथा नेपालीहरूका लागि केवल गौरवको विषय मात्रै नभएर आर्थिक उपार्जन वा आम्दानीको राम्रो स्रोत पनि भएको छ ।
आजभन्दा लगभग ६४-६५ वर्षअघि सन् १९५३, मे २९ का दिन संसारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा दुई मानवले पाइला राख्न सफल भएका थिए । ती दुई मानवमध्ये एक नेपालका तेन्जिङ नोर्गे शेर्पा थिए भने अर्का थिए, न्युजिल्यान्डका सर एडमन्डल पर्सिभल हिलारी ।
यसरी विश्व पर्वतारोहण पर्यटनको इतिहासमा संसारकै अग्लो (समुन्द्र सतहदेखि नाप्दा ८,८४८ मिटर अग्लो) हिम शिखर सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा मानव पाइला राखेर संसारभरि सगरमाथा र आफ्नो नाम फैलाउनमा यी दुई मानवको महत्वपूर्ण योगदान रहेको छ । साथसाथै उनीहरूले विश्वमा नेपालको गौरव पनि बढाएका थिए । भलै यी दुवै साहसी मानवहरू हामीमाझ छैनन् ।
हुन त त्यो वेला सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा प्रथम मानव पाइला राख्ने होडमा विश्वका एक सय एक पर्वतारोहीहरूले प्रयास गरिरहेका थिए । खासगरी, पश्चिमा देशका कैयौँ पर्वतारोहीहरूले लामो समयदेखि प्रयास गरेका थिए । यसै क्रममा बेलायती पर्वतारोहीहरूले प्रथमपटक सन् १९२१ मा सगरमाथा अर्थात् चोमोलुङ्माको शिरमा मानव पाइला राखेरै छाड्ने दृढताका साथ कर्णेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा प्रथम टोली सगरमाथा अर्थात् चोमोलुङ्मातर्फ गएको थियो ।
तर, उनीहरू सफल भएनन् । उल्टै उनीहरूको टोलीमा सदस्य रहेका डाक्टर एएम कल्लसले सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्ने क्रममा ज्यान गुमाउने प्रथम आरोहीको नाम दर्ज गर्न बाध्य भए । यसबीचमा पनि सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्ने अनेकौँ प्रयासहरू भए ।
तर, अन्य कुनै देशका पर्वतारोही टोली भने पनि सफल भएनन् । अन्ततः सन् १९५३, मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा प्रथम मानव पाइला राख्न सफल भए । भनिन्छ, उनीहरूले पाएको यो सफलताले त्यो वेलाको सञ्चार माध्यममा संसारभर कहिल्यै सूर्यस्त नहुने देश बेलायतकी महारानीको राज्यभिषेकले भन्दा पनि बढी स्थान पाएको थियो ।
जे होस्, आजको दिनसम्म आइपुग्दा पर्वतारोहण क्षेत्रमा लागेका विश्वका नामी पर्वतारोहीहरू लागि मात्रै नभएर सर्वसाधारणका लागि पनि सगरमाथा अर्थात् चोमोलुङ्मा नौलो नाम रहेन । न त रहस्यको विषय नै रह्यो । अब त सगरमाथा अर्थात् चोमोलुङ्माको नाम नसुन्ने मान्छे पनि विश्वमा कमै होलान् ? हुन त सगरमाथाको नामको सन्दर्भमा भन्नुपर्दा सगरमाथालाई विदेशीहरूले ‘सगरमाथा’ भन्दा पनि ‘माउन्ट एभरेस्ट’ नामले बढी चिन्छन् भने नेपालका स्थानीय आदिवासी जनजातिहरू र चिनियाँ-तिब्बतीहरू ‘चोमोलुङ्मा’-झोमोलुङ्मा’ नामले बढी चिन्छन् भन्ने वास्तविक कुरोलाई तत्कालीन श्री ५ को सरकार र हालको नेपाल सरकार, नेपाली मिडिया, नेपालका बुद्घिजीवीलगायतले पनि स्वीकार गर्न सकेको देखिँदैन ।
बरू उनीहरू अझै पनि ‘चोमोलुङ्मा’÷झोमोलुङमा’ भनेको त चिनियाँ भाषाको नाम होइन र ? भनी उल्टो प्रश्न गर्छन् । खासगरी आदि अनादि कालदेखि उक्त क्षेत्रमा बस्दै आएका कुलुङ, खालिङ, शेर्पालगायत स्थानीय आदिवासी जनजातिले सगरमाथाभन्दा पनि ‘चोमोलुङ्मा’ भनेरै चिन्छन् । हुन त पहिले पहिले विदेशीले सगरमाथाको बारेमा लेखेका किताबहरूमा एभरेस्टपछि सगरमाथाको सट्टा ‘चोमोलुङ्मा’-झोमोलुङ्मा’ नाम नै बढी प्रयोग गरेका÷लेखेका छन् भने अहिले पनि वास्तविकता बुझेका र वास्तविकता स्वीकार गर्ने स्वदेशी-विदेशी लेखहरूले सगरमाथा अर्थात् चोमोलुङ्माबारे लेख लेख्दा, किताब लेख्दा, सगरमाथा नामलाई भन्दा चोमोलुङ्मा नामलाई नै प्राथमिकता दिएर लेख्ने गरेका छन् ।
हालसालै एक लेखक तथा एक पत्रकारले एभरेस्टभन्दा सगरमाथा वा चोमोलुङमा भनिनुपर्ने आशयको लेख तथा आवरणमा कथा लेखेका थिए । तर, यो पंक्तिकारले लगभग १२-१३ वर्ष अघिदेखि (प्रकाश राई “दीनदुःखी” नामबाट लेख्दादेखि) एभरेस्ट र सगरमाथाभन्दा पनि चोमोलुङ्मा नामलाई नै पुनः स्थापित गर्नुपर्ने भनी लेख्दै आएको हो-छ ।
जे होस्, सगरमाथा अर्थात् ‘चोमोलुङमा’÷झोमोलुङमा’ नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी, होटल सञ्चालक, पर्यटन मजदुर खासगरी क्लाइबिङ शेर्पा, आइसफल डाक्टर, सरकारी सम्पर्क अधिकृत, भान्से, भरिया, स्थानीय याक÷जोप्क्यो धनीहरू र अन्य सहयोगीहरूका लागि आर्थिक उपार्जन वा आम्दानीको निकै राम्रो स्रोत भएको छ भन्दा पनि फरक पर्दैन । त्यसो त सन् २०११ मा सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्न आएका विदेशी पर्वतारोहीबाट नेपाल सरकार, पर्यटन मन्त्रालयले मात्रै सगरमाथा आरोहण गरे वापत् पर्वतारोहीले तिरेको सलामी रकम अर्थात् रोयल्टी वापत् मात्रै १६ करोड ४४ लाख रुपयाँ खुद आम्दानी गरेको थियो ।
माथि उल्लेखित अन्य मजदुर÷मानिसहरूले कमाएको ज्याला रकमको अलग्गै हिसाब छँदै छ । यसरी हेर्दा सगरमाथा नेपालीहरूका लागि केवल गौरवको विषय मात्रै नभएर आर्थिक उपार्जन वा आम्दानीको राम्रो स्रोत पनि भएको छ भन्दा दुई मत नहोला । तापनि, सगरमाथासम्बन्धी विषय विज्ञहरूका साथै अभियन्ताहरू सगरमाथाको भविष्यप्रति चिन्तित छन् ।
खासगरी वातावरणविद्हरू भन्छन्, अब सगरमाथालाई केही समय आराम गर्न दिऊँ । खासगरी, सगरमाथामाथि प्रथम मानव विजय प्राप्त गर्ने दुई मध्ये एक स्वर्गीय एडमन्ड हिलारीले यस विषयमा निकै जोड गरेका थिए । त्यसैले पैसालाई भन्दा पनि सगरमाथाको सुन्दरता र यसको दिगोपना अनि भविष्यलाई ध्यानमा राखेर निश्चित समयसम्म निश्चित संख्यामा मात्रै पर्वतारोहीहरूलाई सगरमाथा चढ्न अनुमति दिने हो कि ? भन्नेतर्फ सोच्न भने हामीले अझै पनि ढिला गर्न हुँदैन ।
निश्चय नै हिलारीले भनेझैँ पूरै प्रतिबन्ध लगाउन भने हामीले आर्थिकलगायत अरू विभिन्न कुराले सक्दैनौँ । तर, पनि जसरी सन् २०१५ को वसन्त ऋतु (स्प्रिङ सिजन) मा सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्न गएका पर्वतारोहीहरूले प्राकृतिक विपत्तिका कारण बीचैमा आरोहण त्यागेर फर्कनु परेको थियो, त्यही कारणले फेरि फेरि पनि उनीहरू त्यसरी नफर्किऊन् भन्नेतर्फ भने हामीले सचेतना अपनाउन ढिला गर्नु हुँदैन । त्यस्तै, सगरमाथा अर्थात् चोमोलुङ्मा चढेवापत् पर्वतारोहीहरूले तिरेको सलामी दस्तुरको पनि न्यायोचित वितरण भइरहेको देखिँदैन । त्यही थोरै रकम पनि सगरमाथा अर्थात् चोमोलुङ्मा आसपासका गाविसहरू (हाल गापा) जस्तैः खुम्जुङ, नाम्चे, चौँरीखर्क छेस्खाम, बुङ, गुदेल, जुभिङ, आदि गाउँपालिकामा नगएर केन्द्रीय तह र जिल्ला तहका नेताहरूको प्रभाव र निर्देशनअनुसार जथाभावी वितरण हुने गरेको छ ।
हुन त नेपाल सरकारले सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्दा लाग्ने सलामी दस्तुरमा पहिलेको तुलनामा भारी कटौती गरेकोले पर्वतारोहीको चाप घट्ने होइन, बढ्ने क्रममा छ । भविष्यमा गएर सगरमाथा अर्थात् चोमोलुङ्मा अस्तित्वमा नै रहेन भने नेपाल र नेपालीले मात्रै नभएर विश्वकै पर्वत र पर्वतारोहण प्रेमीहरूले के माथि गौरव गर्ने ? त्यस्तै, सगरमाथा अर्थात् चोमोलुङ्मा चढेवापत् पर्वतारोहीहरूले तिरेको सलामी दस्तुरको पनि न्यायोचित वितरण भइरहेको देखिँदैन ।
केही वर्षअघिदेखि मात्रै सरकारले सगरमाथा चढेवापत् पर्वतारोहीबाट उठेको रमकमध्ये निश्चित प्रतिशत रकम सोलुखुम्बु जिल्ला विकास समितिमार्फत जिल्लामा जाने गरेको भए तापनि उक्त रकम नगन्य छ । त्यही थोरै रकम पनि सगरमाथा अर्थात् चोमोलुङ्मा आसपासका गाविसहरू जस्तैः खुम्जुङ, नाम्चे, चौँरीखर्क छेस्खाम, बुङ, गुदेल आदि गाउँपालिकाहरूमा नगएर केन्द्रीय र जिल्लाका नेताहरूको प्रभाव र निर्देशनअनुसार जथाभावी वितरण हुने गरेको छ ।
प्रतिक्रिया