दोषी शिक्षक !

फूलबारीको फूल रक्षक माली हो शिक्षक
गाउँ, समाज, राष्ट्र बोक्ने थाली हो शिक्षक ।

युग हाँक्ने विश्वास पात्र भरोसाको खम्बा
अबोध ती बालकको लाली हो शिक्षक ।

ज्ञान, सीप, कलाबाट आफू पोखिएर
सभ्यतालाई जोगाउने आली हो शिक्षक ।

डाक्टर, पाइलट, मन्त्रीहरू जो–जो बने पनि
सबैभन्दा बढी शक्तिशाली हो शिक्षक ।

सेकेन्ड, मिनेट, घण्टासँगै दौडिरहे पनि
सजिलो छ सबैले गर्ने गाली हो शिक्षक ।

शिक्षकप्रति गरिएको नकारात्मक टिप्पणी, शिक्षकलाई गरिने गालीबाट दिक्क छिन् भोजपुरको राधाकृष्ण माविका अंग्रेजी शिक्षक सीता तिवारी । ०७१ सालदेखि शिक्षण पेसामा आबद्ध उनी भोजपुरको तिवारी भञ्ज्याङमा बस्छिन्। शिक्षककै कारण विभिन्न पेसाका लागि योग्य भए पनि शिक्षकप्रति हेरिएको नजर, शिक्षकलाई गरिएको व्यवहारले राम्रो गरिरहेका शिक्षकलाई नराम्रो हुने उनको अनुभव छ ।

सोही अनुभवका आधारमा उनले शिक्षकलाई नै केन्द्रमा राखी गजल रचना गरेकी छन् । त्यो गजलले पनि शिक्षकप्रति समाजको दृष्टिकोण कस्तो छ ? भन्ने देखाएको प्रष्ट हुन्छ । ०७३ सालमा गरिएको एक सर्वेक्षणमा प्रश्न थियो, ‘तपाईं सबैभन्दा बढी कुन संस्था वा व्यक्तिका कुरा पत्याउनुहुन्छ ?’

सो सर्वेक्षणले परिवारजन, स्थानीय बूढापाकापछि शिक्षक नै सबैभन्दा बढी रोजाइमा परेका थिए । यसरी पेसागत रूपमा शिक्षक नै रोजाइमा परे पनि तिनै शिक्षकहरूले आफ्नो सीप देखाउने स्थल, विद्यालयप्रतिको विश्वासमा भने क्रमशः ह्रास आइरहेको छ ।

यो क्रम त्यो सर्वेक्षणपछि मात्र ऋणात्मक भएको होइन, यो क्रम ४० को दशकदेखि नै ऋणात्मक भइरहेको देखिन्छ । यसो हुनुमा रोजाइमा परेका शिक्षकहरू जिम्मेवार छन् कि ? हाम्रो शिक्षा प्रणाली वा प्रणालीलाई डोर्याउने सरकार ? भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगुको साङदहस्थित चाँगु प्रावि (हाल आधारभूत), जहाँ शिक्षक पाँच जना छन् ।

तर, विद्यार्थी छैनन्) त्यहाँका सहायक प्रधानाध्यापक दीपक थापा भन्छन्, ‘यसमा शिक्षकको के दोष दोष त सरकारकै छ।’ उनको आँखाले सरकार वा व्यवस्थालाई दोषी देखेको छ तर समाज, समुदाय, अभिभावक, नागरिक अगुवा, राजनीतिक दल, र शिक्षाविद् भने तिनै शिक्षकलाई दोषी बनाएर कठघरामा उभ्याइरहेको छ ।

नढाँटी भन्नुपर्दा, शिक्षकलाई नै बढी दोषी ठहर्याइन्छ, विभिन्न आरोप लगाइन्छ । उनीहरूमाथि लाग्ने गरेका अनेकौँ आरोपहरू मध्ये ‘शिक्षकहरू पढ्दैनन्’, ‘समयमा स्कुल आउँदैनन् समयसम्म बस्दैनन्’, ‘अल्छी छन्’, ‘राजनीति बढी गर्छन्’, ‘जागिरे प्रवृत्तिका बढी भए’ आदि÷इत्यादि बढी सतहमा आउने गरेका छन् ।

‘केही’ शिक्षकहरूका कारण ‘अधिकांश’ शिक्षकहरूसमेत यसको सिकारमा परिरहेका छन् । यसले ‘केही’ राम्रो गरिरहेका शिक्षकहरूसमेत निराश र दिक्क छन् । ‘जो पनि आउँछन्, शिक्षकलाई नै दोषी देख्छन्’ भनी गुनासो गर्छन्, काम गर्न पनि मन नलागेको अनुभव सुनाउँछन्।

यस्तो अवस्थाबाट गुज्रिरहेको हाम्रो वर्तमान शिक्षाको परिदृश्य हेर्दा मनमा प्रश्न उठ्छ, ‘के शिक्षक मात्रै दोषी छन् त ?’ वास्तवमा शिक्षक पेसा सबै पेसाको जननी हो, यसैले, शिक्षकप्रति धेरैले धेरै कुरा अपेक्षा गरिरहेका हुन्छन्, त्यो अपेक्षा पूरा नभएपछि त्यसको दोषको भारी शिक्षकले नै बोक्नुपर्ने अवस्था आएकोमा दुइमत देखिँदैन ।

देशका लागि चाहिने कर्णधार निर्माण गर्नेदेखि लिएर समाज परिवर्तन गर्ने व्यक्ति पनि शिक्षक नै भएकोमा कुनै सन्देह छैन। यस्तो पवित्र र महान् पेसा शिक्षकमाथि विभिन्न प्रश्न उठ्नुमा सबैमा शिक्षकबाटै सबथोक हुन्छ भन्ने सोच बढी जिम्मेवार छ । फलस्वरूप आफूले भनेजस्तो नभएपछि हामी आरोप–प्रत्यारोपमा लागि नै हाल्छौँ । त्यो मानवीय स्वभावमध्येको एक हो ।

त्यही स्वभाव अहिले समाजमा देखिरहेको छ र शिक्षकलाई मान्दामान्दै पनि व्यवहारले भने उनीहरूप्रति दोस्रो दर्जाको नागरिकलाई झैँ गरिँदै छ । यति भन्दैमा शिक्षक पेसाप्रति आलोचना गर्न नहुने भन्ने चाहिँ होइन । शिक्षक पेसा, पेसामध्येमा उत्कृष्ट भए पनि शिक्षामा सगरमाथा बनिरहेको ह्रासोन्मुख गुणस्तरको विषय निकै गम्भीर र जटिल छ ।

शिक्षा दिने शिक्षकले नै हो, शिक्षकले राम्रो दिएको खण्डमा मात्र राम्रो नतिजा आउनु स्वभाविक हो भन्ने मान्यता गलत भइसकेको छैन । यसैले शिक्षकलाई सबैले नजर लगाइरहेको हुन्छ, जो बढी नजरमा पर्छ, उनकै बढी खोट देखिनु स्वभाविक हो भन्ने अर्थलाई शिक्षकहरूले पनि बुझ्न जरुरी छ ।

नेपालको सार्वजनिक शिक्षाको स्तर झन् खस्किँदै छ, यसमा को बढी दोषी छ ? त्यो अध्ययन र अनुसन्धानकै विषय पनि हो। तर, शिक्षक नै समाजको सबैभन्दा बढी निगरानीमा पर्ने पेसा भएकाले पनि शिक्षकहरूप्रति यति धेरै टिप्पणीहरू आएका हुन् भन्न सकिन्छ । अब शिक्षक टिप्पणी, गुनासा, सुझावहरूदेखि नतर्सिकन अघि बढ्नुपर्छ ।

त्यो वातावरण बनाउने काममा स्थानीय तहदेखि शिक्षा मन्त्रालयसम्मले ध्यान दिनुपर्छ । शिक्षकहरूलाई खेदेर सार्वजनिक शिक्षाको स्तरमाथि उठ्न सक्तैन भन्ने कुरा मनन् गर्नु जरुरी छ । यसका लागि अबको स्थानीय तहदेखि नै शिक्षकका वास्तविक समस्या कोट्याउने र सोहीअनुसारको नीति बनाउन पहल गर्न जरुरी छ ।

प्रतिक्रिया