ओलीका अरिंगाल, घरमाहुरी र भिरमाहुरी

बाढी र वर्खाबाट जनता जेनतेन बाँचेर चाडबाडको तरखरमा लागेका वेला प्रधानमन्त्रीले अरिंगाल बन्न आदेश दिएको एक साता नपुग्दै माहुरी बन्न सुझाव दिए जनताले फेरि मनभरी लुकाएर दसैँका लागि राखेको हाँसो सोह्र श्राद्ध सुरु नभई नै सडकमा फाल्नु पर्यो दसैँका लागि साँचेको हाँसोसमेत सकियो ।

केही दिन पहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई अरिंगाल बन्न आग्रह गरे । सामाजिक सञ्जालदेखि विपक्षी दलहरूले विरोध जनाएपछि माहुरी बन्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई माहुरी बन्न आग्रह गरे पनि घारमाहुरी कि भिरमाहुरी भने छुट्याएनन् । मिहिनेत र मिलनसारको दृष्टिले भनेको हो भने अरिंगाल पनि आपसमा मिलेरै बसेका हुन्छन् ।

मिहिनेत अरिंगालको जत्तिको अरू कसैले गर्न सक्दैनन् होला । मिहिनेतैले कत्रो ठूलो घर बनाउँछन् अरिंगाल । आफ्ना खुट्टामा गोबर लगेर ठुल्ठूला भिरदेखि रुखका हाँगामा अरिंगालले आफूले बस्ने ठूलै घर बनाएका हुन्छन् ।

कुनै एकले यो बस्ने गोलालाई चलायो भने सयौँलाई टोक्छन् र कतिको त ज्यान पनि गएको हामीले सुनेका छौँ । माहुरी पनि मिहिनेती त हुन्छन् नै यसको मह औषधी र धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । तर, माहुरीका पनि धेरै प्रकार हुन्छन् ।

गाउँघरतिर हामीले भन्ने गरेको एक खालको माहुरी भयो, जंगलमा वा भिरमा बस्ने हुनाले भिरमाहुरी नाम रह्यो अनि अर्को माहुरी हामीले देखेका थियौँ, हाम्रा गाउँघरतिर यसलाई कठिउरा भन्ने गर्थे ।

यो माहुरीको जात नै सानो, थोरैको समूहमा बस्ने, सानो झ्याङमुनि आफ्नो बस्ने ठाउँ बनाउने, मह भने अति नै उत्तम मानिन्थ्यो । गाँउघरतिर कोही बालबच्चालाई कुनै प्रकारको ज्वरो आयो भने कठिउराको महको खोजी गरिन्थ्यो । अहिले नेपालको कम्युनिस्ट राजनीतिमा नेकपा माओवादी झर्राे कठिउरा बन्न खोज्दै छ ।

माहुरीमा कठिउरा अथवा झिंगे माहुरी औषधीको दृष्टिले राम्रो मानिन्छ । हाम्रा प्रधानमन्त्रीले पनि आफ्ना कार्यकर्तालाई कठिउरा बन्न आग्रह गरेको हुनुपर्छ । अरिंगालबाट कठिउरा बन्न आग्रह गरेको भए प्रधानमन्त्रीले कठिउराजस्तै सानो जात र सानो समूह चलाउन खोज्दै छन् यो कठिउरा इख नभएको माहुरी भएकाले झर्रो कम्युनिस्टलाई कठिउरे माहुरी बन्न सुहाउँदैन ।
हुन त, राजनीतिमा न त अरिंगाल बन्न सजिलो छ न त माहुरी नै बन्न सजिलो छ । यो अरिंगाल र माहुरी एक आपसमा मिल्ने जात पनि त होइनन् । माहुरी नै बन्यो भने व्यासाको डर पनि हुन्छ । हाम्रोतिर यसलाई मलसाप्रो भन्ने गर्दछन् । यो मलसाप्रोले माहुरीको घार उघारी सबै माहुरीलाई एकै गास गरेको हामीले नै देखेका भोगेका छौँ ।

यसबाट बच्ने उपाय पनि हामीसँग नभएको भने होइन । माहुरीको घार वरिपरि राम्रोसँग सुरक्षा गर्ने र हाम्रोतिर त अझ ऐँसेलुको हाँगा काटेर बार लगायो भने मलसाप्राले माहुरीलाई खान सक्दैन भन्ने गर्थे र हामी ऐँसेलुको बार लगाउँथ्याै‌ं । कम्युनिस्ट सरकारले व्यासाहरूबाट माहुरी र अरिंगाल बचाउन ऐँसेलुको बार लगाउन सक्नुपर्छ ।

त्यो बार पहिले जातियताका नाममा भएका आन्दोलनको उन्मूलनसँगै सिके राउतको आन्दोलनलाई साम्य पार्न सक्नु नै हो । तर, यो त्यति सहज भने देखिँदैन । हाम्रा प्रधानमन्त्रीले माहुरी, अरिंगाल बन्न आदेशात्मक वाणी धाराप्रवाह गर्दा भर्खर एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टीमा पनि गुट उपगुटको छनक भने नदेखिएको होइन ।

गुट उपगुटबाट जोगाउन आफ्नो पार्टीलाई ऐँसेलुको बार लगाउन आवश्यक देखिन्छ । त्यसैले, पार्टीभित्र कुनै एउटा पक्षमाथि आक्रमण हुँदा अर्को पक्ष रमाउने गरेको स्थितिप्रति आक्रामक हुँदै उनले दलकै कमरेडहरूलाई नै भनेका हुन्, अरिंगालको जति पनि बुद्धि छैन ? तर, अरिंगाल बन्नु सजिलो रहेनछ ।

दलभित्रैबाट अरिंगाल चिन्तनमाथि प्रश्न उठ्यो । आफ्ना कार्यकर्तालाई जतिसुकै अर्ती उपदेश दिए पनि प्रधानमन्त्री आफू भने हाँसोका पात्र बनेको कुरा भुली सकेका छन् । पधानमन्त्री हुनुभन्दा पहिले नै चुनावी तालमेलमा जाँदा भनेका थिए घर घरमा पाइपबाट ग्यास पुर्याइनेछ । प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पुर्याइदिने गफ दिए ।

मान्छे हाँसेनन् मात्र ओलीको ग्यास भन्न पनि पछि परेनन् । डेढ वर्षपछि गोबरग्याँस उद्घाटन गर्दै उनले घरघरमा ग्याँस पुर्याउने काम सुरु भएको भाषण गरे । उद्घाटन गरेको एक सातामै गोबर ग्यास पनि बिग्रेर बन्द भयो । मान्छे झन् धेरै हाँसे । आखिर चुलोचौकामा पाइपबाट पुर्याउने भनेको गोबर ग्याँस थियो कि पेट्रोलियम ग्यास ?

चुनावका वेला माहुरी बन्ने छनक देखाएका प्रधानमन्त्री ओलीले डेढ वर्षपछि गोबरग्यास उद्घाटन गरेर भिर माहुरीको भूमिका खेले । जस्तो कि वर्खालाग्दा गुफामा हिउँद लाग्दाबाहिर निस्कने भिरमाहुरीजस्तै नियत देखाए गोबरग्यास उद्घाटन गरेर । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिएर उनले रेल र पानीजहाजको गफ छाँटे  ।

जनता फेरि एकपटक हाँसे । हुँदाहुँदा देशमा बाढीका समाचार आइरहेको वेला राजधानी काठमाडौं नै डुब्यो जनताले सामाजिक सञ्जालमा कागजको पानीजहाज बनाएर प्रधानमन्त्रीलाई नै काटुन बनाए । संसद्मा पनि यो काटुनको विरोध भयो अब उपरान्त प्रधानमन्त्रीको काटुन बनाउन नपाउने नियम नै पारित गराउनपछि परेन सरकार ।

सांसद महेश बस्नेत त संसद्मै गर्जिएका थिए । बाढी र वर्खाबाट जनता जेनतेन बाँचेर चाडबाडको तरखरमा लागेका वेला प्रधानमन्त्रीले अरिंगाल बन्न आदेश दिएको एक साता नपुग्दै माहुरी बन्न सुझाव दिए जनताले फेरि मनभरि लुकाएर दसैँका लागि राखेको हाँसो सोह्र श्राद्ध सुरु हुन नपाउँदै सडकमा फाल्नु पर्यो, दसैँका लागि साँचेको हाँसोसमेत सकियो ।

माथि उल्लेखित गरेअनुसार राजनीतिमा नत अरिंगाल बन्न सजिलो छ न त माहुरी बन्न नै सजिलो छ । प्रधानमन्त्रीले जतिसुकै अर्ती उपदेश दिए पनि अरिंगालको आक्रामक शैली पनि सिके राउतले देखाई दिए । माहुरीको मिलनसार शैली अपनाएर नै कञ्चनपुरमा निर्मला पन्तले न्याय पाइनन् ।

रहेको त्यो भिरमाहुरी र कठिउराले प्रधानमन्त्रीको सपना साकार गर्छ त ? भन्ने प्रश्न जनतामा यत्रतत्र फैलिएको छ ।निर्वाचनपछि एकीकरण भएको पार्टीको स्थायी समितिको बैठकसम्म बस्न नसक्नुले पनि प्रधानमन्त्रीले माहुरी बन्न आग्रह गरेको हुनुपर्छ । देशमा शान्ति सुरक्षाको अवस्था दिनानुदिन खस्किँदै गएको छ ।

जनतालाई शान्ति सुरक्षा दिन सरकार असफल नै भएको मानिन्छ । सुदूरपश्चिममा मात्र एक महिनाको अवधिमा २९ वटा बलात्कारका घटना भएका छन् । अपराधीलाई कारबाहीको दायरामा ल्याउन सरकारले सकेको छैन । विखण्डनकारीको बिल्ला भिरेका सिके राउतले प्रहरी प्रशासनको आँखा छलेर बीच चउरमा भाषण गर्छन् ।

सिके राउतका कार्यकर्ताले मधेस ‘इज नट नेपाल’ मधेस एसियाको नयाँ देश हो, लेखिएका प्लेकार्ड बोकेर हजारौँको संख्यामा जनकपुरमा ¥याली गर्छन् र प्रहरीको खोजीमा रहेका सिके राउत प्रहरीकै अगाडि भाषण गरेर कुलेलम ठोक्छन् ।

आफ्ना कार्यकर्तालाई कहिले अरिंगाल त कहिले माहुरी बन्न आदेश दिने प्रधानमन्त्रीले प्रहरी प्रशासनलाई सिके राउतलाई पक्राउ गरी देश विकण्डन गर्छु भन्नेलाई कारबाहीको दायरामा ल्याउन भन्ने आदेश दिन सक्दैनन् । प्रदेश–२ का मन्त्रीहरूले संविधान दिवसका दिन शुभकामनासमेत दिँदैनन् ।

जुन संविधानमा शपथ खाएर मन्त्री बनेका थिए उसै संविधानलाई मान्दैनाैँ भन्दै कालो दिवस मनाउनु प्रदेश सरकारले केन्द्र सरकारसँग अरिंगाल बन्न खोजेको हो कि माहुरी ? लज्जास्पद विषय बनेको छ ।

जनताले सुखको अनुभूति नपाएको वेला श्री ३ राणा प्रधानमन्त्रीले झैँ रवाफ झार्दै प्रधानमन्त्री बालुवाटारमा आफ्नो जन्मदिनमा दर्जनौँ केक मात्र काट्दैनन् ओली वंशावली तथा तिज कार्यक्रममा आफ्ना शाखा सन्तानलाई बालुवाटरमै भोज गर्छन्  ।

सरकारको सबैभन्दा नाङ्गो खेल देखियो निर्मला हत्याकाण्डमा । निर्मला हत्या काण्डमा ओली सरकार न त अरिंगाल बन्यो नत माहुरी । ०३८ सालको ‘नमिता–सुनिता’ काण्ड झल्झली सम्झाउने गरी यो हत्याकाण्डलाई सरकारले गुमराहमा राखेको दुई महिना बित्यो  ।

‘नमिता–सुनिता’ काण्डले भित्रभित्रै तत्कालीन दरबार र पञ्चायतको चरित्र उदाङ्गो पारिदिएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धान केलाउँदै जाँदा ओली सरकारको चरित्र उसैगरी उदाङ्गो हुँदै छ । ओली सरकार माहुरी होइनन्, यो घटनामा त जनता ओली सरकारप्रति अरिंगाल भएका छन् ।

आफ्ना कार्यकर्तालाई मात्र माहुरी बन्न अर्ती उपदेश दिएका ओलीले जनताप्रति भने माहुरीको व्यवहार गर्न सकेनन् ।अदालतले पटकपटक रिहा गरिदिएका एक राजनीतिक कार्यकर्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई अदालत परिसरबाटै पक्राउ गरेर बहादुरी देखायो वा अरिंगाल भएको दम्भ देखायो ।

तर, निर्मलाका हत्यारालाई पक्राउ गर्न सकेन । अन्त्यमा भने प्रकाण्डलाई अदालतले छोडेपछि कुनै पनि मुद्दा नलगाउने सर्तमा माहुरीको भूमिका खेली पक्राउ गरेको ४९ दिनपछि असोज ९ गते मात्रै रिहा गरियो । सरकारले सुरुआतिका दिनमा विभिन्न संघठनप्रति अरिंगालकै रोल खेलेको थियो ।

एनजिओ आइएनजिओको सम्पत्ति विवरण, यातायात व्यवसायीहरूको सेन्डिकेट प्रणालीको अन्त्य, काम नगर्ने ठेकेदारलाई कारबाहीजस्ता महत्वपूर्ण कामहरूअघि सारेर विचौलियाप्रति देखाएको अरिंगाल रोलले जनतामा आशा जगाएको थियो । सरकारले आफूले गरेका वाचा पूरा गर्नुको सट्टा विगत सात महिनामा महँगीले जनताको दिनचर्यामा नै अप्ठ्यारो परेको छ ।

दसैँको मुखमा आएर भाडादर वृद्धि गर्नु, सुनकाण्डका आरोपीहरूलाई साधारण तारेखमा रिहा गर्नु, सिके राउतलाई पक्राउ गर्न नसक्नु, प्रकाण्डहरूलाई अदालत परिसरभित्रबाटै पटकपटक पक्राउ गर्नुले जनता सरकारप्रति अरिंगाल बन्ने सम्भावना देखिएको छ ।

बहुमतको सरकारका प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई मात्रै कहिले अरिंगाल त कहिले माहुरी बन्न आग्रह गर्दैमा न त आन्तरिक गुट उप गुटबाट पार्टी जोगिन सक्छ न त देश नै जोगिन सक्छ । व्यासाहरूबाट माहुरीलाई बचाउन ऐँसेलुको बारसम्म लगाउन सक्नुपर्छ भने अरिंगाल बन्न आफ्नो सैद्धान्तिक बाटो नछोडी संघर्षमा लाग्न सक्नुपर्छ ।

जातियताका नाममा माहुरीलाई अलग गर्ने कि आक्रमक शैली अपनाई अरिंगाल बनेर देश विकाससँगै देश विखण्डन हुनबाट जोगाउने ? यो विषय भने बहुमतीय कम्युनिस्ट सरकारको ठट्यौली भाषिक शैलीसँगै नैतिक जिम्मेवारीभित्र पर्छ ।

प्रतिक्रिया