शान्ति खोज्दै चित्रहरू


काठमाडौं,२५ जेठ । जनआन्दोलन २०६२/०६३ ताकाको समय कम त्रासद थिएन । राजतन्त्रविरुद्ध सडकमा खनिएका जनतामाथिको दमन मार्मिक थियो । त्यसपछि पनि राजनीतिक अस्थिरता र अन्योल झनै बढ्दै गएको छ । समस्याहरू जनताको हृदयमा बिझिरहेकै छन् । तिनै समस्या र राजनीतिक अस्थिरता यतिबेला सिद्धार्थ आर्ट ग्यालरीका भित्तामा प्रतिविम्बित भएका छन् । कलाकार भाइराजा महर्जनले ती पीडालाई रंग र कुचीको सम्मिश्रणले चित्रमा उतारेका हुन् ।
समस्यामुक्ति र शान्तिको खोजीतर्फ यी चित्र उन्मुख भएको महर्जनले बताए । ‘शान्ति भन्नेबित्तिकै बुद्ध तथा भिक्ष्लाई मात्र बुझेर हुँदैन, मन्त्र र वाणीहरूभित्र पनि शान्तिको दीप प्रज्वलित भइरहेको हुन्छ, तिनीहरूलाई अध्ययन गर्न सक्नुपर्छ,’ उनले भने । महर्जनका ३५ वटा चित्रले एक स्वरमा शान्ति–वाणी बोलिरहेका छन् । यीमध्ये ३५ दिनभन्दा बढी लगाएर बनाएको बुद्धको चित्र उनी आफैँलाई निकै मन पर्दो रहेछ । चित्रहरूले बिग्रँदै गएको मानव हार्मोन तथा मंगल, शान्ति, करुणा, सुख, उपेक्षा, सुकर्म, आदेश, उपदेश, चित्त, दान, बन्दना, संकल्प, वचन, दयाका भावना पनि बोकेको उनले जानकारी दिए । महर्जनले २०६२–०६३ पछि सिर्जना गरेका चित्रमा एक्रेलिक कलर र कुनैकुनैमा मिक्स मिडिया प्रयोग भएका छन् । मंगलबारदेखि प्रदर्शनीमा रहेका यी चित्रलाई सामूहिक शीर्षक दिइएको छ– इन सर्च अफ पिस ।
त्यसो त सोही भित्तामा भयानक असर देखाउँदै गरेको जलवायु परिवर्तनको विषय पनि विम्बित भइरहेको छ । प्रकृतिबाटै जीवन र जीविका धानिरहेका मानिसले विकासका नाममा आफ्नो स्वार्थका लागि प्रकृतिलाई नै बिर्संदै गइरहेको घोर आरोप ती चित्रले लगाएका छन् । जलवायुको असर र प्रकृतिका पीडालाई चित्रमा उतार्ने अर्का कलाकार हुन् विनोद प्रधान । उनका २५ चित्र छन् । किएर्स शीर्षक पेन्टिङ औधी मन पराउँछन् उनी, जसले प्रकृतिलाई हेरचाह गर्न झकझक्याउँछ । भन्छन्, ‘मानव जातिको विकास केवल क्षणिक समस्यापूर्तिका लागि प्रकृतिको विनाशतिर उद्यत छ । प्रकृति नै नरहे मानव जीवन कसरी रहला ? यसतिर ध्यान नदिने हो भने एक दिन डाइनोसरजस्तै मानव पनि लोप हुन सक्नेतर्फ यो चित्रले सचेत गराएको छ ।’ ग्यास, मोबाइल, बत्ती, गाडी, जहाज र क्षेप्यास्त्र अहिलेको मानव समुदायले अधिक उपभोग गरिरहे पनि यिनीहरूमार्फत प्रकृतिप्रति बेवास्ता भइरहेको दर्साउँछन् चित्रहरूले । ‘यी विषयप्रति सजग हुने हो भने जलवायु परिवर्तनले विकराल रूप लिँदैन भन्दै छन् यी चित्र,’ कलाकार प्रधान भन्छन् ।
कलाकारद्वय महर्जन र प्रधानले सामूहिक रूपमा प्रदर्शनी गरेका हुन् । विश्व वन्यजन्तु कोषका कार्यक्रम निर्देशक घन एस गुरुङले दीपप्रज्वलन गरेर उद्घाटन गरेका प्रदर्शनी आगामी १६ असारसम्म चल्नेछ ।

प्रतिक्रिया