उपचार केन्द्रको माग राख्दै ज्ञापनपत्र

झापा । सर्पदंश उपचार केन्द्रको माग राख्दै दक्षिणी झापाका विद्यार्थीले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

उपचार केन्द्रको अभावमा दुई महिनाको अवधिमा तीन जना बालबालिकाले सर्पको टोकाइबाट अकालमै ज्यान गुमाएको भन्दै विद्यार्थीले कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

पथरिया मावि, स्वर्णिम शिक्षा सदन, लक्ष्मीप्रसाद देवकोटा मावि र विद्या निकेतन माविमा अध्ययनरत विद्यार्थीले सर्पदंश उपचार केन्द्रको माग गर्दै गाउँपालिका लागि ज्ञापन पत्र बुझाएका हुन् । विद्यार्थी अर्जुन पौडेलको नेतृत्वमा पुगेका विद्यार्थीको टोलीले गाउँपालिका अध्यक्ष अञ्जार आलम र उपाध्यक्ष निमसरी राजवंशीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहुँदा सर्वसाधारणले उपचारका लागि ३० किलोमिटर उत्तरमा रहेको मेचीनगरस्थित सर्पदंश उपचार केन्द्र चारआली पुग्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण बालबालिकासहित त्यहाँका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विद्यार्थीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

चाँडोभन्दा चाँडो गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको स्थापनाका लागि विद्यार्थीले गाउँपालिकासमक्ष माग राखेको विद्यार्थी अर्जुन पौडेलले जानकारी दिए । १३ भदौमा पथरिया मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा पूजा भट्टराईलाई घरमै सुतिरहेका वेला गोमन सर्पले डसेर मृत्यु भएको थियो । कचनकवल–२ निवासी भट्टराईलाई सर्पले डस्दा तत्काल उपचार लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

स्वर्णिम शिक्षा सदनबाट कक्षा १० को एसइई परीक्षा दिएर बसेकी अन्दाजी १५ वर्षीया तुलसा भट्टराईको पनि सर्पले डसेर मृत्यु भएको थियो । त्यस्तै, सर्पले डस्दा कचनकवल–५ स्थित पाठामारी निवासी–४ वर्षीय रेहिम आलमको पनि मृत्यु भएको थियो । कचनकवल–२ निवासी लक्ष्मी देवकोटा माविकी शिक्षिका राधा भण्डारीको पनि सर्पले डसेर नै मृत्यु भएको विद्यालयका शिक्षक रत्नबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सर्पले डस्दा उनीहरूलाई समयमै उपचार केन्द्र पु¥याउन नसक्दा मृत्यु भएको हो । कचनकवलमा सर्पदंशबाट विद्यार्थीसहित गाउँपालिकावासीले अकालमै ज्यान गुमाउनुपरेको भन्दै सर्पदंश उपचार केन्द्र स्थापना गराउन विद्यार्थी स्वयं लागि परेका छन् ।

संघीय, प्रदेशसहित स्थानीय सरकारले चासो नदेखाएपछि विभिन्न विद्यालयको सहभागितामा विद्यार्थीले सर्पदंश उपचार केन्द्र निर्माण समिति गठन गरेका हुन् । विद्यार्थी अर्जुन पौडेलको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिले पहिलो चरणमा विभिन्न दाता तथा व्यवसायीबाट आर्थिक संकलन गरी यस अभियानलाई सफल बनाउन लागि पर्ने जनाइएको छ ।

प्रतिक्रिया