चीनको भाइरल ज्वरो एसियाभरि फैलन सक्ने

एजेन्सी । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि विभागले मंगलबार चीनमा संक्रमित भाइरल अफ्रिकी ज्वरो एसियाभर फैलन सक्ने चेतावनी दिँदै गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्वको सबैभन्दा ठूलो सुँगुर व्यवसायी, चीनका चारवटा प्रदेशहरूमा यसअघि नै २४ हजारभन्दा बढी सुँगुरमा यस्तो संक्रमण फेला परिसकेको छ ।

संक्रमित स्थानबाट एक हजार किलोमिटरको दूरीमा पनि यो फेला परेको हुनाले नै अहिले यो रोग सीमा बाहिर छिमेकी देशहरू हुँदै सम्पूर्ण एसियाली मुलुकहरूमा फैलन सक्ने खतरा बढेको बताइएको छ । गत हप्ता मात्र पूर्वी सहर लियानयङगङमा १४ हजार सुँगुरहरूको निरीक्षण गरिएको थियो भने अहिलेको अवस्थामा चाहिँ कोरियाली प्रायद्विप यसको सबैभन्दा बढी जोखिममा रहेको संयुक्त राष्ट्रको भनाइ छ ।

वास्तवमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक यस संक्रमणविरुद्ध कुनै औषधि र सुई निर्माण नभएकाले पनि यस मुद्दालाई गम्भीर रूपमा लिइएको बताइएको छ । त्यसैगरी, यो संक्रमण जिउँदो नभएर मृत जनावरबाट छिटो फैलने हुनाले पनि संक्रमित मासु देश बाहिर पुगेमा ठूलो क्षति पुर्याउनेसम्बन्धी चिन्ता व्यक्त गरिएको छ ।

तर, विश्वभर उपभोग हुने आधाभन्दा बढी सुँगुर चीनबाटै आउने गरेको हुँदा यसबाट बच्ने एक मात्र उपाय संक्रमित जनावरको संख्या घटाउनु रहेकाले संयुक्त राष्ट्रले यसबारे सचेत गराइरहेको बताइएको छ ।

प्रतिक्रिया