राष्ट्रपति र एमाले अध्यक्षवीच भेटबार्ता

काठमाडौं, २० जेठ । दलहरुका वीच तिक्तता बढिरहेका समयमा राष्ट्रपति डा.रावरण यादव र एमाले अध्यक्ष झलनाथ खनालवीच भेटबार्ता भएको छ ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा उनीहरुका वीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै गतिरोध अन्त्यका विषयमा कुराकानी भएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष खनालले राष्ट्रपति डा.यादवलाई आफूले राष्ट्रिय सहमति भन्दा अर्को विकल्प नरहेको भन्दै त्यसका लागि सबै मिल्नुपर्ने धारणा राखेको बताए । उनले भने, ‘कुनै एक दलले मात्रै आफ्नो हठ्ले निकास दिन सक्दैन, सबै दलहरुका वीच सहमतिको आवश्यक्ता छ ।’
एमाओवादी एक्लै हिड्न थालेको आरोप लगाएका खनालले अन्तरिम संविधान संशोधन नगरेर मुलुकमा कुनैपनि प्रकारको निर्वाचन गर्नु असंभव रहेको बताए । उनले निर्वाचन गर्ने नै हो भने सहमतिमा नयाँ सरकार बनाएर संविधान संशोधन गरेर निकास दिनुपर्ने धारणा राष्ट्रपति समक्ष राखेको उल्लेख गरे ।
संविधानसभा विघटन पछि उत्पन्न राजनीतिक जटिलताका साथै कांग्रेस र एमाले सहित साना दलको गठबन्धनले सरकार विरुद्ध गरेको आन्दोलनका बारेमा समेत खनालले राष्ट्रपति डा.यादवाई जानकारी गराएका थिए ।
कसैसँग सल्लाहनै नगरेर निर्वाचन घोषणा गरेको भन्दै सडक आन्दोलनमा उत्रिसकेका कांग्रेस, एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईले सरकार छाडेर बाटो खोलिदिनुपर्ने जनाउदै आएका छन् ।

प्रतिक्रिया