बाँके । राप्तीसोनारी गाउँपालिका–६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । तार चुँडिएर फैलिएको करेन्ट लागेर अन्य तीन जना घाइते भएको वडाध्यक्ष जनकबहादुर थारूले जानकारी दिएका छन् । शनिबार बिहान करिब तीन बजे फैलिएको करेन्ट लागेर स्थानीय सुरेश चौधरी र टीकाराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनीहरूको शवलाई पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाइएको छ । घाइते हुनेहरूमा इला शाही, कमला बुढाथोकी र दिनेश बुढाथोकी रहेका छन् । घाइते शाहीको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जना सामान्य उपचारपछि घर फर्किसकेका छन् । करेन्ट लागेर केही घरपालुवा जनावरसमेत मरेको वडाध्यक्ष थारूले जानकारी दिए ।
घटनापछि लक्ष्मीपुर गाउँ शोकमा डुबेको छ । गाउँलेहरूले मृतकहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा घाइतेको निःशुल्क उपचार हुनुपर्ने माग गरेका छन् । सो क्षेत्रका निर्वाचित सांसदहरूले घटनाले दुःखी तुल्याएको भन्दै मृतकलाई उचित क्षतिपूर्ति, घाइतेलाई उपचार र घटनाको छानबिन गर्न मागसमेत गरेका छन् ।
प्रदेश–५ सांसद कृष्णा केसी नमुनाले विज्ञप्ती जारी गरेर घटनाको छानबिन, मृतकलाई क्षतिपूर्ती, घाइतेको निःशुल्क उपचार र आगामी दिनमा यस्ता घटना घट्न नदिन वातारण बनाउन सरकारसँग आग्रह गरेकी छन् ।
प्रतिक्रिया