संक्रमणबाटै मृत्यु हुने दिन टाढा छैन

 

                डा. ऋतु बराल डिन                                  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

मनाङको गाउँमा बस्ने थिन्लेलाई लाग्यो उनको छातिमा गाँठो पलाएको छ । उनि त्यहाँको औषधि पसलमा सोध्न गइन् । औषधि पसलको औषधि बिक्री गर्ने दाइले उनलाई १४ सय पर्ने ६ वटा चक्की दिए । त्यो चक्की खाएको १५ दिनमा पनि गाँठो निको नभएपछि फेरि त्यहीँ गइन् । उनलाई त्यहि औषधि अरू ६ दिन दोहोर्याउन भनियो ।

छातीको गाँठोमा केही सुधार नभएपछि उनी जोमसोममा स्वास्थ्य टोली आएको सुनेर आइन् । त्यहाँ त्यो औषधिको प्याकेट देखेर छक्क लाग्यो (त्यो औषधि त यस्तो एन्टिबायोटिक थियो जुन कडा किसिमको किटाणुले संक्रमण गरेपछि) मात्र दिइन्छ ।

उनको छातीको गाँठो सानो ट्युमर थियो जसको उपचार भनेको शल्यक्रिया मात्रै हो । यो एउटा घटनाले हाम्रो आँखा खोलिनुपर्छ । एक त अनावश्यक औषधि त्यसमाथि अति कडा खालको संक्रमणको लागि दिइन्छ, त्यसमाथि धेरै महँगो । यसै त त्यस्तो विकट गाउँमा खेती गरेर बसेको महिलाले त्यो अनावश्यक औषधि दुईपटक किन्न कति महिनादेखि जम्मा गरेर राखेको पैसा चलाउनुपर्यो, जुन नितान्त अनावश्यक थियो ।

पेनिसिलिन नामको एन्टिबायोटिक औषधि सन् १९२५ मा अलेक्स्ज्यान्डर फ्लेमिङले पत्ता लगाएका थिए, जुन समयमा मानिसको मृत्यु साधारण किटाणुको संक्रमणले हुने गथ्र्यो । यो एन्टिबायोटिक (पेनिसिलिन) सो समयमा चलिरहेको दोस्रो विश्वयुद्धमा घाइते भएका सैनिकको उपचारका लागि प्रयोग भएको थियो ।

यो औषधिको प्रयोगपछि संक्रमणबाट हुने मृत्युदर घटेको कारण सबैजना सो औषधिबाट धेरै आशावादी थिए । अलेक्जेन्डर फ्लेमिङले सो औषधि आविष्कार गरेबापत नोबेल पुरस्कारसमेत पाएका थिए । तर, सो पुरस्कार लिने क्रममा नै उनले भनेका थिए कि यो औषधि आज प्रभावकारी भएता पनि आउने दिनहरूमा किटाणुहरूले आफ्नो वंशानुगत गुण फेरेर यसलाई निष्क्रिय पार्नेछन् ।

नभन्दै सन् १९४२ देखि साधारण जनताहरूले समेत प्रयोग गर्न लागेको सो पेनिसिलिन सन् १९४५ सम्ममा कतिपय किटाणु मार्न काम नलाग्ने भइसकेको थियो। सो समय र हालसम्म धेरै थरिका र फरक तरिकाले काम गर्ने एन्टिबायोटिकहरू बन्दै गए तर किटाणुहरू पनि हामीभन्दा अगाडि बढ्दै गए र जति पनि नयाँ औषधि बनाइँदै गइयो त्यति किटाणुहरू प्रतिरोधी (रेजिस्टेन्ट) हुँदै गए । पछिल्लो ३० वर्षमा कुनै पनि नयाँ स्वरूपको प्रभावकारी एन्टिबायोटिक आविष्कार भएको छैन ।

सन् २०१० मा बनेको सेफ्टारोलिन नामको औषधिमा समेत २०११ मै रेजिस्टेन्स देखियो । औषधि निर्माता कम्पनीहरू पनि नयाँ औषधिको अनुसन्धान तथा विकासमा अर्बौं पैसा खर्चिन्छन् । तर, सो औषधि यसरी एक÷दुई वर्षमा नै निष्क्रिय भए भने उनिहरूको खर्च पनि उठ्दैन यसै कारणले उनीहरू एन्टिबायोटिकको सट्टा अरू प्रकारको औषधि निर्माण गर्नतिर लाग्छन् ।

हाल आएर किटाणुको रेजिस्टेन्स यति बढ्दो छ कि कुनै पनि नवनिर्मित एन्टिबायोटिकले छोटो समयमै काम गर्न छोड्छ । एन्टिबायोटिक रेजिस्टेन्स यति डरलाग्दो र भयंकर कुरा हो कि हामीले अहिलेदेखि सोचेनौँ र यसलाई रोक्न कडा नियम, कानुन बनाएनौँ भने हाम्रो जिवनकालमा नै सन् १९२५ को अगाडिको समयजस्तो साधारण संक्रमणले नै बिरामीको मृत्यु हुन सक्छ । हाल आएर क्षयरोगको औषधिको रेजिस्टेन्स यति धेरै छ कि कडाभन्दा कडा रिजर्भ औषधिले काम गर्न छोडिसकेको छ ।

अब सोच्नुस् जुन क्षयरोग औषधि खाएर निको हुन्थ्यो त्यहि क्षयरोग अब जति औषधि खाए पनि निको हुन्न र बिरामीको यहि संक्रमणले मृत्यु हुन्छ । अझ डरलाग्दो पक्ष त बिरामीको मात्रै नभई उसको वरिपरिको परिवारजन, साथिभाइ, छरछिमेक तथा उसलाई उपचार गर्ने स्वास्थ्यकर्मीलाई समेत संक्रमण भई मृत्यु हुन सक्छ ।

एन्टिबायोटिक प्रयोगको दुई पक्ष छन् । एउटा त जुनसुकै÷जस्तोसुकै बिरामीलाई पनि एन्टिबायोटिक दिनु र प्रेस्क्रिप्सनविना एन्टिबायोटिक बेच्नु, अर्को पक्ष भनेको हाल आएर कुखुरा, खसी, बाख्रा, राँगा, गाई, भैँसी लाई मोटो बनाउन, रोग लाग्नबाट बचाउन एन्टिबायोटिक दिइन्छ। यसरी जनावरलाई दिइएको एन्टिबायोटिकले उसको शरीरमा भएको किटाणुलाई रेजिस्टेन्ट बनाउँछ ।

यस्तो कुखुराको मासु अथवा गाईको दूध राम्रोसँग पकाएर नखाँदा त्यो एन्टिबायोटिक रेजिस्टेन्ट किटाणुले हाम्रो शरीरमा प्रवेश पाउँछ र संक्रमण गर्छ । यो भयवाह परिस्थितिबाट बच्न हामीले एन्टिबायोटिकको प्रयोगसम्बन्धी उपयुक्त ऐन, कानुन बनाई यस्तो संवेदनशील विषयमा जनचेतना जगाउनु आजको आवश्यकता हो । पहिलो कुरा त प्रेस्क्रिप्सनविना औषधि दिन नपाइने ऐन चाहिन्छ ।

प्रेस्क्रिप्सन भनेको तालिम प्राप्त स्वास्थ्यक.र्मीले बिरामीको उपचारको क्रममा दिने पर्चा हो, जसमा कुन औषधि कतिखेर, कसरी, कति दिनको लागि खाने भनेर लेखिएको हुन्छ । नेपालमा अहिलेको अवस्थामा सबैतिर डाक्टरको पहुँंच पुर्याउन नसके पनि बिरामी जाँचेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई एन्टिबायोटिक रेसिस्टेन्स तथा औषधिको तर्क संगत प्रेस्क्रिप्सनको विषयमा तालिम दिन सकिन्छ ।

उनिहरूको माध्यमबाट जनचेतनात्मक कार्य गराउन सकिन्छ। औषधि पसलबाट प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बेचबिखनमा रोक लगाउन सकिन्छ। औषधि पसल चलाउनेलाई यसको जटिलताबारे तालिम दिन सकिन्छ । कुखुरापालनजस्तो व्यवसाय गर्नेहरूलाई तालीम दिई यसको कारण आफूलाई नै हानि हुने कुराको ज्ञान दिन सकिन्छ । एन्टिबायोटिक बेचबिखन तथा प्रयोगको लागि कडा नियम कानुन लागू गर्न सकिन्छ ।

मन्त्रालयबाट राष्ट्रिय एन्टिबायोटिक नीति नै बनाएर एन्टिबायोटिकको अनावश्यक प्रयोगमा नियन्त्रण गर्न सकिन्छ । हरेक अस्पतालले एन्टिबायोटिक स्टेवार्डसीप समिति बनाएर एन्टिबायोटिक नीति तथा निर्देशिका बनाउन सके अझै प्रभावकारी हुन्छ । नेपालको सन्दर्भमा पनि एन्टिबायोटिक प्रयोग सम्बन्धि जनचेतना कार्यक्रम नभएको होइन, तर यस्तो कार्यक्रम अझै प्रभावकारी बनाउने, विज्ञहरूको सरसल्लाह लिने र उपयुक्त ऐन बनाई कार्यान्वयनमा ल्याउन अझै पनि ढिलो भएको छैन ।

किन त एन्टिबायोटिक रेजिस्टेन्सको लागि अहिले सजग हुनुपर्ने ? हालमा पनि अस्पतालमा हेर्न जानु भयो भने कति बिरामी अस्पतालजन्य रोगले बिरामी परेको वा मृत्यु भएको सुन्दै आएका छौँ । अस्पतालजन्य संक्रमण न्यून गर्न धेरै नै जरुरी छ । अस्पतालजन्य संक्रमणले बिरामीको रोग बढाउँछ, मृत्युदर बढाउँछ र उपचार खर्छ पनि बढी हुन्छ ।

यसै त हामी बिरामी हुँदा आफैँ पैसा खर्च गर्छौं त्यसमाथि एउटा रोगको उपचार गर्न आएको अर्को कडा रोग लागेमा त्यसको उपचार गर्न झन् बढी खर्च लाग्छ। खर्चको मात्रै कुरा नगर्दा पनि अनावश्यक मानसिक पिडा, व्यथा र पारिवारिक समस्या पनि हुन सक्छ । हामीले अहिले भोगिरहेको एन्टिबायोटिक रेजिस्टेन्स तथा अस्पतालजन्य रोगहरू सबैको रोकथाम गर्न सकिन्छ । यसको लागि राष्ट्रिय स्तरमा नै पहल गरिनु पर्छः

१) विज्ञहरूको सरसल्लाहमा अनुसन्धानमा आधारित एन्टिबायोटिक नीति र तथ्यमा आधारित उपचार निर्देशिका बनाउनुपर्दछ ।

२) एन्टिबायोटिक नीति र उपचार निर्देशिका बनाएर कागतमा मात्रै सीमित नराखी यसको बारेमा प्रत्येक स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ ।

३) यस्तो तालिमको व्यवस्था तथा समन्वय स्वास्थ्य मन्त्रालय वा सम्बन्धित सरोकारवालाले गर्नुपर्छ र हरेक स्वास्थ्यकर्मीले तालिम लिए÷नलिएको अभिलेख राख्नुपर्छ । सरकारी सेवा वा अन्य संस्थामा प्रवेश गर्ने नयाँ स्वास्थ्य कर्मचारीको हकमा सुरुवातमै तालीम लिनुपर्ने प्रावधान राख्नुपर्छ ।

४) हरेक स्वास्थ्यसम्बन्धी पढाइ हुने विधामा एन्टिबायोटिक रेजिस्टेन्स तथा औषधिको तर्क, संगत प्रेस्क्रिप्सनको बारे पाठ्यक्रममा नै समावेश गरिनुपर्छ ।

५) औषधि पसलको प्रभावकारी अनुगमन गरी प्रेस्क्रिप्सन बिना औषधि बेचेको भेटिएमा दण्डित गरिनुपर्छ ।

६) एन्टिबायोटिकलाई वर्गीकरण गरी मनिटर्ड तथा प्रतिबन्धित समूहको एन्टिबायोटिकलाई जसले पायो उसले बेच्न र लेख्न नपाउने नियम बनाउनुपर्छ ।

७) हरेक मनिटर्ड तथा प्रतिबन्धित समूहको एन्टिबायोटिकको बिक्रिवितरण र प्रयोगको तोकिए बमोजिमको अभिलेख राख्नुपर्छ ।

८) स्वास्थ्य निकायको पहलमा राष्ट्रिय एन्टिबायोटिक स्टेवार्डसीप समितिले देश भरको अस्पतालमा आवधिक रूपमा कुन किटाणुलाई कुन एन्टिबायोटिकले काम गर्ने भन्ने प्रतिबेदन (एन्टिबायोग्राम) बनाउन निर्देशन दिई एन्टिबायोटिकको रेजिस्टेन्सको अवस्था पत्ता लगाउनुपर्छ र राष्ट्रिय नीति निर्माण गर्नुपर्छ । सानातिना, झिनामसिना राजनैतिक गफ, लोकप्रिय निर्णय गर्न छोडेर यस्ता ठूला, जटिल र ज्यानै लिने विषयमा अब कुरा गर्न थाल्नुपर्छ ।

अहिलेको समयमा पनि हामी समयमै सचेत नभएर यि विषयलाई प्राथमिकता दिन सकेनौँ भने साधारण किटाणुको सक्रमणले पनि हाम्रो ज्यान जाने दिन अब टाढा छैन । सन् १९२५ भन्दा अगाडिको अवस्थामा नपुग्न हामीलाई प्रभावकारी ऐन, नियम, नीति र निर्देशिका चाहिएको छ । जुन हाम्रो देशभित्रकै अनुसन्धानबाट प्राप्त तथ्यांकमा आधारित हुनुपर्छ ।

यो पहल अहिले गर्न सकियो भने हाम्रो भावी पुस्तालाई हामीले बचाउन सक्छौँ। अहिलेजस्तो मानिसमा मात्रै नभई जनावरमा समेत जथाभावि रूपमा एन्टिबायोटिक चलाएर हामी कहाँ पुग्दैछौँ भन्ने कुरा समयमा नै बुझ्नुपर्छ । यो सबै तब सम्भव हुन्छ जब नीति निर्माणको तहमा रहेका सरोकारवाला व्यक्ति वा संस्थाहरू आफैँ सचेत हुन्छन् र कदम उठाउँछन् ।

प्रतिक्रिया