ट्रम्पका प्रवक्तालाई रेस्टुरेन्टबाटै निकालेपछि …


भर्जिनिया । ट्रम्प प्रशासनकी प्रमुख प्रवक्ता सेराह स्यान्डर्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुचित कार्यमा साथ दिएको भन्दै शुक्रबार राती एक रेस्टुरेन्टकी मालिकले बाहिर निकालिदिएकी छन् । भर्जिनियास्थित रेड हेन रेस्टुरेन्टमा डिनर खान आफ्नो परिवारसहित आएकी सेराहलाई स्टेफनी विल्कीन्सनलले ट्रम्प प्रशासनको विरोधमा यस्तो कदम उठाएको बताएकी हुन् ।

यस घटनापछि अपमानित सेराह आफैँले ट्विट गर्दै लेखेकी छन्, ‘वास्तवमा उसको व्यवहारले नै उसको चरित्रबारे सबै स्पष्ट पार्दछ । मैले आफ्ना विरोधीहरूसँग समेत आदरपूर्वक कुरा गर्ने गरेकी छु र सधैँ गरिरहनेछु ।’ रेस्टुरेन्टकी मालिक स्टेफनीका अनुसार सेराह अमानवीय र अनैतिक प्रशासनसँग काम गरिरहेकाले उनलाई कुनै सेवा नदिइएको हो ।यसअघि राज्य सुरक्षासचिव क्रिस्जेन नेइल्सनलाई पनि एक मेक्सिकन रेस्टुरेन्टमा यसैगरी अपमान गरिएको थियो ।

यी दुवै घटनाहरू वास्तमा ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी जारी गरेको नयाँ नीतिको विरोधमा रहेको बताइएको छ । सो नियमले मेक्सिको सीमा क्षेत्रमा बालबालिकाहरूलाई आमाबाबुबाट अलग गराएपछि परिवार छुट्याएको आरोपमा ट्रम्पको विश्वभर आलोचना भएको थियो । त्यसैले चारैतिरबाट दबाब आएपछि शुक्रबार राष्ट्रपति ट्रम्पले अलग भएका परिवारलाई एकसाथ ल्याएका हुन् तरैनि सीमा क्षेत्रमा अझै कडाइ जारी रहने उनको भनाइ छ ।

यो घटना अहिले सामाजिक संजालमा पनि उत्तिकै चर्चित भएको छ । उता अमेरिकी नागरिकहरूले भने यसबारे भिन्दाभिन्दै प्रतिक्रिया दिएका छन् । कतिपयले सो रेस्टुरेन्टको व्यवस्थापनलाई गाली गर्दै सेराहसँगको व्यवहार अनुचित रहेको ठहर गरेका छन् भने कतिले चाहिँ उनले कर्मको फल पाएको भन्दै सेराहको विरोधमा आवाज उठाएका छन् ।

प्रतिक्रिया