नेपालगञ्ज । बाँकेको खजुरामा निर्माण गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सोमबारबाट ओपीडी सेवा सुरु भएको छ । एक सय श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट सेवा सुरु गरेको छ ।
अस्पताल व्यवस्थापन समितिकाका अनुसार ओपीडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।
अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको छ । चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ ।
यो अस्पतालको सेवाबाट ५ नम्बर प्रदेश, ७ नम्बर प्रदेश र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने अनुमान गरिएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको क्यान्सरकै कारण निधन भएको थियो । त्यसैले उनकै नामबाट कोइरालाको गृहजिल्ला बाँकेमा क्यान्सर अस्पताल खोलिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. विश्वराम पौडेलसहितको टोली छ । दुई जना अंको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको क्यान्सर अस्पतालले थप ११ जना कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना गरेको जनाएको छ ।
अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्सलगायतका सेवा छन् ।
प्रतिक्रिया