एजेन्सी
काठमाडौं । भारतको पूर्वोत्तर राज्य मेघालय देशभरीकै ‘रक’ संगीतको सबैभन्दा ठूलो केन्द्र हो । यहाँको रक ब्यान्डले भारत मात्र होइन विदेशमा पनि आफ्नो पहिचान बनाउन सफल भएको छ । यस्ता नाम चलेका कतिपय ब्यान्ड महिलाले मात्र चलाउने गरेका छन् । मेघालय महिलाप्रधान समाज हो जहाँ विवाहपछि पति पत्नीको घर जान्छन् । यहाँ सम्पतिको मालिक र वारिस दुवै महिला हुन्छन् र छोरा पनि आमाकै नामले चिनिन्छिन् ।
पूर्वोत्तर भारतको यो राज्यमा विधानसभाको निर्वाचन हुन गइरहेको छ । कतिपय राष्ट्रिय र क्षेत्रिय दल चुनावी संग्रामको तयारी गरिरहेका छन् । तर, महिला प्रधान समाज भए पनि राजनीतिमा भने महिलाको उपस्थिति न्यून रहेको छ । महिलालाई टिकट दिने मामलामा सबै राजनीतिक दल एउटैजस्ता देखिन्छन् । भारतीय जनता पार्टीले मात्र दुई महिलालाई मैदानमा उतारेको छ । राज्यकी भाजपा नेता यिबांका किंडियाह भन्छिन्, ‘महिलाले राजनीतिमा स्थान बनाउनु मुस्किल काम हो’, उनी भन्छिन्, ‘टिकट उसैलाई दिइन्छ जो मैदानमा प्रतिद्वन्द्वीलाई कडा दिन सक्छन् र चुनाव जित्न सक्छन् ।’
बियांका भन्छिन्, ‘हो, मेघालय महिला प्रधान समाज हो । यहाँ महिला नै संपत्तिको वारेस छन् । तर, राजनीतिको कुरा गर्नुहुन्छ भने यो धेरै गाह्रो काम हो । महिलाका लागि पुरुषको राजनीतिक संसारमा आफ्नो स्थान खोज्नु असंभवजस्तै छ । एक÷दुई महिला जति राजनीतिमा छन्, उनीहरूको परिवारिक पृष्ठभूमि राजनीतिक छ ।’
सबैभन्दा धेरै महिलालाई टिकट दिने पार्टी कांग्रेस हो । उसले पाँच जना महिलालाई टिकट दिएको छ । क्षेत्रीय दलको त झन् खराब स्थिति छ । किन महिलालाई प्रत्यासी बनाउन चाहँदैनन् राजनीतिक दल ? प्रमुख क्षेत्रीय दल युनाइटेड डेमोक्र्याटिक पार्टी अर्था युडिपीकी वरिष्ठ नेता प्रिती खारपुंगरो भन्छिन्, ‘महिलालाई राजनीतिमा कुनै स्थान नै छैन । महिलालाई टिकट दिइएन भन्ने कुरा नै होइन् ।’
उनी थप्छिन्, ‘हाम्रो समाजमा पुस्तौँपुस्तादेखि यहि मान्यता रह्यो कि महिला घरकी मालिक हुन् । उनीहरूको हद त्यहीँसम्म सीमित छ । चुनाव लड्ने कुरा होस् कि युद्ध पुरुषको काम मानिन्छ । महिलालाई यस्ता काममा पछाडि नै राखिन्छ । यसै कारण राजनीतिमा महिलाको उपस्थिति शून्य बराबर छ र कसैले उनीहरूलाई उम्मेदवार बनाउन चाहँदैन ।’
मेघालयमा ६० मध्ये ३६ यस्तो विधानसभा क्षेत्र छ, जसमा महिलाको जनसंख्या पुरुषभन्दा धेरै छ । कुल ३ सय ७ उम्मेदवारमा ३३ जना महिला मात्र यसपटक चुनाव लडेका छन् । गत विधानसभा निर्वाचनमा त झन् २५ जना महिला मात्र मैदानमा थिए र यसमध्ये चार जनाले चुनाव जिते । यी जित्ने चारै महिला कांग्रेसका थिए । मेघालयको राजनीतिमा जहाँ महिलाको उपस्थिति कम रहेको छ, त्यहाँ पुरुषहरू पनि आफ्ना अधिकारका लागि संघर्षरत छन् ।
पुरुषहरूको भनाइमा खासगरी जातीय ‘खासी’ र ‘गारो’ समाजमा पुरुषलाई न सम्पतिको अधिकार छ न त घर मूलीको मान्यता नै पाउँछन् । पुरुष आफ्नै घरमा ‘बाहिरको मान्छे’ जस्तो गरी बस्नुपर्छ, उसको घरायसी निर्णयमा कुनै सल्लाह, सुझाव लिइँदैन । पुरषअधिकारका लागि तीन दशकदेखि लडरहेको एक संस्थामा सदस्य हुन् ‘माइकल सिएम ।’
उनकाअनुसार उनको संगठनको निरन्तर दबाबले सरकारले पुरुषहरूको हितमा दुइटा कानुन बनाउन वाध्य भयो । एउटा सम्पतिमा अधिकार अर्को विवाहको अनिवार्य अभिलेखीकरण । माइकल सिएम भन्छन्, ‘मानिसलाई बाहिरबाट हेर्दा लाग्छ मेघालय महिलाप्रधान समाज हो । तर, यहाँ पुरुष कसरी घरमा बसेका छन् त्यो यहाँ बस्नेलाई मात्र थाहा छ । यहाँका मानिस सोच्छन् ‘पुरुष गोरु हुन् जो बच्चा जन्माउनमा मात्र काम लाग्छन् ।’ यसैकारण आफूहरूले पुरुष अधिकारको अभियान चलाएको उनले बताए ।
मेघालयको समाजले यस्तो महिलाहरूलाई स्वीकार गरेको छ जसका बच्चाका भिन्नाभिन्ने पिता हुन्छन् । तर, अब विवाहको केही दिन नबित्दै पतिले आफ्नी पत्नीको घर छोडेर हिँड्ने चलन बढेको छ । यसरी पतिले घर छेडेपछि महिला अर्को विवाह गर्छिन् । मेघालयको सरकारले यस्ता घटनालाई मध्यनजर गर्दै विवाहको अनिवार्य अभिलेखीकरण गर्नुपर्ने कानुन बनायो तर, चर्चको विरोधका कारण यो लागू हुन सकेको छैन ।
प्रतिक्रिया