कारकास, १० फागुन । भेनेजुयलाको विपक्षी पार्टी जस्टीस फस्ट (पिजे) ले आगामी राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।आउँदो अप्रिल २२ तारिखका दिन हुने भनिएको निर्वाचनमा भाग नलिने सो पार्टीले मंगलबार घोषणा गरेको हो ।
पिजेले आफ्नो तर्फबाट कुनै उम्मेदवारलाई समर्थन पनि नहुने एक वक्तव्य जारी गरी स्पष्ट पारेको छ । वक्तव्यमा सो पार्टीले भनेको छ, “कपटीपूर्ण तरिकाले गरिएको यस प्रक्रियामा हाम्रो कुनै प्रकारको सहभागीता हुनेछैन ।”
अहिलेको सरकार र निर्वाचनबाट स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको सुनिश्चीतता संविधानमा नहुने भएकाले निर्वाचनमा भाग लिनुको औचित्य नभएको पिजेको ठहर छ ।
भेनेजुयलामा स्वतन्त्र निर्वाचन मार्फत् राजनीतिक परिवर्तनका लागि पार्टी निरन्तर लडिरहने, संघर्ष गरिरहने वक्तव्यमा जनाइएको छ । त्यस्तो लडाई देश भित्रबाट वा बाहिरबाट पनि हुन सक्ने पार्टीले जनाएको छ ।
निर्वाचन बहिष्कार गर्नेमा पिजे दोस्रो पार्टी हो । पपुलर विल (भिपी) ले पनि निर्वाचन बहिष्कार गर्ने जनाएको छ । यसैबीच भेजेजुयला सरकारले राष्ट्रपतीय निर्वाचनको अनुगमनका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
आगामी अप्रिल २२ मा हुने निर्वाचनको अनुगमनका लागि टोली पठाउन आग्रह गर्दै सरकारले मंगलबार राष्ट्रसंघलाई पत्राचार गरेको हो ।
राष्ट्रसंघका महासचिव एन्टोनीओ गुथ्रेसलाई औपचारिक रुपमै निमन्त्रणा पत्र पठाइएको राष्ट्रिय निर्वाचन परिषद्का अध्यक्ष टिबीसे लुसेनाले जानकारी दिए ।
प्रतिक्रिया