नयाँदिल्ली, ८ फागुन । भारतको बिहारमा भएको एक सडक दुर्घटनामा परी कम्तिमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन ।
प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको छ ।
चालकले नियन्त्रण गुमाएपछि सडकको छेउमा रहेको नालीमा खसेर बस दुर्घटना भएको थियो । बिहारको राजधानी पटनामा पर्ने कन्डाप भन्ने ठाँउमा सोमबार राती सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
घटनास्थलमा स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरेका थिए । उद्धारकर्ताहरु घाइतेहरुलाई नालान्द मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारका लागि लगेका थिए ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ भने दोषीलाई कारबाही गर्ने बताएको छ । भारतमा यस्ता सडक दुर्घटना धेरै नै हुनेगरेका छन् ।
चालकको लापर्बाही, सडक र सवारी साधनको खराब अवस्थाका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ ।
प्रतिक्रिया