मन्त्री र कर्मचारीबीचको सेक्समा प्रतिबन्ध

अस्ट्रेलिया । प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौनसम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन् । मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन् । एउटा पत्रकार सम्मेलनमा बोल्दै बार्नबी जोइसको आचरणलाई ‘विवेकमा भएको भयंकर त्रुटि’ भन्दै प्रधानमन्त्री टर्नबुलले उनको निन्दा गरे । मन्त्री पदको गरिमा तोडिएको छ कि छैन भनेर छानबिन हुँदै गर्दा जोइस सोमबारदेखि बिदामा बस्दै छन् । जोइस र टर्नबुल दुवैले कुनै पनि स्थापित नियम भने उल्लंघन नभएको दाबी गरेका छन् ।

तर, प्रधानमन्त्रीले मन्त्रीहरूको आचारसंहितालाई ‘साँच्चै अपर्याप्त’ भन्दै त्यसमा व्यापक सुधार गरिने बताए ।‘मन्त्रीहरूले पदअनुसारको आचरण गर्नुपर्छ । उनीहरूले आफ्ना कर्मचारीसँग यौन सम्बन्ध राख्नुहुँदैन,’ उनले भने । यसअघि संसद्मा बोल्दै टर्नबुलले आफू अर्को हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदा जोइसलाई कार्यबाहक नदिने बताएका थिए । जोइस र उनकी मिडिया सल्लाहकार भिकी क्याम्पिअनको यौन प्रकरण सावजनिक भएपछि गत बुधबारदेखि अस्ट्रेलियाको राजनीति तरंगित भएको छ । टर्नबुलका अनुसार जोइस एक हप्ता बिदामा बस्नेछन् ।

तर, विपक्षी दहलहरूले उनको राजीनामा माग गरेका छन् ।  दोहोरो नागरिकता भएको विषयमा सांसद पद गुमाएका जोइस न्युजिल्यान्डको नागरिकता त्यागेर फेरि गत डिसेम्बर महिनामा संसद्मा निर्वाचित भएका हुन् ।जोइसले आफ्नी पत्नी, चार छोरीहरू र क्यापिअनलाई ‘नराम्रो चोट र अपमान’ दिएको टिप्पणी गर्दै टर्नबुलले भने, ‘बार्नबीले आफ्नै कार्यालयमा काम गर्ने युवतीसँग सम्बन्ध राख्दा आफ्नो विवेकमा भयंकर त्रुटि गरेका छन् ।’ ‘त्यसो गर्दा उनले ती महिलाहरूलाई पीडाको संसारमा धकेलेका छन् र हामी सबैलाई क्षुब्ध बनाएका छन् ।

उनीहरूप्रति हाम्रो सहानुभूति छ ।’ ‘पीडादायक निजी अनुभव’ भन्दै मंगलबार जोइसले आफ्नी पत्नी, चार छोरी र ती पूर्वकर्मचारीसँग सार्वजनिक रूपमै क्षमा मागेका थिए । टर्नबुलले त्यस्तो आचरण आजको दिनमा अस्वीकार्य भएको भन्दै मन्त्रीहरूले कार्यस्थललाई मर्यादित बनाउनुपर्ने बताए । बिहीबार सिनेटले जोइसले राजीनामा गर्नुपर्ने भन्दै एउटा प्रस्ताव पारित गरेको छ । तर, त्यो बाध्यकारी भने हुँदैन ।

 

प्रतिक्रिया