सन् २१०० सम्म सामुद्रिक जलस्तर दोब्बर बढ्ने

नयाँदिल्ली । विश्वमा बढ्दो गर्मीले पग्लिरहेको हिउँका कारण यसै शताब्दीको अन्त्यसम्मा सामुद्रिक जलस्तर वैज्ञानिकहरूले अनुमान गरेकाभन्दा दोब्बरले वृद्धी हुने बताइएको छ । यस्तो आशंका युनिभर्सिटी अफ कालोराडोका शोधकर्ताहरूले गरेका हुन् । सोमबार प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित शोधका अनुसार पहिले २१०० सम्म समुद्रको जलस्तर ३० सेन्टिमिटरसम्म बढ्ने आकलन थियो । तर, अब ६५ सेन्टिमिटरभन्दा बढी हुने अनुमान गरिएको छ । यसले कतिपय तटीय क्षेत्र डुब्ने आशंका गरिएको छ ।

आश्चर्यजनक वृद्धि
शोधकर्ताहरूका अनुसार समुद्रको जलस्तर प्रतिवर्ष शून्य दशमलव ०८ मिलिमिटरका दरले बढिरहेको छ । यस्तो स्थितिका अनुसार समुद्र जलस्तर २१०० सालसम्म प्रतिवर्ष १० मिलिमिटर वा त्योभन्दा धेरै बढ्न सक्छ । यसमा अल निनोद्वारा समुद्री जलको तापक्रम बढ्ने र हावाको बाटो बदलिनेलाई पनि जिम्मेवार बताइएको छ ।
उपग्रहको सहयोगले शोध सम्भव
शोधकर्ताहरूले १९९३ देखि आजसम्मको सामुद्रिक जलस्तरको तथ्यांकको अध्ययन गरेका थिए । यसका लागि उनीहरूले अमेरिकी÷युरोपेली टोपेक्स÷पोडिसन उपग्रहहरू जेसन–१, जेसन–२ र जेसन–३ को सहयोग लिए । साथै, अल निनोको दक्षिणी बदलावहरूको मापनका लागि ज्वालामुखीका प्रभावहरू र अन्य प्रभावहरूको अध्ययन जलवायुसम्बन्धि मोडेलमा गरिएको थियो । यसले सामुद्रिक जलप्रभावको विगत २५ वर्षको बदलावबारे जानकारी भएको थियो ।
कारण
ग्रिनहाउस ग्यासहरूको उत्सर्जनको बढ्दो मात्राका कारण धर्तीमा हावापानीको तापक्रम बढिरहेको छ । यसका कारण सामुद्रिक जलस्तर दुई किसिमले बढिरहेको छ । पहिलो, यसमा तातो समुद्रिक जल द्रुत गतिमा फैलिइरहेको छ । विगत २५ वर्षमा सामुद्रिक जलस्तर ७ सेमी बढेको छ । यसमा यो कारणको आधा हिस्सा लाग्छ । दोश्रो जमिनमा रहेको हिउँ द्रुत गतिमा पग्लिँदा सामुद्रिक जलस्तर बढिरहेको छ । शोधकर्ताहरूका अनुसार सामुद्रिक जलस्तर द्रुत गतिमा बढ्नुमा सबैभन्दा ठूलो कारण ग्रिनल्यान्ड र अन्टार्टिकाको हिउँ तीव्र रूपमा पग्लिनु हो । यदि यो प्रक्रिया यसरी नै जारी रह्यो भने सन् २१०० सम्म दोब्बर अर्थात् ६५ सेमीसम्म बढ्नेछ ।
परिणाम
यदि सन् २१०० सम्म सामुद्रिक जलस्तर ६५ सेन्टिमिटरसम्म वृद्धि भयो भने सांघाई, मियामी, वासिंगटन, मुम्बईजस्ता प्रमुख सहरहरूमा बाढीको समस्या आउनेछ । साथै, तटीय क्षेत्रमा रहेका बंगलादेश, श्रीलंकाजस्ता देश पनि बाढीको चपेटामा पर्नेछन् र यसका अधिकांश भाग पानीमा डुब्नेछन् ।

 

प्रतिक्रिया