क्याम्बोडिया । यहाँको सरकारले अश्लील सामग्री उत्पादन गरेको अभियोग लागेका १० मध्ये सात विदेशी पर्यटकलाई देशनिकाला गरेको छ ।एउटा पार्टीमा यौनजन्य गतिविधि गरेका तस्बिरहरू सार्वजनिक भएपछि अभियुक्तहरूको उक्त समूहलाई गत महिना देशको उत्तरपश्चिमी प्रान्त सिएम रिआपबाट पक्राउ गरिएको थियो । देशनिकाला भएका ती सात पर्यटकहरू युके, न्युजिल्यान्ड र क्यानडाका नागरिक हुन् ।
उनीहरूलाई गत हप्ता जमानत दिइएको थियो । युके, नर्बे र नेदरल्यान्ड्सका अरू तीन जनाले भने उक्त पार्टी आयोजना गरेको आरोपमा मुद्दा खेप्नुपर्नेछ । आफूहरू नग्न नबनेको र कुनै अश्लील सामग्री उत्पादन नगरेको दाबी गर्दै १० जनाले लगाइएका अभियोग अस्वीकार गरेका छन् । विवरणहरूका अनुसार जमानतको आदेशमा सात जनालाई क्याम्बोडिया छोड्न र फेरि नफर्कन भनिएको थियो ।
उनीहरूविरुद्ध लगाइएका अभियोग भने फिर्ता गरिएको छैन । एउटा वेबसाइटमा प्रकाशित तस्बिरहरूमा केही जोडीहरू यौन मुद्रामा जस्तो गरी भुइँमा पल्टिएका देखिन्छन् । सिएम रिआप नगर कम्बोडियाको मुख्य पर्यटकीयस्थल मानिने एकोर वाटको प्रवेशद्वार मानिन्छ । पर्यटकमाझ प्रसिद्ध उक्त नगरको रात्रिकालीन गतिविधिमा केही वर्षयता ठूलो वृद्धि भएको छ । कहिलेकाहीँ त्यस्ता गतिविधिले पर्यटकलाई क्याम्बोडियाको रूढीवादी समाजमा अप्ठ्यारो परिस्थितिमा पारिदिने गरेका पनि छन् ।
प्रतिक्रिया