ट्रम्प प्रशासनको एक वर्ष : आफू बदलिने होइन प्रशासन बदल्ने प्रयास

एजेन्सी
वसिंगटन । पहिलो वर्षको कार्यकालमा डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियतअनुसार आफूलाई बदल्नुभन्दा बढी आफूअनुसार अमेरिकी राष्ट्रपति पदलाई परिवर्तन गरिदिएका छन् ।

सामाजिक सञ्जाल ट्विटर अमेरिकी जनतासँग संवाद गर्ने उनको सबैभन्दा प्रिय माध्यम बनेको छ । उनले अपमानजनक र रूखो भाषाको प्रयोग र केटाकेटीको जस्तो उपनाम दिने आफ्ना कामलाई निरन्तरता दिएका छन् ।

आफू अब्राहम लिंकनजस्तै राष्ट्रपति बन्ने भनेर धाक लगाए पनि उनले ह्वाइट हाउसका वर्षौंदेखिका व्यवहारका मान्यताहरूलाई भंग गरिदिएका छन् । तर, उनी त्यसै गरेर ‘अमेरिकालाई पुनः महान् बनाउन’ आफ्ना अधिकांश समर्थकहरूले आफूलाई राष्ट्रपति पदमा जिताएर वासिंगटन पठाएको विश्वास गर्छन् ।

अर्बपति राष्ट्रपतिको रूपमा ट्रम्पले सत्ता सम्हाल्न सुरू गर्दा अमेरिकी अर्थतन्त्र पुनरूत्थान हुँदै थियो । तर, पछिल्लो एक वर्षमा सट्टाबजार कीर्तिमानी उचाइमा पुगेको छ र बेरोजगारी दर १७ वर्षयताकै न्यून भएको छ ।

उनको प्रमुख व्यवस्थापकीय उपलब्धि भनेको रेगनकालयताकै सबैभन्दा ठूलो कर प्रणालीमा ल्याएको परिमार्जन हो । तर, चुनावी अभियानका क्रममा आफूले गरेको आफ्ना पूर्ववर्तीले ल्याएको स्वास्थ्य बिमासम्बन्धी ओबामा केयर कार्यक्रम रद्द गर्न उनी विफल भएका छन् । संसद्को दुवै सदनमा रिपब्लिकनहरूको बहुमत रहे पनि त्यससम्बन्धी कानुन खारेज गर्ने उनको प्रयास विफल हुँदै आएको छ ।

अमेरिकी अदालतहरूले पनि उनका कतिपय कामकारबाहीलाई नियन्त्रण गरेका छन् । विशेषगरी मुसलमान बहुल देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने उनको निर्णयले त्यस्तो अवरोध सामना गरेको छ । र, आफ्नो सन् २०१६ को चुनावी अभियानसँग रुसी साठगाँठ रहेको भन्ने आरोपबारे छानबिन गरिरहेको रोबर्ट मलर नेतृत्वको विशेष जाँच संयन्त्रको जारी अनुसन्धानले ट्रम्पलाई बेला बेलामा झोक चलाउने र आक्रोशित बनाउने गरेको छ ।

विदेश मामिलामा ‘अमेरिका पहिले’ भन्ने ट्रम्पको नारा अधिकांश अवस्थामा ‘अमेरिका एक्लो’ जस्तो सावित भएको छ । जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौताबाट अलग हुने निर्णय अमेरिकाले लिएपछि अन्य देशहरूले त्यसलाई अघि बढाउने धृष्टता प्रकट गरेका छन् । राष्ट्रपति ट्रम्पले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेजस्ती आफ्ना निकट साझेदारलाई सार्वजनिक रूपमै अपमान गरेका छन् ।

ट्रम्पले आफूले बाँकी विश्व संयुक्त राज्य अमेरिकाबाट अझ डराउने र उनीहरूले आफ्नो मुलुकलाई थप सम्मान गर्ने बनाएको दाबी गर्न सक्छन् । उनले मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउन आफू प्रतिबद्ध रहेको दोहा¥याउने गरेका छन् । तर आलोचकहरू ठान्छन्, ट्रम्पको नेतृत्वमा अमेरिका उज्यालोभन्दा अँध्यारो देखिन थालेको छ । उनीहरूका भनाइमा अहिलेसम्म राष्ट्रपतिको यस्तो शासनकाल विगतमा कहिल्यै देखिएको थिएन ।

प्रतिक्रिया