यसकारण १ जनवरी सबै अफगानीको ‘बर्थ डे’

एजेन्सी

काबुल । जनवरी १ समाद अलवीको जन्मदिन हो, यसैदिन उनकी पत्नी, दुई सन्तान, ३२ साथी र हजारौँ अन्य अफगानी नागरिक आफ्नो पनि जन्मदिन मनाउँछन् । किनभने यो सुविधाजनक मिति हो, यसलाई सबैले सम्झन सक्ने हुन्छ, जो आफ्नो वास्तविक जन्ममिति थाहा पाउँदैनन् ।

जन्म प्रमाणपत्र वा अन्य आधिकारिक अभिलेख नहुँदा धेरै अफगानी आफ्नो उमेरको गणना मौसम वा ऐतिहासिक घटनासँग जोडेर गर्दछन् । तर, फेसबुकजस्तो सामाजिक सञ्जालको विस्तारले मानिसलाई आफ्नो एउटा जन्ममिति छान्न बाध्य बनायो । त्यसबाहेक पासपोर्ट र भिसाको बढ्दो मागले पनि मानिसलाई आफ्नो एउटा जन्ममिति राख्न बाध्य बनाएको छ । यस्तोमा धेरैले आफ्नो जन्ममिति जनवरी १ लेख्ने गरेका छन् ।

४३ वर्षीया अलवी भन्छिन्, ‘यस्तो लाग्छ कि अफगानिस्तानमा सबैको जन्मदिन जनवरी १ नै हो । ‘यहाँसम्मकी जसलाई आफ्नो जन्ममितिबारे सबै ज्ञान भए पनि सोलर हिजरीबाट आफ्नो जन्म गणना गर्नदेखि बच्न अधिकांशले आफ्नो जन्ममिति जनवरी १ नै लेख्ने गरेका छन् । यो इस्लामिक क्यालेन्डरको प्रयोग इरान र अफगानिस्तानमा गरिन्छ । हिजरीमा वर्षको पहिलो दिन सामान्यतः २१ मार्च हुने गर्छ ।

अलवीले भनिन्, ‘जब मैले सन् २०१४ मा आफ्नो पहिलो फेसबुक एकाउन्ट बनाएँ, त्यतिवेला मलाई आफ्नो जन्ममिति जनवरी १ लेख्न सजिलो लाग्यो । इन्टरनेट पनि स्लो थियो र हिजरी क्यालेन्डरबाट ईश्वी सन्मा मिति रूपान्तरण गर्न गाह्रो पनि छ । यहाँसम्म कि, आधिकारिक परिचयपत्र वा अन्य कुनै अभिलेख नहुँदा अधिकांशलाई जन्ममिति खुट्याउन गाह्रो छ । मानिसको उमेर उसको शारीरिक अवस्थालाई हेरेर अनुमान गरिन्छ ।’

३४ वर्षीय अब्दुल हदी भन्छन्, ‘मेरो तजकिरा (जन्मपत्रिका)ले भन्छ, म हिजरी क्यालेन्डर १३६५ मा ३ वर्षको थिएँ । पश्चिमा क्यालेन्डरअनुसार १९८६ । अफगान तजकीरामा जन्ममितिका लागि कुनै खाली ठाउँ छैन । तपार्इं आफ्नो जन्ममिति कसरी थाहा पाउनुहुन्छ जबकि यो सरकारी अभिलेखमा पनि छैन ?’
सम्बन्धित निकाय अब यसलाई बदल्ने प्रयासमा छ । पछिल्ला केही वर्षदेखि ठूला अस्पतालले आफूकहाँ जन्मेका बच्चाको बर्थ सर्टिफिकेट जारी गर्न थालेका छन् । सरकार पनि आफ्ना नागरिकका लागि ई–जतकीरा या पम्पुराइज्ड राष्ट्रिय परिचयपत्र दिने विचार गर्दै छ, जसमा जन्ममिति पनि हुनेछ, तर यो राजनीतिक र प्राविधिक कारणले वर्षौंदेखि रोकिएको छ ।
आधिकारिक अभिलेख नहुँदा शिक्षित अभिभावक आफ्ना बच्चाको जन्मदिन एउटा कागजमा लेखेर कुरानको पानामा सुरक्षित राख्छन् । अलवी भन्छिन्, ‘म आशा गर्छु कि, एक दिन सबै अफगानीहरूका साथमा आफ्नो सही जन्ममिति हुनेछ ।’

प्रतिक्रिया