सन् २०१७ मा चर्चामा आएका विश्वका महिला

काठमाडौं । सन् २०१७ को समीक्षा गर्दा अघिल्ल वर्षहरूमा जस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए । ती मध्ये अधिकांशको चर्चाको कारण सत्ता र शक्ति नै हो । यसरी हेर्दा सबैभन्दा बढी चर्चित बनिन् जर्मन चान्सलर एन्जेला मार्केल र बेलायतका प्रधानमन्त्री टिरिजा मे । त्यस्तै दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाई चर्चाको शिखरमा रहेकी अर्की महिला हुन् ।

माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी धर्मपत्नी मिलान्दा गेट्स, भारतीय राष्ट्रिय कांग्रेसका पूर्व–अध्यक्ष सोनिया गान्धी, म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकी, पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुलसुम र वर्षको उत्तरार्धमा विश्वकै चर्चामा आए जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेकी धर्मपत्नी अर्थात् तत्कालीन प्रथम महिला ग्रेस मुगावे ।

सँधै सकारात्मक रूपमा चर्चाको शिखरमा पुग्न सफल म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकीको चर्चाको विषय यसपाली ठीक उल्टो बनेको छ । सधैँ देश र प्रजातन्त्रको लागि चर्चामा रहने उनको यो वर्ष नराम्रो चर्चा भयो । नराम्रो चर्चा पनि यतिसम्म कि उनले प्राप्त गरेको विश्वको चर्चित नोबेल शान्ति पुरस्कार नै फिर्ता गराउनुपर्ने चर्चा विश्वमा चल्यो । म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्ग्या मुस्लिम समुदायलाई जातीय सफायाकै शैलीमा गरिएको दमनले उनलाई यो हालतमा पु¥यायो । त्यस्तो प्रजातन्त्रवादी नेत्रीले मुलुकको शासनको बागडोर सम्हालीरहेका बेला यतिखेर सोही देशका ६ लाखभन्दा बढी नागरिक लखेटिएर विदेशमा शरणार्थीको रूपमा बस्न बाध्य छन् ।

सन् २०१७ को विश्व राजनीतिको ध्यान यस घटनाले निकै नै तान्यो । विश्वका अखबारका पानाहरू ती शरणार्थीका कथाव्यथाले भरिन पुगे । उनीहरूका दुःख कष्टको कथा पश्चिमा टेलिभिजनहरूमा निकै पोखिए । यसरी करिब दुई दशक सैनिक हिरासतमा बिताउदा पनि प्रजातन्त्रको माग नछोडेकी नेत्री सुकीको यस्तो व्यवहारलाई विश्वले निकै नमिठो महसुश ग¥यो । यसले विश्वमा नराम्रो चर्चा बटुल्न पुग्यो ।

जर्मन चान्सलर एन्जेला मार्केल सन् २०१७ मा पनि चर्चाको शिखरको पहिलो नम्बरमा पर्न सफल भइन् । गएको सेप्टेम्बर महिनामा भएको निर्वाचनबाट उनी चौथो पटक पनि जर्मन चान्सलरमा निर्वाचित भइन । विगत १० वर्षभन्दा बढी समयदेखि युरोपको एक सपन्न राष्ट्रलाई समेत प्रभावकारी महिलाका रूपमा नेतृत्व दिन सफल महिला नेत्री एन्जेला मार्केलले यस वर्ष पनि चर्चा पाइन । उनलाई यसवर्षको सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’ का रूपमा पनि पर्नसक्ने देखाइएको छ । खासगरी ओरालो लागेको युरोपियन अर्थतन्त्रलाई आश्चर्यजनक रूपबाट माथि उकास्न सफल एन्जेला युरोपेली नागरिकबीच लोकप्रिय छन् । विश्व शक्तिशाली देशलगायत इराक र सिरियामा भीषण आतंक मच्चाउँदै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी विरुद्ध उनले चालेको कदम पनि प्रशंसनीय छन् ।

यस पटक दोस्रो स्थानमा पर्न सफल भएकी बेलायतकी प्रधानमन्त्री टिरिजा मे तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजिनामा दिएपछि कन्जरभेटिभ पार्टीबाट नयाँ प्रधानमन्त्री नियुक्त भइन । बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरीने भन्ने विषयमा जनमत संग्रहमा बाहिरीने पक्षमा मतदान भएपछि उनी बेलायतको प्रधानमन्त्री बनेकी हुन । यसरी देशको आधा जस्तो जनसङ्ख्या यसको विपक्षमा रहदाँ पनि देशको कार्यभार सम्हाल्नु अत्यन्त जटिल समयको रूपमा रहेको थियो । यस्तो ऐतिहासिक समयमा पनि शासन सञ्चालन गर्नुले उनी दोस्रो स्थानमा पर्न सफल भइन् ।

माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी धर्मपत्नी मिलान्दा गेट्स यस पटक पनि विश्वका चर्चित महिलको रुचिमा तेस्रो स्थानमा पर्न सफल भइन् । सन् २००० बाट विल एण्ड मिलान्दा गेट्स फाउन्डेशन नामक एक संस्था सुरु भएको थियो । सो संस्थाको उपाध्यक्ष मिलान्दाले ४० विलियन डलर बराबरको खर्च गरिसकेकी छन । महिला विकास तथा युवतीको उत्थानको लागि उनको विशेष योगदान छ । उनले एक सय भन्दा बढी देशका संघ संस्थालाई सहयोग गर्दै आएकी छन् ।

यस वर्ष भारतीय कांग्रेसको पूर्व अध्यक्ष सोनिया गान्धी पनि चर्चामा आइन । यस अघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले आफ्नै ४७ वर्षीय छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेपछि चर्चामा आइन । राहुललाई पार्टीको जिम्मेवारी हतान्तरणपछि कांग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा सरेको छ ।

सत्तारुढ दल भारतीय जनता पार्टीले भने राहुललाई इच्छाशक्ति नभएको र प्रभावहीन व्यक्तिका रूपमा कांग्रेसको अध्यक्ष बनाइएको र कांग्रेसको अध्यक्ष पद गान्धी परिवारमा मात्र सिमीत रहेको जस्तो अपेक्षा गरिएको थियो । आफ्नै छोरालाई अध्यक्ष पद दिइएको भनी सोनियाको केही आलोचना र चर्चा भएको थियो । निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको कांग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आकोमा अहिले अध्यक्ष बनाइएको हो ।

बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जवाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ । सोनिया पूर्व प्रधानमन्त्री राजिव गान्धीकी धर्मपत्नी हुन् । इटाली सोनिया प्रधानमन्त्रीको दावेदार भए पनि भारतमा विरोध भएकाले सत्तारोहण गर्न मानेकी थिइनन् ।

यस पटक पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी धर्मपत्नीले लाहोरमा भएको संसदको उपनिर्वाचनमा विजय हासिल गरेपछि चर्चामा आइन् । पाकिस्तानको सर्वाेच्च अदालतबाट गत जुलाईमा सांसद पद सम्हाल्नसमेत अयोग्य ठहर गरी हटाइएका यहाँका वरिष्ठ राजनीतिज्ञ नवाज शरिफ प्रधानमन्त्री पदबाट हटाइए पनि उनकै श्रीमतीले उनकै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेपछि चर्चाको विषय बन्न पुगेको थियो ।

आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार मत बढी ल्याएकोले पनि उनको चर्चा बढेको केहीको विश्लेषण छ । एक बहुचर्चित भ्रष्टाचारसम्बन्धी मुद्दा पानामा पेपर्स्मा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सांसद पदसमेतमा रहन अयोग्य ठहर गरेर उनलाई सत्ताबाट हटाइएको थियो । पूर्व प्रधानमन्त्री शरिफको राजीनामा पछि नै उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो । क्यान्सर रोगबाट पीडित कुलसुम हाल लन्डनमा उपचाररत छिन् ।

सन् २०१६ मा महाअभियोग लगाई हटाइएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइको यसबर्ष पनि उत्तिकै चर्चा रह्यो । उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लगाइएको थियो तर त्यो प्रमाणित हुन भने बाँकी छ । पार्कलाई एक अदालतले दोषी ठहर गरेपछि यसैवर्ष पक्राउ गरिएको थियो । तर, उनी सर्वाेच्च अदालत गएकी छन् । अहिल उनी धरौटीमा छन् ।

यता यसै वर्षको उत्तरार्धतिर जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको उनकै श्रीमतीको नमिठो अन्त्य हुनपुग्यो । सेनाले ‘कु’ गरेसँगै दबाबमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसद्मा महाभियोग प्रस्ताव टेबल हुनुअघि पदबाट राजीनामा दिए । ९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्वमा थिए । कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा उनकी पत्नी र उपराष्ट्रपतिबीच विवाद देखिएपछि सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो । उनले आफ्नी पत्नी अथवा त्यहाँकी प्रथम महिला ग्रेस मुगावेलाई सत्ता सुम्पिने लालचाले उपराष्ट्रपतिलाई पदबाट बर्खास्त गरे । तर, उनको यो योजनाले जन्म लिनुअगावै उनले नै सत्ता त्याग्नुपर्ने अवस्था आयो ।

स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले वार्ता गरी राजीनामा दिन आग्रह गरे पनि मुगावेले अस्वीकार गरेपछि सेनाले ‘कू’ गरेको तथ्य पछि खुल्यो । सेनाको नजरबन्दबाटै मुगाबेले राजिनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्व उपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भएका हुन । यसरी ९३ वर्षीय एकजना स्वतन्त्रता सेनानी र लोकप्रिय नेताको राजनीतिक अन्त्य आफ्नै पत्नीलाई शासनमा ल्याउने लोभका कारण हुन पुग्यो ।

सन् २०१६ मा अति शक्तिशाली महिलाको सूचीमा रहेकी अमेरिकी पूर्व विदेशमन्त्री हिलारी रोधाम क्लिन्टन भने यस बर्ष चर्चामा रहिनन् । विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा गत वर्ष भएको निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रूपमा हेरिएको थियो । तर राष्ट्रपतिमा भने डोनाल्ड ट्रम्प निर्वाचित भए ।

संयुक्तराज्य अमेरिकाको ४२औँ राष्ट्रपति विलक्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्नसक्ने महिलाको रूपमा पनि परिचित छन । सन् २०१६ को नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपति पदको नजिक पुगेकी उनको अमेरिका र विश्वमा नै चर्चा भएको थियो ।

 

प्रतिक्रिया