गम्भीर तीन प्रकृतिका बिरामीलाई मासिक ५ हजार भत्ता

मिक्साङ वाइबा तामाङ   काठमाडौं । इस्पाइनल इन्जुरी, क्यान्सर तथा मिर्गौला फेल भएका बिरामीले मासिक रूपमा जीविकोपार्जन भत्ता पाउने भएका छन् । सरकारले गम्भीर तथा दीर्घरोगी बिरामीलाई जीविकोपार्जन खर्चस्वरूप मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । यस्ता बिरामीहरूको उपचारमा धेरै खर्च लाग्ने हुँदा दैनिक जीवनयापनमा कठिनाइ हुने भएकाले जीवन निर्वाहका लागि मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । यो सेवाबाट गरिब तथा विपन्न समुदाय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

मिर्गौला फेल भई डाइलासिस गराइरहेका, क्यान्सरको किमोथेरापी लिइरहेका तथा स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले यो सेवा प्राप्त गर्न सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले जानकारी दिए । सरकारले हाल क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ । मिर्गौला फेल भएका बिरामीका लागि निःशुल्क डाइलसिसका साथै प्रत्यारोपण गर्नुपरेमा अस्पताललाई चार लाख रुपैयाँ उपचार खर्च दिँदै आएको छ ।

यस्तै, मिर्गौला फेल भएका बिरामीलाई प्रत्यारोपणअगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ । क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीको हकमा भने उपचार खर्चस्वरूप १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले लगेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा छलफलपछि पारित गरिएको हो ।

मन्त्रालयले यी बिरामीलाई दिने भत्ता व्यवस्थापनका लागि सुर्तीजन्य तथा मदिराजन्य पदार्थमा कर वृद्धि गर्ने तयारी गरेको छ । चुरोट, सुर्ती तथा मदिराजन्य पदार्थमा लगाइएको करबाट उठेको रकम बिरामीलाई जीविकोपार्जन भत्ताका लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया