साहाराको घरबाट बालबालिकाको उद्धार

विकाश पराजुली  बुटवल । रूपन्देहीको बुटवलमा सञ्चालनमा रहेको साहाराको घर (बालगृह) मा रहेका बालबालिकाहरूको उद्धार गरिएकोे छ । बालबालिकामाथि शोषण र कुटपिट गर्ने गरेको घटना बाहिर आएपछि बालबालिकाहरूको उद्धार भएको हो । बुटवल १३ स्थित बेलवसमा सञ्चालनमा रहेको साहाराको घर बालगृहमा रहेका बालबालिकाहरू शनिबार राति आफूमाथि शोषण र कुटपिट गरेको भन्दै भागेपछि बालगृहमा बालबालिकामाथि शोषण भएको तथ्य बाहिर आएको थियो ।

घटना पछि केन्द्रीय बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय रूपन्देही, हिमाली नविन समाजले आश्रममा अनुगमन गरेपछि आश्रममा रहेका बालबालिकाहरूलाई उद्दार गरी काठमाडौं लगेको छ ।  केन्द्रीय बाल कल्याण समितिबाट बाल अधिकार स्रोत व्यक्ति रवि गौतम, बाल अधिकार सहायक देवी डोटेल, बाल अधिकारको क्षेत्रमा काम गर्ने हिमाली नविन समाज काठमाडौंका सुरेन्द्र तामाङ, पवन ढकाल, महिला तथा बालबालबालिका कार्यालय रुपन्देहीकी प्रमुख सारदा बस्याल, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय कार्यालयका चन्द्रकान्त चापागाई लगाएको टोली आश्रममा पुगेर अनुगमन गरेको थियो ।

अनुगमन पछि महिला तथा बालबालिकाको कार्यालय रूपन्देहीले उद्धार गरी केन्द्रीय बालकल्याण समितिलाई जिम्मा दिएपछि समितिले २५ जना बालबालिकालाई काठमाडौं लगेको छ । आश्रममा रहेका ३६ जना मध्ये पाँच जना बालबालिका सोजपुजका क्रममा रहेका र पाँच जना अभिभावकहरूको जिम्मा लगाएपछि केन्द्रीय टोलीले उनीहरूलाई काठमाडौं लगेको हो । केन्द्रीय बाल कल्याण समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले मापदण्ड पूरा नगरी आश्रम सञ्चालन गरेको र अभिभावक समेत रहेका बालबालिकाहरू आश्रममा रहेको भन्दै उद्दार गरिएको बताए ।

आश्रममा रहेमध्ये ५ जना बालबलिका ९ पुसमा राति भागेर सडकमा आएपछि घटना बाहिर आएको थियो । आश्रम सञ्चालक शंकर प्यासीसहित अन्य दुई जनालाई मानव बेचविखन तथा ओसार पोसारको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान बढाइएको बताइएको छ । राती भागेका बालबालिकाहरू १५ बर्षका रमेश रोकाय, ११ बर्षका निराजन बुडा, रबिन्द्र रोका, चक्र बुडा र १० बर्षका हस्त बुडालाई अहिले अविनास आश्रम कोटिहवामा राखिएको छ ।

प्रतिक्रिया