स्यामुएल फरफरी
ब्रसेल्स, १० पुस । विश्वमा ऊर्जा कसरी उपयोग हुन्छ भन्ने कुरा पृथ्वीको तापक्रम वृद्धिका विषयमा प्रमुख शीर्षक बनेको छ र प्रदुषण तथा स्रोतको कमीका त्रासले ऊर्जा प्रभावकारिता रणनीतिमा कृत्रिम प्रतिस्पर्धा गराएको छ ।
युरोपेली युनियनदेखि चीनसम्मका अर्थतन्त्रले प्राविधिक खोज तथा कानुनी संशोधनको सहयोगमा आफ्नो ऊर्जाको सघनतालाई कम गर्ने दृढता व्यक्त गरेका छन् ।
यी बचनबीच पनि अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले सन् २०४० सम्म उपभोक्ताको ऊर्जासम्बन्धी माग बढ्ने अनुमान गरेको छ । विश्वमा ऊर्जाको आवश्यकता बढिरहँदा नीति निर्माताले आपूर्तिको प्रत्याभूति कसरी गर्नसक्छन् र ?
स्पष्टरुपमा भन्दा, स्रोत रहँदासम्म विश्वले चिन्ता गर्नुपर्दैन । ऊर्जाको कमीका विषयमा ४० वर्षसम्म तर्सेपछि हामी पर्याप्तताको युगमा प्रवेश गरेका छौँ । हामी गलत कथाबाट जोगिनुपर्छ स्रोतको कमीबाट होइन ।
यस कथाका दोषी एउटा विश्वव्यापी विचार मञ्च, ‘क्लब अफ रोम’ रहेको छ र यस संस्थाले सन् १९७० को दशकमा एक विवादास्पद् नमूनाको आधारमा निरर्थक भविष्यवाणी गरी ऊर्जासम्बन्धी यो चिन्ता फैलाएको हो ।
थोमस माल्थस र पल एरलिचका अनुयायीहरुको यस क्लबले गुणात्मक वृद्धिबाट नराम्रा र रेखात्मक वृद्धिबाट राम्रा कुरा सिर्जना हुन्छन् भन्ने तर्क गरे ।
यस विचारका आधारमा सन् २००० सम्म विश्वमा इन्धन सकिन्छ भन्ने अनुमान गरियो ।
यस निरर्थक सिद्धान्तलाई अवलम्बन गरि विकसित मुलुकले लिबियामा मौमर अल-कद्दाफी तथा इरानमा आयातोल्लाह रुहोल्ला खोमिनी जस्ता स्रोतले धनी अधिकारवादी नेताहरुलाई पश्चिमी मुलुक तथा विशेष गरि इजरायलका उनीहरुको समर्थनको विरोधमा आफ्नो तेलको भण्डारलाई ओजारको रुपमा उपयोग गर्न सक्षम बनाए ।
यसले सन् १९७० को दशकमा ‘तेलको धक्का’ निम्त्यायो र हाइड्रोकार्बन भण्डार मध्यपूर्वमा मात्र भएकाले अझै सीमित छ भन्ने गल्तीपूर्ण अवधारणालाई बल पुर्यायो ।
विशेषगरी खोजीका प्रविधिमा छिटो विकास तथा नयाँ स्थानमा हाइड्रोकार्बनको उत्खनन्बाट अन्ततः यस्ता भनाई सकिए । आजको ऊर्जा ‘सङ्कट’ कमीका कारण नभइ अतिप्रदूषणका चिन्ताका कारण उत्पन्न भएको हो ।
यस चिन्ताले पनि हाम्रो खोजको बानीलाई कमजोर बनाएको छैन । अर्कोतिर खोजलाई सबल बनाउन राजनीति तथा सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घको महासन्धि जस्ता अन्तर्राष्ट्रिय कानुन पारित भएका छन् ।
उदाहरणका रुपमा मोजाम्बिकको तटमा रहेको रोभुमा ग्यास क्षेत्रलाई लिन सकिन्छ । आज इटाली तथा चीन सहितका मुलुकका अन्तर्राष्ट्रिय कम्पनीको एक समूहले उत्पादन गर्ने तयारी गरिरहेको छ र अफ्रिकाको गरिबमध्ये एक मुलुकले ठूलो पुरस्कार पाउने भएको छ ।
यसैगरी एक समय मध्यपूर्वमा हाइड्रोकार्बन नभएको स्थानमा अवस्थित मुलुक भन्ने ठानिए पनि हाल इजरायल ८०० अर्ब घनमीटर तटीय ग्यास माथि बसेको देखिएको छ ।
यस मात्राको ग्यासले इजरायलको १३० भन्दा बढी वर्षका ग्यास उपभोगको माग पूर्ति गर्नेछ । कुनै बखत ऊर्जा आयात गर्ने इजरायल आफ्नो ग्यासको लाभलाई कसरी निर्यात गर्ने भन्ने चुनौती भोग्दैछ ।
हालका वर्षमा विश्वव्यापी ऊर्जा बजारका लागि प्रविधिले ल्याएको सबैभन्दा ठूलो उथलपुथल भनेको अमेरिकामा जमिनमुनि थेग्रिएका पत्थरबीच रहेका ग्यास तथा तेलका उत्खनन नै हो ।
अमेरिकामा हाल प्रतिदिन ८८ लाख ब्यारेल तेल उत्पादन हुन्छ र यो इराक र इरानको संयुक्त उत्पादन भन्दा पनि बढी हो । अमेरिकी यस्ता ग्यास एसिया, ल्याटिन अमेरिका तथा युरोपका भागहरुमा पुर्याइएको छ ।
यी बजार कतार, रसिया तथा अस्ट्रेलियाबाट घेरिएका थिए भने हाल तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उद्योग तेल बजार झै बढी उत्पादनको अवस्थामा प्रवेश गरेको छ ।
यी सबैलाई हेर्दा यी विकासले ऊर्जाको मूल्य घट्न र ओपेक कमजोर हुन सघाएका छन् । एलएनजीलाई यातायात क्षेत्र विशेष गरि ढुवानी तथा सामुद्रिक जहाज सचालकले वातावरणीय कारणमा मन पराएकाले तेललाई भौगोलिक हतियारको रुपमा उपयोग गर्ने क्षमता हटेको छ ।
इरान आफ्नो तेल निर्यात विस्तार गर्न निकै चाहन्छ र उसले आफ्नो पारमाणविक कार्यक्रम पनि परित्याग गर्न स्वीकार गरेको छ । इरानको पारमाणविक सम्झौतमा ‘तेल’ भन्ने शब्द ६५ पटक प्रयोग भएको छ ।
हावा तथा सूर्यलाई तेल तथा ग्यासको विकल्पको रुपमा प्रस्तुत गरिन्छ तर उनीहरुले विद्युत उत्पादनको परम्परागत स्रोतसँग प्रतिस्पष्र्धा गर्न सक्दैनन् ।
यदि उनीहरुले सक्ने हो भने युरोपेली युनियनले कानुनको माध्यमबाट पुनरुत्पादनशील ऊर्जा उत्पादनलाई सहयोग गर्नुपर्ने कुनै कारण छैन ।
वायु तथा सौर्य प्रविधिले विद्युत उत्पादन गर्छन् र ऊर्जाको सबैभन्दा ठूलो माग तातो बनाउनुपर्ने अवस्थाबाट आउछ ।
उदाहरणको रुपमा युरोपेली युनियनमा विद्युतले ऊर्जाको अन्तिम मागको २२ प्रतिशत मात्र पूर्ति गर्छ, तातो बनाउने तथा चिसो बनाउने कुरामा ऊर्जाको माग ४५ प्रतिशत छ, यातायातले बाँकी ३३ माग ओगट्छ ।
जैविक ऊर्जाले हाल विश्वको ऊर्जाको कूल मागको ८० प्रतिशतभन्दा बढी भाग ओगट्छ र अनुमान गर्न सकिने भविष्यसम्म ऊर्जा उत्पादनमा यही नै मेरुदण्डको रुपमा रहन्छ भन्ने कुरा ब्याख्या गर्न यी कुराले सहयोग गर्छन् ।
हाइड्रोकार्बनलाई हटाउन दबाब दिनेहरुका लागि यो स्वागतयोग्य समाचार नहुनसक्छ ।
यसो भए पनि वायु तथा जलको गुणस्तरमा पर्ने नकारात्मक प्रभाव कम गर्न प्राविधिक खोजले प्रमुख भूमिका खेल्नेछ भन्ने कुराबाट भने सायद केही शान्ति प्राप्त गर्न सकिन्छ ।
वातावरण परिवर्तनको विश्वव्यापी छलफलबीच विकसित अर्थतन्त्रले ऊर्जा प्रभावकारितामा महत्वपूर्ण फाइदा दिने बचन दिने कुरा बुझ्न सकिन्छ ।
‘सीओटु’ को उत्सर्जन कम गर्न युरोपेली युनियन बचनबद्ध हुनसक्छ तर सन् २०१५ को पेरिस मौसम सम्झौताका अन्य हस्ताक्षरकर्ता मुलुकहरु त्यत्तिको दृढ देखिएका छैनन् ।
अन्य कुनै विकल्पमा भरपर्न नसकिने भएकाले प्रायः यी हस्ताक्षरकर्ता मुलुकले आउँदा वर्षमा उनीहरुको ऊर्जा उपभोगमा वृद्धि गरे र जैविक ऊर्जामा फर्किए भने आश्चर्य मान्नुपर्दैन ।
आउँदो धेरै वर्षसम्म विकसित अथतन्त्रका छलफलका विषयमा ऊर्जा नीति कायमै रहनेछ ।
वातावरणीय लक्ष्यसँग आपूर्तिको सूरक्षा सन्तुलन गर्न यी मुलुकले काम गरिरहँदा उनीहरु आफ्ना तथ्य स्पष्ट गर्नुपर्ने कुराप्रति पनि बचनबद्ध हुनुपर्छ ।
(स्यामुएर फरफरी उनिभेरसिते लिब्र दे ब्रक्सेलेसमा ऊर्जासम्बन्धी भूराजनीतिशास्त्रका प्राध्यापक हुनुहुन्छ र उहाँ ‘द चेन्जिङ वल्र्ड अफ इनर्जी एन्ड द जियोपोलिटिकल च्यालेन्जेज’ का लेखक हुनुहुन्छ । अनुवादः सुरेन्द्रबहादुर नेपाली)
प्रतिक्रिया