अधिनायकवादको सिकार बन्दै जनमत

चुनावी परिणामपछि प्रधानमन्त्री देउवामा देखिएको आचरणले अधिनायकवाद र सर्वसत्तावाद सबै बिर्साएको छ । कांग्रेसकै युवा नेताहरू भन्न थालेको छन्, हाम्रो सभापति त हिटलरभन्दा पनि खतरनाक व्यवहार देखाउन थालेछन्, लोकतन्त्रको कुनै व्यवहार छैन, अधिनायकवादी पो रहेछन् भन्ने बल्ल बुझियो

गणेश बस्नेत

‘मैले भनेको हुनैपर्छ, म जे गर्छु, ठीक गर्छु, अरूको कुरा सुन्दिन, मान्दिन, जनताको फैसला पनि मलाई मतलब छैन भन्नु लोकतान्त्रिक आचरण र व्यवहार हुँदै होइन, लोकतन्त्रमा यस्ता कुरा स्वीकार्य हुन्नन्, यो त अधिनायकवाद हो,’ सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका भनाइ हुन् यी ।

बृहत् नेपाली शब्दकोषले पनि यस्तै परिभाषा गरेको छ अधिनायकवादबारे । नेपाली शब्दकोषले ‘एकलौटी रूपले शासन गर्ने शैली वा प्रणालीलाई अधिनायकवाद भनेर परिभाषित गरेको छ । शब्दकोश र कांग्रेस नेता सिटौलाले गरेको परिभाषा पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा ठ्याक्कै मिल्न गएको छ ।

संविधान निर्माणको बहसमा कांग्रेस नेता सिटौलाले लोकतन्त्रको आवरणमा झांगिएको डरलाग्दो अधिनायकवादको सिकार हुने नेताको शैली इंगित गर्दै अधिनायकवादबारे लामो व्याख्या गरेका थिए । अहिले उनकै सभापति देउवाले त्यही व्यवहार गरिरहेका छन् । चुनावको परिणाम आइसकेपछि प्रधानमन्त्री देउवा ‘जे गर्छु ठीक गर्छु, जे भन्छु, त्यही हुनुपर्छ, कसैको कुरा सुन्दिन,’ भन्दै हिँड्न थालेका छन् । यतिसम्म कि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत धम्की दिन भ्याएका छन् ।

‘सरकारले पठाएपछि केको सहमति ? अध्यादेश खुरुखुरु प्रमाणीकरण हुनुप¥यो,’ भन्ने राष्ट्रपतिलाई प्रधानमन्त्री देउवाको धम्की लोकतन्त्रको परिभाषाअनुसार कहीँ–कतै मेल खाँदैन । लोकतन्त्रको कखरा बुझ्नेहरू पनि उनको यो भनाइलाई लोकतान्त्रिक मान्दैनन् । प्रधानमन्त्री देउवाको यो भनाइ कांग्रेस नेता सिटौलाले परिभाषित गरेको अधिनायकवादकै अनुसरण हो । देउवाकै कार्यशैली र लोकतन्त्रविपरीतका आचरणका कारण प्रजातान्त्रिक समाजवादको वकालत गर्दै लोकतन्त्रमा अगाध विश्वास गर्ने बिपी कोइराला नेतृत्वको कांग्रेस यतिवेलासम्म आइपुग्दा आफैँ लोकतन्त्रविरोधी दलको रूपमा चित्रित हुन थालेको छ ।

चुनावी परिणाम आएपछि प्रधानमन्त्री देउवाले एकलौटी निर्णय गरिरहेका छन् । मुख्य सचिवलाई थर्काएर जे भन्छु, त्यही गर्नू भन्ने प्रधानमन्त्री देउवाले के गर्न हुन्छ ? के गर्न हुन्न भन्ने मेसोसमेत पाउन छाडेका छन् यतिवेला । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश देखाएर जनमतको अपमान गर्दै सत्ता साझेदारी खोज्ने, आफ्ना कार्यकर्तालाई जाँदाजाँदै करोडौँ राज्यकोषबाट बाँढ्ने, जनताले जिताए पनि छिमेकी मुलुकले मान्दैन भन्दै देशकैविरुद्ध विषवमन गर्नेसम्मका काम प्रधानमन्त्री देउवाबाट भइरहेको छ । पार्टीभित्र हारको दोष लिन नपरोस् भनेर देउवाले यी सब काम गरे पनि देशका लागि निकै ठूलो दुर्भाग्य बन्न थालेको छ ।

उनको कार्यशैली यतिसम्म अलोकतान्त्रिक हुन थालेको छ कि, सरकारमै रहेका मन्त्रीले समेत अब सरकार छाडेर प्रतिपक्षमा बस्नुपर्छ कांग्रेस भन्न थालेका छन् । कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको फेरो समातेर कांग्रेसमा प्रभावशाली बनेका देउवा कार्यशैलीकै कारण किसुनजीका फलोअरबाटै विस्थापित हुनुपरेको छ । जसको आडमा राजनीतिमा स्थापित भइयो, उसैका विचारधारा बोक्नेहरूबाट तिरस्कृत हुँदासमेत देउवामा चेत पलाएको छैन ।

आमनेपाली नागरिक देउवामा चेत पलाओस् भनिरहेका छन् । तर, उनीमा सुधारको सामान्य संकेतसमेत पाउन सकेका छैनन् । कर्मचारी सरुवा–बढुवा, नियुक्ति र सत्ता हस्तान्तरणमा बखेडा झिकी एकलौटी रूपमा अघि बढिरहेका छन् । ‘प्रधानमन्त्री कसैको कुरा सुन्ने मुडमै हुनुहुन्न, मैले जे भन्छु, त्यही गर्ने, मेरो कुरा नमान्नेको खैरियत छैन भन्दै कर्मचारी, प्रहरी प्रशासनलाई तर्साइरहनुभएको छ,’ भन्छन् सरकारकै सचिवहरू ।

यसले देउवामा पलाएको अधिनायकवादको प्रस्ट संकेत गरिरहेको छ । पछिल्लो कदम हेर्दा लाग्छ, हाम्रा प्रधानमन्त्री देउवाले आफ्ना सबै लोकतान्त्रिक मूल्यमान्यता बिर्सिएर हिटलर र लोकमानसिंह कार्कीको पथ अँगालेका छन् । उनमा लोकतन्त्रको थोरै अंश पनि बाँकी छैन । चुनावमा दुईतिहाइको हाराहारी जितेको एमाले–माओवादी नेतृत्वको वाम गठबन्धनलाई पूर्णतः निषेध गर्दै प्रधानमन्त्री हिँडेका छन् । ‘तिनीहरू (एमाले–माओवादी) लाई किन सोध्ने ? को हुन् र तिनीहरू ?’ केही दिनअघि बालुवाटारमा भेट्न पुगेका कांग्रेसका केही युवाहरूलाई देउवाले भनेका थिए ।

कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सत्ता हस्तान्तरणमा बखेडा झिक्न नहुने, समृद्धिको बाधक बन्न नहुने बताएपछि देउवाले थर्काउँदै उल्लेखित भाषा प्रयोग गरेका थिए । ‘हाम्रो सभापति त हिटलरभन्दा पनि खतरनाक व्यवहार देखाउन थालेछन्, लोकतन्त्रको कुनै व्यवहार छैन, अधिनायकवादी पो रहेछन् भन्ने बल्ल बुझियो,’ देउवाको हप्काइमा परेका एक युवा नेताले भनेका छन् । त्यसो त प्रधानमन्त्रीको केही समययताको व्यवहार पूर्णतः लोकतन्त्र र जनताको अभिमतविपरीत छ ।

चुनावी परिणाम आइसक्न नपाउँदै पराजित भएको रिस फेर्न उनले सत्ता लम्ब्याउन नयाँ सरकार गठनसम्बन्धी विवाद झिके । समानुपातिकको परिणाम नबुझाउन प्रमुख निर्वाचन आयुक्तलाई थर्काए । हिजोका साँठगाँठका कारण निर्वाचन आयोग देउवासामु नतमस्तक बन्यो । मतगणना सकिसके पनि आयोगले देउवासँगको अनैतिक साँठगाँठकै कारण परिणाम रोक्ने योजना बनाएको छ ।

प्रदेशको परिणाम दिने तर प्रतिनिधिसभाको परिणाम रोक्दै आयोग जनताको विरुद्धमा लागेको छ । सबै काम सकाउने तर परिणाम रोकेर राख्ने आयोगको नियत देउवासँगको अनुचित साँठगाँठ नै हो । हिजो आयुक्तहरू मिलेर गरेको अनुचित कामको साक्षी प्रधानमन्त्री देउवा छन् । उनले त्यही अस्त्र फालेर प्रमुख आयुक्तलाई बार्गेनिङ गरिरहेका छन् । यसैले, परिणाम रोकेर राख्ने अत्यन्तै आपत्तिजनक काम आयोगले गरेको छ ।

समानुपातिकतर्फ पनि एमाले सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले एमालेकै हाराहारीमा मत पाएको छ । चुनावी परिणाम आइसकेपछि सहज सत्ता हस्तान्तरणभन्दा बाहेक लोकतान्त्रिक आचरण अरू होइन । उन्नत लोकतन्त्रको सबैभन्दा ठूलो आधार आवधिक निर्वाचन र त्यसबाट प्राप्त हुने जनमतअनुसारको सहज सत्ता हस्तान्तरण हो । तर, देउवा लोकतन्त्रको यही आधारभूत मान्यताविरुद्ध उभिए । प्रत्यक्षतर्फको सबै परिणाम घोषणा भएर समानुपातिक परिणामको अन्तिम पर्खाइका वेला मुख्य निर्वाचन आयुक्तदेखि राष्ट्रपतिसम्म धम्क्याउन भ्याए ।

चुनावी परिणामपछि देउवाले सत्तामा बसेर गरेको व्यवहार हेर्दा उनले हिटलरको शासन बिर्साइरहेका छन् । संविधानसभाका तत्कालीन अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री देउवाको लक्षण अधिनायकवादी नै रहेको ठोकुवा गर्छन् । उनकै शब्दमा भन्दा ‘प्रधानमन्त्रीले जे गरिरहनुभएको छ, जे बोलिरहनुभएको छ, त्यो अधिनायकवादकै लक्षण हो, यस्तो व्यवहार लोकतन्त्रमा कल्पना पनि गर्न सकिँदैन । संविधानसभाका तत्कालीन अध्यक्ष नेम्वाङको यो तर्कसँग लोकतन्त्रलाई स्वीकार गर्ने जो–कोही सहमत छन् ।

देउवाको परिभाषामा सत्ता हस्तान्तरणका लागि प्रधानमन्त्री चयन गर्न संसद्का दुवै सदन अस्तित्वमा आउनुपर्छ । राष्ट्रिय सभामा महिला प्रतिनिधित्वको संख्या यकिन नभएसम्म प्रतिनिधिसभा गठन हुन सक्दैन भन्ने तर्क अघि सारेका छन् । उनको यो तर्क लोकतन्त्र र जनमतको ठाडै अपमान भएको कानुनविद्हरूको बुझाइ छ । प्रधानमन्त्रीको नियुक्ति प्रतिनिधिसभाबाट हुने यथार्थविपरीत देउवाको अवरोध गरिरहेको बुझाइ कांग्रेसकै नेताहरूमा पनि छ । तर, पनि उनीहरू खुलेर देउवामा पलाएको अधिनायकवादको विरोध गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया