नयाँदिल्ली । भारतको नयादिल्लीस्थित रोहिणीमा अध्यात्मिक विश्वविद्यालयको नामले खुलेको बाबा वीरेन्द्र देव दीक्षितको आश्रमको अनुसन्धान जतिजति अघि बढ्दै छ त्यति नै आश्चर्यचकित कुरा बाहिर आइरहेको छ ।
अध्यात्मिक चिन्तनको नाममा रोहिणीको विजय विहार मात्र होइन दिल्लीकै पालम क्षेत्र पनि दीक्षितको कालो कर्तुतको अड्डा रहेको खुलेको छ । पालम आश्रमकी एक किशोरीलाई दिल्ली उच्च अदालतमा पेस गरेपछि बिहीबार दीक्षितको कर्तुत खुलेको हो ।
दिल्ली उच्च अदालतमा शुक्रबार भएको सुनुवाइमा न्यायाधीश पनि चकित भए । उनले चकित हुँदै भने, ‘हामी कुन युगमा बाँचिरहेका छौँ ?’ अदालतले आठ वटा आश्रमको छिटोभन्दा छिटो जानकारी माग्दै दीक्षितलाई अदालतमा पेस गर्न आदेश दिएको छ । आश्रमबारे जानकारी नदिए दीक्षितविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अदालतले जनाएको छ । अदालतले चेतावनी शैलीमा भनेको छौं ‘यदी आश्रममा जाँच गर्न दिइएन भने त्यो सह्य हुने छैन ।’ यसबारेको अर्को सुनुवाई ४ जनवरीमा हुनेछ ।
विजय विहारमा चलिरहेको ‘सेक्स जेल’ विरुद्ध आश्रमकी छिमेकी महिला सामुन्ने आएकी छन् । उनले आफूले पछिल्ला २०/२२ वर्षदेखि आश्रमविरुद्ध कैयौँपटक प्रहरीलाई जानकारी गराए पनि सुनुवाई नभएको दाबी गरेकी छन् । ‘मिडियासम्म कुरा पुर्याएको भन्दै मलाई धम्की पनि दिइयो तर म कलिला बच्चीहरूलाई बचाउन चाहन्थेँ’, उनले भनिन् ।
यता, पालममा एकअर्को ‘सेक्स जेल’ को खुलासा भएपछि दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले आध्यात्मिक विश्वविद्यालयका नाममा खुलेका यस्ता आश्रम पत्ता लगाउने र ती विरुद्ध हुने कारवाहीमा महिला आयोगलाई सहभागी गराउन माग गरेकी छन् । स्वातिले यो माग उच्च अदालतसमक्ष राखेकी हुन् ।
अदालतले दीक्षितको सबै आश्रमको जाँच गर्न निर्देशन दिइसकेको छ । दिल्लीमा बाबाको यस्ता अन्य आठ आश्रम सञ्चालनमा छन् ।
‘सेक्स जेल’ मा के हुन्छ ?
रोहिणी क्षेत्रमा वीरेन्द्रदेव दीक्षितको आश्रममा छापा मारेपछि त्यहाँ एउटा अलग्गै संसार चलिरहेको रहस्य खुल्यो । आश्रममा सयौँ कलिला युवतीलाई बन्धक बनाएर राखिएको थियो, कसैलाई बाहिर जाने अनुमति थिएन । अध्यात्मिक विश्वविद्यालयका नाममा खुलेको यो आश्रममा उमेर नपुगेका कलिला युवतीलाई वर्षौंदेखि बाहिर निस्कन नदिई राखिएको थियो । उनीहरूलाई सेक्स प्रयोजनका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यहीबाट कतिपय ‘भिआइपी’ हरूलाईसमेत युवती ‘सप्लाई’ गरिन्थ्यो । बाबा अहिले फरार छन् ।
‘म शिव हुँ, तिमी पार्वती बन’
आश्रमका बारे अनुसन्धान गर्न उजुरी दायर गर्ने गैरसरकारी संस्थाकी सस्थापक सीमा शर्माकाअनुसार बाबाले आफूलाई शिवजी भएको बताउँथे । कलिला युवतीको ‘दिमाग वास’ गरिएको थियो । बाबा युवतीहरूलाई भन्थे ‘मसँग शारीरिक सम्बन्ध राख्यौँ भने तिमीहरू पार्वती बन्नेछौँ र मोक्ष प्राप्त गर्नेछौँ ।’
१२ वर्षीया बच्चीलाई पनि छोडेनन्
आश्रमविरुद्ध मुद्दा लडिरहेका एक परिवारको १२ वर्षीया छोरी पनि आश्रममा थिइन् । ती बच्चीलाई बाबाले गलत मनसायले छुन्थे । बाबाले बच्चीलाई भन्थे ‘म कृष्ण भगवान हुँ । जसरी कृष्णका रानीहरू धेरै थिए, त्यसरी नै तिमी पनि मेरी रानी बन ।’
आश्रममा रहेका अधिकांश युवतीलाई मानसिक र शारीरिक उपचार आवश्यक देखिएको छ । स्वास्थ्य परीक्षणपछि चिकित्सकको टोलीले उपचारको आवश्यकता रहेको बताएका हुन् । युवतीहरू त्रसित छन्, केही त निन्द्रमा जस्तो बेहोसीमा छन् । यी मध्ये केहीलाई थप उपचारका लागि अंबेडकर अस्पताल पठाउन सकिन्छ ।
सीमा शर्माकाअनुसार आश्रमभित्र छिमेकीहरू पसेका छैनन् । तर, उनीहरूले रातको समयमा ठुल्ठूला कारमा भरिएर मान्छे आएको देखेका छन् । युवतीलाई उनीहरूले ती कारमा बसाएर लैजाँदै गरेको पनि देखिएको छ । स्थानीयका अनुसार आश्रममा धेरैजसो गाडी रातको ३/४ बजेतिर आउँथे । यी गाडीमध्ये धेरैजसो गाडी हरियाणा, मध्यप्रदेश र उडिसाका हुन्थे । यस्तै गाडीमा कहिले कहिले खाद्यान्न पनि ल्याइन्थ्यो ।
स्थानीयले दिएको जानकारीअनुसार बाबाको एउटा आश्रमदेखि अर्को आश्रमसम्म पुग्ने विशेष प्रकारको भूमिगत बाटो बनाइएको छ । मुख्य आश्रममा महिला बस्छन् र अर्को आश्रममा पुरुष । आश्रमबाट कोही पनि बाहिर जान नपाउन् भनेर भित्रै बिजुली मेकानिक, टेलर र लुगाधुने धोबीको व्यवस्था गरिएको छ ।
आश्रम नजिकैको गल्लीमा बस्ने गीता चौहानका अनुसार उनी आफ्नी १६ वर्षीया छोरीलाई धेरै बाहिर निस्कन दिन्नन्, उनलाई सधैँ डर लागिरहन्छ । आश्रम बाहिर पहिले पनि कैयौँपटक होहल्ला भएको छ ।
७ वर्षदेखि बाबा गायव
वीरेन्द्रदेव दीक्षितलाई सात वर्षदेखि कसैले देखेका छैनन् । उनी कहाँ छन् कसैलाई थाहा छैन । करिव सात वर्ष पहिले बाबालाई देखिएको थियोे, त्यसयता बाबा अलप छन् । यसबारेमा आश्रमका मानिस केही बताउन चाहँदैनन् । धेरै वर्षदेखि विजय विहारमा अध्यात्मिक विश्वविद्यालय सञ्चालनमा छ । तर, यस्तो एकपछि अर्को उजुरी आउन थालेको केही महिना मात्र भएको छ । यसबीच केही परिवारले आफ्ना छोरीलाई आश्रमले जवरजस्ती राखेको बताउँदै उजुरी गर्न आएका छन् । आश्रमका ती युवतीले उल्टो परिवारका मानिसलाई कैयौँ आरोप लगाउने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया