निर्वाचन बिथोल्न खोज्ने समूह जनताबाट बहिष्कृतः अध्यक्ष ओली

भद्रपुर, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिएका छन् ।

झापा जिल्ला निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ५ द्वारा सोमबार झापामा आयोजित प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण समारोहमा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा निर्वाचनमा सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद दिँदै लोकतान्त्रिक अभ्यासमा आम नागरिकले खेलेको सकारात्मक भूमिकाप्रति खुशी व्यक्त गरे ।

निर्वाचनलाई बिथोल्न खोज्ने समूहले छिटफूट घटना गराएपनि उनीहरु जनताबाट बहिष्कृत भएका छन् भन्दै अध्यक्ष ओलीले अहिलेको जनमत जनताले चाहेबमोजिमको परिवर्तनको अभिव्यक्ति हो भने ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ५ का निर्वाचन अधिकृत शकुन्तला कार्कीले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओली तथा प्रदेश सभाका सदस्यद्वय अर्जुन राई र हिक्मतकुमार कार्कीलाई प्रमाणपत्र वितरण गरे ।

प्रतिक्रिया