भारतीय काँग्रेस अध्यक्षमा गान्धी

नयाँ दिल्ली, १९ मङसिर । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।

सो पदमा उम्मेदवारी दिने उनीमात्र भएका छन् । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको हो ।

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् ।

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् ।

यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन् ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।

सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।

प्रतिक्रिया