शरणार्थी फिर्तागर्ने सम्बन्धमा छलफल

बङ्गलादेश, १७ मंसिर । बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ ।

यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो ।

यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता हुने भएको प्राप्त समाचारमा जनाइएको छ ।

म्यानमारमा पछिल्ला केही महिना अघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यानमारको रोहिङ्ग्या समुदायले देश छोडेर भागेको थियो ।

विशेषगरी रोहिङ्ग्याहरुको बसोबास रहेको म्यानमारको राखिन राज्यबाट करिब छ लाख २० हजार जनता भागेर बङ्गलादेश पुगेका थिए । यसरी भागेका शरणार्थीहरु हाल बङ्गलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन् ।

म्यानमारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ ।

विश्व समुदायले नै म्यानमार सरकारको यो कदमको निकै विरोध गरेको छ ।

विश्वभरबाट म्यानमारको रोहिङ्ग्या शरणार्थीलाई फिर्तागर्न माग गरिरहेको समयमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बङ्गलादेशका विदेश मन्त्री ए एच महमद अलिबीच म्यानमारको न्यापितमा दुई हप्ताअघि भएको बैठकले रोहिङ्ग्या शरणार्थीलाई फर्काउने सहमति गरेको थियो ।

उनीहरुलाई फिर्ता गर्ने प्रयासस्वरूप दुई महिनाभित्र पहल शुरु गर्ने सहमति भएको बैठक पछि जारी गरिएको संक्षिप्त विज्ञप्तिमा जनाइएको थियो । सोही बमोजिम सोमबार पनि उच्च अधिकारीबीच बैठक बस्न लागेको हो ।

सहमति अनुसार आगामी तीन हप्ताभित्र कार्यदल बनाई काम शुरु गरिने छ । छोटो प्रतिक्रिया दिँदै एकजना बङ्गाली अधिकारीले भने, “शरणार्थीलाई फर्काउन गरिएको यो शुरुवाती कदम हो ।

म्यानमारले रोहिङ्ग्यालाई फिर्ता लाने छन् । अव हामीले काम शुरु गर्नुपर्छ ।” कति रोहिङ्ग्यालाई स्वदेश फर्काइदैछ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने बिषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन् ।

तर अब बस्ने बैठकले यी विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया