यमनमा नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

संयुक्त राष्ट्रसंघ, १७ मङसिर । यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा यहाँका सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गरेका छन् ।

देशमा विगतका कैयौँ समयदेखि यस्तो झडप बढ्दै आएको र त्यसमा परी निर्दोष र सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोे अवस्था रहेकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका हुन् ।

अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही बर्षहरुदेखि हिंसा जारी रहेको छ । जसका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ ।

हालै मात्र पनि कम्तीमा गएको २४ घन्टायता यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् ।

ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो– स्माली ओल्ड चेख अहमदले शनिबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी जनाएका छन् ।

सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन् ।

युद्धका बेलामा पनि विभिन्न विद्रोही समूह हुन् वा सरकारी सेनाले समेत अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनहरुको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको विज्ञिप्तमा उल्लेख गरेका छन् ।

साथै उनले युद्धरत सबै पक्षलाई शान्तिपूर्ण वार्तामा आएर यसैका माध्यमबाट सबै समस्या समाधानको पहल गर्न पनि आग्रह गरेको समाचारमा जनाइएको छ ।

गएको मङ्गलबार र बुधबार भएका विभिन्न स्थानका भिडन्तहरुमा परी राजधानी सानामा दर्जनौँ नागरिकको ज्यान गएको बताइएको छ ।

सोही कारण राष्ट्रसंघीय विशेष दूत स्मालीले विज्ञप्तिमार्फत सो आग्रह गरेको जनाइएको छ ।

प्रतिक्रिया