राजविराज, ५ मंसिर । भ्यागुते रोगको संक्रमण फैलिएपछि सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा पशुचौपाया मर्न थालेका छन् ।
रोगका कारण यहाँ अहिलेसम्म करिब दुई दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भइसकेको छ । कात्तिकको अन्तिम साताबाट सो रोगको प्रकोप देखा परेको हो ।
देउरी भरुवाका १३ जना किसानको गाई, गोरु, भैँसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको स्थानीयवासी बौकाइ यादवले बताए ।
रोगका कारण पशुचौपायामा र्याल आउने, दम फुल्ने, घाँटी दुख्ने र पातलो दिशा हुनेलगायत लक्षण देखिने गरेको किसानले बताएका छन् ।
जिल्ला पशु सेवा कार्यालयका पशु विकास, योजना तथा बजार प्रवद्र्धन शाखाका प्रमुख परमेश्वर यादवले भ्यागुते रोगका कारण नै पशुचौपायाको मृत्यु भएको बताए ।
उनले भ्यागुते रोग विरुद्धको भ्याक्सिन दिएपछि रोग नियन्त्रणमा आउन थालेको बताए । जिल्ला पशुसेवा कार्यालयबाट दुई जनाको टोली रोग प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।
प्रतिक्रिया