कामदारका हकवालालाई १४ करोड सहायता

काठमाडौँ, १५ फागुन । वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा घाइते भएका कामदारका हकवालालाई सरकारले करिब १४ करोड रुपियाँ सहायतास्वरूप वितरण गरेको छ । रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका तथा दुर्घटनामा घाइते भएका कामदारका हकवालालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोषबाट १ साउन ०६४ देखि हालसम्म सो रकम वितरण गरिएको हो ।
वैदेशिक रोजगारीका लागि विदेश गएका कामदारको दुर्घटना वा अन्य कारणवाट मृत्यु वा घाइते भएमा सरकारले बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोषबाट तिनका हकवालालाई सहायता दिने गर्छ । आर्थिक वर्ष ०६४÷६५ देखि सरकारले बोर्डअन्तर्गत सो व्यवस्था गरेको हो । बोर्डका अनुसार ०६४ साउनयता एक हजार चार सय ३६ कामदारका हकवालालाई सहायता वितरण भएको छ । सो अवधिमा कल्याणकारी कोषबाट १३ करोड ९५ लाख ५९ हजार रुपियाँ आर्थिक सहायता वितरण गरेको बोर्डले जनाएको हो । १ साउन ०६४ देखि १५ फागुन ०६८ सम्ममा वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा घाइते भएका एक हजार तीन सय ९६ पुरुष र ४० महिला कामदारका हकवालालाई सो रकम वितरण गरिएको हो ।
यस्तै चालु आर्थिक वर्षको साढे सातमहिने अवधिमा वैदेशिक रोजगारीमा मृत्यु तथा अङ्गभङ्ग भएका तीन सय ७९ कामदारका हकवालालाई बोर्डले सहायता वितरण गरेको छ । यो अवधिमा मात्र तीन सय ६९ पुरुष र १० महिलाको रोजगारीका क्रममा मृत्यु तथा घाइते भएको बोर्डको तथ्याङ्क छ । उनीहरूका हकवालालाई सो अवधिमा बोर्डले चार करोड ४० लाख ९० हजार रुपियाँ प्रदान गरेको हो ।
बोर्डका अनुसार चालु आवमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमा सबैभन्दा बढी मलेसियामा रहेका कामदार छन् । चालु आवको १५ फागुनसम्ममा मलेसियामा मात्र एक सय ५१ जनाको मृत्यु भएको छ । रोजगारीका लागि गएका उनीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा एक सय ४६ पुरुष र पाँच महिला छन् । यस्तै,  साउदीमा ९८, कतारमा ७५ र युएइमा २९ कामदारको सो अवधिमा मृत्यु भएको बोर्डले जनाएको छ । यी मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार बढी जाने गरेका छन् ।
नेपाली कामदार रोजगारीका लागि बढी जाने यी मुलुकमा विभिन्न कारणले उनीहरूको मृत्यु हुने गरेको बोर्डले जनाएको छ । धेरैजसो सवारी दुर्घटना र कम्पनीका मेसिनरी सामग्रीमा परेर कामदारको मृत्यु हुने गरेको छ । तर, बढीजसो कामदार मृत्युको कारण खुल्न सकेको छैन ।
सरकारले हाल विदेशमा मृत्यु हुनेका हकवालालाई १० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म सहायता दिने गरेको बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले बताए । करार अवधि नसकिँदै मृत्यु भएका कामदारका परिवारलाई राहतस्वरूप एक लाख ५० हजार रुपियाँसम्म दिने गरेको उनको भनाइ छ ।
यस्तै, करार अवधि सकिएका, विभिन्न कारणले समय नाघेपछि राहतका लागि सम्पर्कमा आएका र आवश्यक कागजात पूरा नभएका कामदारका हकवालालाई भने अवस्था हेरेर १० हजारदेखि डेढ लाख रुपियाँसम्म दिने गरेको बोर्डले जनाएको छ । चालु आर्थिक वर्षदेखि सरकारले मृतकका हकवालाको लागि सो व्यवस्था गरेको हो । यसअघि मृतक तथा घाइतेका परिवारलाई १० हजारदेखि एक लाख रुपियाँसम्म मात्र राहत दिने व्यवस्था थियो ।
वैदेशिक रोजगारीका लागि विदेशिने हरेक कामदारले बोर्डअन्तर्गतको सो कोषमा एक हजार रुपियाँ जम्मा गर्नुपर्ने व्यवस्था छ । विदेशमा रहेका कामदारको विभिन्न कारणले मृत्यु भएमा वा दुर्घटनामा परी अङ्गभङ्ग भएमा सरकारले सोही कोषबाट कामदारका हकवालालाई राहतस्वरूप सहायता वितरण गर्छ । रोजगारीका लागि विदेश गएकामध्ये बर्सेनि एक हजारभन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया