निःशुल्क स्वास्थ्य शिविर

पाल्पा, ४ मंसिर । रामपुर नगरपालिका–२ भलायटारमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमार्फत २०५ बिरामीले सेवा लिएका छन् ।

स्थानीयवासीलाई गाउँबाटै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन भएको उक्त शिविरबाट रामपुर–२ भलायटार र त्यस आसपासका बिरामीले सेवा लिएका थिए ।

रामपुर नगरपालिकाको आयोजना, नेपाल जेसुइट संस्थाको सहआयोजना र रामपुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो शिविरमा रामपुर अस्पतालका डा. दिनेश झा, सवीना अधिकारी, चन्द्र विश्वकर्माले सेवा प्रदान गरेका थिए ।

बिरामीलाई नेपाल जेसुइटले निःशुल्क औषधि वितरण गरेको थियो ।

शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई स्वस्थ्य राख्न सकेमात्र राष्ट्रको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने बताए ।

उनले नागरिकको स्वास्थ्य सुविधामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत यमेन्द्र उपाध्यायले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्य शाखासँग सहकार्य गरी प्रभावकारी ढंगबाट अघि बढाउने बताए ।

कार्यक्रममा नेपाल जेसुइट पाल्पाका प्रमुख सिस्टर मेरीले शिविर सञ्चालनका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया