नयाँदिल्ली, १२ कात्तिक । इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लागेका छन् । औपचारिक भ्रमणको रुपमा उनी भारत आउन लागेको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ ।
झण्डै दशकभन्दा बढी समयपछि इटलीका प्रधानमन्त्रीको यो पहिलो भारत भ्रमण हुन लागेको अधिकारीले बताएका थिए । यसअघि गत सन् २००७ को फेब्रुअरीमा इटलीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थिए ।
अहिलेका प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी श्रीमती र अरु १५ जना प्रतिनिधिमण्डलका सदस्य रहने भएका छन् । प्रधानमन्त्री गेन्टीलोनीले सोमबार नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारका उच्च अधिकारीसँग भेटबार्ता गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको नियमन्त्रणमा इटलीका प्रधानमन्त्रीको भ्रमण हुन लागेको विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन् । उनीहरुले दुई देशको राजनीतिक र आर्थिक सम्वन्ध थप बलियो बनाउने भ्रमणको मुख्य उद्देश्य रहेको पनि जानकारी दिएका छन् ।
सन् २०१६ र २०१७ को कारोबार हेर्दा युरोपेली संघमा आवद्ध देशमध्ये इटली भारतको पाँचौं ठुलो व्यापारिक साझेदार मुलुक हो । त्यसैगरी भारतमा लगानी गर्ने देशमध्ये इटली तेह्रौं ठुलो लगानीकर्ता हो ।
भारतमा उनीहरुको लगानीमा झण्डै ६०० ओटा व्यापारिक तथा औद्योगीक प्रतिष्ठान रहेका छन् । विषेशगरेर फेसन, पोशाक, मोटरकार र आपतकालिन सेवालगायतका क्षेत्रमा इटलीको लगानी भएको देखिन्छ ।
प्रतिक्रिया