देशको विभिन्न राजनीतिक अवस्थामा हामीले बेग्लाबेग्लै राजनीतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेलसमेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ । अहिलेको तालमेलको प्रधान पक्ष राजनीतिक हो ।
अहिलेको देशको विशिष्ट प्रकारको राजनीतिक स्थितिमा नै त्यसप्रकारको चुनावी तालमेल हुन गएको छ ।तर, हामीले के बुझ्नुपर्दछ भने चुनाव वा चुनावी तालमेल हाम्रा प्रधान पक्षहरू होइनन् ।अहिलेको प्रधानपक्ष जनआन्दोलन नै हो । चुनाव त्यसको एउटा अंग मात्र हो । हामीले कुनै बेला चुनावको बहिष्कार गरीरहेका हुन्छौँ भने कुनै बेला त्यसको उपयोग गर्ने गर्दछौँ ।
तर, चुनावप्रति बहिष्कार वा उपयोगको जुन नीति अपनाए पनि हाम्रो मुख्य जोड जनआन्दोलनलाई अगाडि बढाउने नै हुन्छ ।जनआन्दोलनको उद्देश्य पुनः नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति, आधार वा जनमत तयार पार्नु हुन्छ । गत कालमा हामीले बेग्लाबेग्लै राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने गरेका छौँ । त्यसप्रकारको नीति खालि चुनावी सन्दर्भमा मात्र अपनाउने गरिएको छैन । तत्कालीन राजा महेन्द्रले कोदारी राजमार्गको निर्माण गर्दा भारतीय विस्तारवाद वा भारतपरस्त तत्वहरूबाट त्यसको व्यापक विरोध गरिएको थियो ।
तर, राजाले गर्न थालेको काम भए पनि हामीले कोदारी राजमार्ग र पूर्व–पश्चिम राजमार्गहरूको दृढतापूर्वक समर्थन गरेका थियौँ । त्यो हाम्रो एकप्रकारले तत्कालीन राजासित तालमेलको नीति नै थियो । पछि महाकाली सन्धिको विरोधमा हामीले राप्रपासित कार्यगत एकता गरेका थियौँ । ०४६ साल वा ०६२÷६३ को आन्दोलनको बेलामा हामीले नेपाली कांग्रेससित तालमेल गरेका थियौँ । संविधान निर्माणको क्रममा कांग्रेसले पनि भारतीय दबाबका विरुद्ध अडान लिएका कारणले त्यसको त्यो नीतिलाई हामीले समर्थन गरेका थियौँ । माओवादी वा एमालेसित पनि हाम्रो संघर्ष वा कार्यगत एकता र तालमेलको पनि लामो इतिहास वा पृष्ठभूमि रहेको छ ।
अहिलेको चुनावको सन्दर्भमा हामीले बागलुङ र प्युठानमा उनीहरूसित चुनावी तालमेल गरेका छौँ । तर, यो उनीहरूसितको हाम्रो अन्तरसंघर्ष वा अन्तरसम्बन्धको लामो सिलसिलाको एउटा तात्कालिक कडी मात्र हो । उदाहरणका लागि एमालेसितको हाम्रो अन्तरसंघर्ष वा अन्तर्विरोधको सिलसिलालाई नै हेरौँ । एमाले सरकारमा भएका बेलामा वा नभएका बेलामा पनि त्यससित हाम्रो त्यसप्रकारको अन्तरसंघर्ष वा अन्तरसम्बन्धको नीति रहने गरेको छ । एमालेले संविधान निर्माणको क्रममा खेलेको भूमिकालाई हामीले समर्थन गरेका थियौँ र प्रधानमन्त्रीको चुनावमा हामीले केपी शर्मा ओलीलाई समर्थन पनि गरेका थियौँ ।
तर, उनले प्रथम संविधान संशोधन विधेयकलाई संसद्द्वारा पारित गराउन गरेको प्रयत्नको हामीले विरोध गरेका थियौँ ।त्यो बेला कामरेड चित्रबहादुर केसी स्वयं सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । कामरेड केसीसहित हाम्रा अन्य दूई सांसदहरू कामरेड दुर्गा पौडेल र कामरेड मीना पुनले समेत संविधान संशोधन विधेयकका विरुद्ध मतदान गर्नुभएको थियो । त्यसरी उहाँहरूले नेपालको संसदीय इतिहासमा नै एउटा महत्वपूर्ण पाना जोडनुभएको थियो । स्वयं सरकारमा भएर सरकारी विधेयकको विरोध सामान्य कुरा थिएन । एमाले सरकारबाट हटीसकेपछि दोस्रो संविधान संशोधन विधेयकका विरुद्ध एमाले समेतसित मिलेर लगातार संघर्ष गर्ने नीति अपनाइएको थियो ।
विपक्षमा भएका राजनीतिक शक्तिहरूबीचको एकताका आधारमा नै सरकारले संसद्मा पेस गरेको दोस्रो संविधान संशोधन विधेयक अस्वीकृत पनि भएको थियो । त्यसरी देशलाई एउटा ठूलो राष्ट्रघाती खतराबाट बचाउन सम्भव भएको थियो ।माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारबाट हटेर नेपाली कांग्रेससहितको गठबन्धन सरकार निर्माण गर्न जुन मद्दत पु¥याएको थियो, हामीले त्यसको विरोध ग¥यौँ र त्यो कदमबारे पुनर्विचार गर्न माओवादी केन्द्रलाई बारम्बार सुझाव दिएका थियौँ । अन्तमा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धनको ठाउँमा प्रतिपक्षसँग गठबन्धन गर्ने निर्णय ग¥यो ।
यसरी सरकारमा भएको पार्टीद्वारा प्रतिपक्षसित गरिएको त्यो गठबन्धन सामान्य कुरा होइन । त्यसप्रकारको क्रमभंगता एउटा साहसिलो कदम थियो र त्यसका लागि हामीले प्रचण्डलाई बधाई दिएका छौँ ।अहिले बनेको गठबन्धनद्वारा जस्तो कि दावी गरिएको छ, एकीकृत कम्युनिस्ट पार्टीको निर्माणका लागि सैद्धान्तिक वा संगठनात्मक आधार छैन, तैपनि त्यसले नेपालको वामपन्थी आन्दोलन वा कम्युनिस्ट पार्टीको निर्माणमा केही सहयोग पु¥यायो भने त्यो सकारात्मक महत्वको कुरा हुनेछ र त्यसका लागि हाम्रो शुभकामना छ । त्यो कुरा जे भए पनि तात्कालिक राजनीतिक परिस्थितिमा त्यसले विशेष महत्व राख्दछ । त्यही सन्दर्भमा नै हामीले चुनावी तालमेललाई पनि हेर्नु र बुझ्नु पर्दछ ।
अहिले शेरबहादुर देउवाको नेतृत्वको सरकारद्वारा वा उनको नेतृत्वमा बन्न थालेको दक्षिणपन्थी शक्तिहरूको गठबन्धनद्वारा संविधान कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरप्रेक्षतामा समेत गम्भीर प्रकारको खतरा पैदा भएको छ र त्यो बढ्दै गइरहेको छ । उनीहरूको शक्तिको मुख्य स्रोत भारतीय विस्तारवाद नै हो । त्यसले उनीहरूलाई विस्तारवादी उद्देश्यहरूको पूर्तिका लागि उपयोग गरीरहेको छ र उनीहरूलाई बल दिइरहेको छ । यदि त्यो गठबन्धनले चुनावमा बहुमत वा दुई–तिहाई बहुमत प्राप्त ग¥यो भने देशमा कुन प्रकारको स्थितिको सिर्जना हुनेछ वा त्यसका कति गम्भीर परिणामहरू हुनेछन् ? कसैले पनि त्यो कुराको अन्दाज गर्न सक्दछ । त्यो अवस्थामा चुनावमा त्यो गठबन्धनलाई पराजित गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकतासमेत बनेको छ ।
अहिले देशमा दुई प्रकारका गठबन्धनहरू छन् ः एउटा, माओवादी केन्द्र र अर्को नेकाको नेतृत्वमा बनेको गठबन्धन । ती दुवैलाई समान स्तरमा राखेर हेर्नु वा एउटालाई अर्काको विकल्पको रूपमा हेर्नु निश्चित रूपले गलत हुने छ । कुन गठबन्धनसित मिल्दा चुनावमा हामीलाई कति फाइदा हुन्छ ? चिजलाई त्यसरी मात्र हेर्नु सही राजनैतिक सोचाइ होइन । कुन गठबन्धनको जित वा हारबाट देशलाई कति राजनीतिक लाभ वा क्षति पुग्दछ ? हामीले चिजलाई मुख्य रूपले त्यो दिशाबाट नै हेर्नुपर्दछ र त्यस अनुसार नै चुनावसम्बन्धी आफ्नो नीति निश्चित गर्नुपर्दछ । यो कुरा सत्य हो कि माओवादी केन्द्र वा एमालेसित गत कालमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू थिए, अहिले पनि छन् र भविष्यमा पनि रहनेछन् ।
तर, कुनै पक्षसित कार्यगत एकता वा तालमेलको नीति अपनाउँदा कुन पक्षसित हाम्रा कति मतभेदहरू छन् भन्ने आधारमा होइन, देशको आवश्यकता के हो ? त्यसका आधारमा नै हामीले कुनै पक्षसित कार्यगत एकता वा तालमेलका नीतिहरू निश्चित गर्ने गर्दछौँ ।गत कालमा त्यसप्रकारको दृष्टिकोणका आधारमा नै हामीले एमाले र माओवादी केन्द्र मात्र होइन, राजा, नेपाली कांग्र्रेस वा मधेसवादीहरूप्रतिका नीतिहरू पनि निश्चित गर्ने गरेका थियौँ । त्यस अर्थमा हाम्रो पार्टीको कार्यशैली देशका अन्य सबै राजनीतिक शक्तिहरूकोभन्दा बेग्लै, विशिष्ट र उच्च छ । हामीले कहिले पनि कुनै राजनीतिक शक्तिप्रति पूर्वाग्रह राखेर नीति निश्चित गर्दैनौँ । तर, देशको वस्तुस्थिति वा राजनीतिक आवश्यकताहरूमाथि ध्यान दिएर नै आफ्ना नीतिहरू निश्चित गर्ने गर्दछौँ ।
त्यही अर्थमा हाम्रो पार्टीको कार्यशैली अन्य सबै राजनीतिक शक्तिहरूकोभन्दा बेग्लै विशिष्ट र उच्च पनि छ । अहिले चुनावमा एमाले र माओवादी केन्द्रसित बागलुङ र प्युठानमा गरिएको चुनावी तालमेलबारे तीन वटा प्रश्नहरू व्यापक रूपले उठाएको पाइन्छ । प्रथम, नेपाली कांग्रेससितको तालमेललाई किन अस्वीकार गरियो ? द्वितीय, बागलुङको संसदीय सिटलाई किन छाडियो ? तृतीय, दुर्गा पौडेललाई किन प्युठानमा उम्मेदवार बनाइयो ? जहाँसम्म नेकासितको चुनावी तालमेललाई किन अस्वीकार गरियो भन्ने प्रश्नको सम्बन्ध छ, त्यो प्रश्नको जवाफमाथि नै गइसकेको छ ।
अहिलेको देशको विशिष्ट अवस्थामा, खास गरेर नेका नेतृत्वको गठबन्धनद्वारा संविधान, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर खतरा पैदा भएको अवस्थामा नेकासित चुनावी तालमेल गर्नु राष्ट्रघाती र गम्भीर प्रकारको अदूरदर्शितापूर्ण कार्य हुन्थ्यो । त्यसैले हामीले दृढतापूर्वक कांग्रेससितको चुनावी तालमेललाई अस्वीकार गर्नुपरेको हो । … (बाँकी अंश अर्काे अंकमा)
प्रतिक्रिया