द वाइन्स्टिन कम्पनीमाथि अनुसन्धान

anusandhanन्युयोर्क । अभियोजनकर्ताहरूले यौन दुव्र्यवहार भएको हुनसक्ने भन्दै हलिउड चलचित्र निर्माता हार्भी वाइन्स्टिनले स्थापना गरेको ‘द वाइन्स्टिन कम्पनी’ माथि अनुसन्धान सुरु गरेका छन् ।  चलचित्र जगतका बादशाह भनिने वाइन्स्टिनले एक दशकभन्दा पहिले उक्त स्टुडियो स्थापना गरेका थिए । कैयौँ महिलाले यौन आक्रमण र दुव्र्यवहारको आरोप लगाएपछि यसै महिनाको सुरुतिर सो कम्पनीको बोर्डबाट उनलाई हटाइएको थियो । वाइन्स्टिनले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

न्युयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानले कुनै पनि कार्यथलोमा यौन आक्रमण, दुव्र्यवहार वा त्रासका लागि स्थान नभएको बताएका छन् । यौन दुव्र्यवहारको आरोप लगाइएका कागजात र त्यस्ता आरोपलाई सम्बोधन गर्न चालिएका कदमसम्बन्धी कागजातहरू अनुसन्धानका क्रममा नियन्त्रणमा लिइने अधिकारीहरूले बताएका छन् । ‘द वाइन्स्टिन कम्पनी’मा बनाइएका कैयौँ चलचित्रले ओस्कर पुरस्कार जितेका छन् । त्यसमा ‘द किंगस् स्पीच’ र ‘द आर्टिस्ट’ पर्दछन् ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार यौन दुव्र्यवहारको शिकार भएका उक्त कम्पनीका कर्मचारीहरूको पहिचान गर्ने प्रयास गरिनेछ । महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, ‘यदि यौन दुव्र्यवहार वा लैंगिक विभेद व्याप्त रहेको छ भने हामी त्यसबारे थाहा पाउन चाहन्छौँ ।’ अभिनेत्री एन्जेलिना जोली, ग्विनीथ पेल्ट्रो र रोज म्याकगोवानसहित कैयौँले वाइन्स्टिनमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् । हालै ओस्कर आयोजना गर्ने संस्था द युएस एकेडेमी अफ मोशसन पिक्चर आर्ट्स एन्ड साइन्सेसले वाइन्स्टिनलाई ओस्कर बोर्डबाट निष्कासित गरेको थियो ।

प्रतिक्रिया