सायद ‘टिनएजर्सलाई सन्देशमूलक झापड’

सरोज ढुंगाना

काठमाडौं, १ जेठ । मनोविज्ञानसहित चलचित्र हेर्ने पुस्ता फेरियो । दर्जनौँ खलनायकसँग भिड्न पहाड नाघेर आउने नायक पर्दामा देख्दा हलभरि ताली गुन्जिन्थ्यो कुनै बेला । अहिले त्यस्तो दृश्यमा गुन्जिन्छ हाँसो । समयले फेरेको कोल्टोसँगै जब चलचित्र बनाउन ‘दिमाग’ लगाउन थालियो, बलिया ठहरिएका निर्देशकहरू हरेक साता फ्लप जान थाले । लुटको लुटाइ सामना गरेका दर्शकहरू चपली हाइटमा केही हदसम्म चिप्लिए । सायद यो साता नआएको भए दर्शकको चिप्लने क्रम जारी नै रहन्थ्यो होला ।
कलेजका टिचरदेखि घरका अभिभावकका उपदेश सुनेर फुर्सद नपाएका टिनएर्जसहरू जब कलेज बंक गर्दै हलमा पुग्छन्, त्यहाँ पनि फिल्मबाटै सन्देशको झापड खान पुग्छन् । अहिलेका टिनएजर्सको मनोदशा र त्यसले उत्पन्न गरेको यही स्थितिबोध गराउने दिशामा सायदको कथा उभिएको छ । सन्देशमूलक कथामा चलचित्रका संवादले मनोरञ्जन दिएका छन् । चार दशक काटेका कलाकारलाई प्लस टु विद्यार्थीको भूमिकामा पनि राख्न सकिने मानसिकताबाट माथि उठेको छ सायद । उमेरअनुसारको उस्तै भूमिका छ कलाकारमा । मुख्य भूमिकामा देखिएका संयम पुरीको योदिन पात्र जीवन्त छ, अभिनयजस्तै । ‘मेरी बास्सै’का तक्मे बुढा विल्सनविक्रम राईको अभिनयकलाको उचाइलाई सायदले पुष्टि गरेको छ । अतिथि कलाकारमा खेलाइएका बाबु बोगटी र करिस्मा मानन्धरको भूमिकाले कथामा तादात्म्य राख्दैन । सुपरहिट अनुहार देखाएर दर्शकलाई हल छिर्न लोभ्याउने पुरानो फर्मुलालाई यो चलचित्रले पनि पछ्याएछ । अनुहार देखेकै भरमा स्टार कलाकारको विशिष्ट भूमिकाको खोजी गर्दै हल छिर्ने दर्शक भने हिस्स पर्छन् । तर, चलचित्र सबै प्रकारका दर्शकलाई अन्तिमसम्म बाँधिराख्न भने सक्षम छ ।
ड्रग्समा फसेका युवाको दुर्दशालाई लिएर कथाले नयाँ ट्रेन पक्रन खोजे पनि फिल्मको ढाँचा परम्परागत शैलीबाट उम्कन सकेको छैन । लेखकबाट निर्देशक बनेका सुरज सुब्बा ‘नाल्बो’को निर्देशनकला लेखनजत्तिकै परिपक्व भने देखिँदैन । कतिपय दृश्य अनावश्यकजस्तै लाग्छ । चलचित्रको कथाको अन्त्य पनि परम्परागत शैलीमै हुन्छ ।
पहिलो हाफसम्म फितलो रूपमै प्रस्तुत कथानकले दोस्रो हाफपछि भने एकाएक नयाँ वेग हान्छ । आफ्नी केटी साथीको सेक्स भिडियो सार्वजनिक गरेको कथावस्तुबाट फिल्मले एकाएक गति लिन थाल्छ । त्यसपछि उत्पन्न प्रत्येक समस्यासँग जुध्न योदिन पात्रले गरेको एकपछिको अर्को अपराधमै फिल्म सकिन्छ ।
चलचित्रमा समावेश स्याडोज ब्यान्डको संगीतको फिल्मसँग म्याचिङ राम्रो छ । क्यामेरा वर्क सामान्य नै मान्न सकिन्छ । हालका टिनएजर्सले बोल्ने भाषा र स्ल्याङ शब्दले संवादलाई यथार्थपरक बनाएको छ । सायद राम्रो मान्नेले त्यसमा प्रयोग भएको संवादलाई विशेष महत्त्व दिनेछ, सायद । चलचित्रको उचाइ भनेकै सन्देशमूलक तथा पृथक् धारको कथा हो ।

प्रतिक्रिया