बङ्लादेशमा डुङगा दुर्घटना हुदाँ ८ रोहिङ्ग्या शरणार्थीको मृत्यु, ४० बेपत्ता

ढाका, ३१ असोज । म्यानमारसँगको दक्षिणपुर्वी सिमानामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्ग्या मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले सिन्ह्वासँग भने, “भेटिएका शवहरु मध्ये चार ओटा बालबालिका र चार ओटा महिलाका रहेका छन् ।” दुर्घटनामा परी अरु ४० जना हराइरहेको उनले बताए ।

उनले डुङ्गा कतिवेला दुर्घटना भएको हो भन्ने बारेमा स्पष्ट नभएको तर सोमबार विहानै भएको हुनसक्ने बताए ।  प्रहरी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।

घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर दक्षिणीपूर्वमा पर्दछ ।  दुर्घटना भएका समय डुङ्गामा ७० जना रोहिङ्ग्याले यात्रा गरिरहेका थिए । ती मध्ये २० जनाले आफै पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

गत हप्ता पनि नाफ नदीको मुखैमा भएको यस्तै दुर्घटनामा परी मृत्यु भएका मध्ये कम्तीमा २८ जना रोहिङ्ग्याको शव भेटिएको थियो । यो घटनास्थल पनि बङ्गलादेश र म्यानमारको सिमानामा पर्दछ ।

गत अगस्ट २९ देखि अहिले सम्म भएका यस्ता २५ ओटा डुङ्गा दुर्घटनामा परेका कम्तीमा १३२ जनाको शव निकालिएको छ । म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि गत अगस्ट २५ देखि झण्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिसहरु विस्थापित भएर बङ्गलादेश पुगेका छन् ।

प्रतिक्रिया