पेन्सनबापतको रकम शैक्षिक संस्थालाई सहयोग

kamal-purja (1)
म्याग्दी, २८ असोज । म्याग्दीका एक प्रवासी नेपालीले जिल्लाका शैक्षिक संस्थाहरुलाई रु तीन लाख आर्थिक सहयोग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ दाना घर भई हाल बेलायतमा बसोबास गर्ने कमलबहादुर पुर्जाले आफूले प्राप्त गर्ने पेन्सनबापतको रकमबाट म्याग्दी बहुमुखी क्याम्पसलाई एक लाख १५० नगद सहयोग गरेका हुन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका अध्यक्षसमेत रहेका पुर्जाले सो रकम क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ, क्याम्पस प्रमुख टीकाराम सापकोटालाई सो रकम हस्तान्तरण गरे ।

त्यस्तै पुर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेका दुई वटा सामुदायिक विद्यालयलाई रु एक लाख ५० हजार सहयोग गरेका छन् ।

काभ्रेको सरस्वती आधारभूत विद्यालयलाई रु एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि रु ५० हजार सहयोग गरेका पुर्जालाई शैक्षिक संस्थाले सम्मानसमेत गरेका छन् ।

शारीरिकरुपमा अपाङ्गता भएका पुर्जाले बेलायत सरकारले पेन्सनबापत दिने रकमबाट खर्च कटाएर हालसम्म म्याग्दीका नौ वटा शैक्षिक संस्थालाई करिब रु १० लाख सहयोग गरिसकेका छन् ।

दरवाङको जनप्रिय मावि, भुरुङतातोपानीको सर्वोदय मावि, बेनी सामुदायिक मावि, बिमको किसानी मावि, बेगको महादेव मावि, चिमखोलाको अमर माविलाई रु एक÷एक लाख नगद सहयोग गरेका पुर्जाले दानाको ज्ञानप्रकाश उच्च माविलाई रु दुई लाख २० हजार १८० सहयोग गरेका थिए ।

प्रतिक्रिया